मन, विचार मिलेपछि कसको के लाग्छ र !
परिस्थितिले कसलाई कतिबेला कहाँ पुर्याउँछ के थाहा ! एक डेढ महिना अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तोसराप गर्ने वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलाई अहिले परिस्थितिले ओलीको प्रतिरक्षा गर्नुपर्ने ठाउँमा उभ्याइदिएको छ । न्यौपाने अहिले ओलीको प्रतिरक्षामा जमेर लागेका छन् । राजावादी कानुन व्यवसायीको रुपमा समेत चिनिएका न्यौपानेले गत बुधबार संवैधानिक इजलासमा बहस गर्दै प्रधानमन्त्री ओलीको कदमको कम्मर कसेर बचाउ गरे । श्री ५ महाराजाधिराजसङ्ग जत्तिकै अधिकार रहेको पनि बताए ।
तिनै न्यौपानेले केही समयअघि सार्वजनिक रुपमै प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारी,अमेरिकी एजेण्ट,भारतीय दलाल भनेका थिए । उनले ओलीविरुद्ध विष वमन गरेको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा छरपस्ट छ । उक्त भिडियोमा उनले ओलीलगायतका नेताहरुकै कारण मुलुक असफल बन्दै गएको भन्दै गणतन्त्र फ्याँक्नुपर्ने बताएका छन् । ‘देश असफल भयो,पार्टी असफल भए,नेता असफल भए, अब जम्मै फेर्नुपर्छ,’ दुई दिनअघि संवैधानिक इजलासको पोडिएममा उभिएर प्रधानमन्त्रीको कदमको बचाउ गरेका न्यौपानेले उक्त विचार केही महिना पहिले ब्यक्त गरेका हुन् ।
‘केन्द्रदेखि गाउँसम्म कम्युनिष्ट कम्युनिष्टका बीचमा कुटाकुट हुनुपर्छ । एउटा कम्युनिष्टले अर्को कम्युनिष्टलाई मार्नुपर्छ ।’
भिडियोमा सामान्य मानवीय समवेदनासमेत भुलेर उनले कम्युनिष्टहरुबीच काटाकाट हुनुपर्ने समेत बताएका छन् । बुझिनेगरी भनेका छन् ‘केन्द्रदेखि गाउँसम्म कम्युनिष्ट कम्युनिष्टका बीचमा कुटाकुट हुनुपर्छ । एउटा कम्युनिष्टले अर्को कम्युनिष्टलाई मार्नुपर्छ ।’
ओलीलाई अमेरिकी एजेण्ट, महाकाली सम्झौता पारित गर्दा भारतबाट पैसा खाएको जस्ता गम्भीर आरोप लगाएको भिडियोमा सुन्न सकिन्छ । ‘खड्ग ओलीले गृहमन्त्रालयको गाडीमा भ्रष्टाचार गरेको छ’, उनले भनेका छन्, ‘ओलीले नेपालको कम्युनिष्टलाई अमेरिकनको पोल्टामा सीआइएको एजेन्ट बनाएर हाले । महाकाली सन्धि पारित गर्दा भारतबाट पैसा ल्याएर संसद सदस्य र केन्द्रीय समितिलाई बाँडे । यी कम्युनिष्टै हैनन् ।’
देशमा यत्रा कानुन व्यवसायी हुँदाहुँदै प्रधानमन्त्री ओलीले किन न्यौपानेलाई नै रोज्नुभयो ?
ओलीलाई विदेशीको एजेण्ट भन्दै उछित्तो काढेका न्यौपानेले कसरी रातारात कोल्टो फेरे ? देशमा यत्रा कानुन व्यवसायी हुँदाहुँदै प्रधानमन्त्री ओलीले किन न्यौपानेलाई नै रोज्नुभयो ? बार एशोसिएशनको हलमा बसेर टेलिभिजनमा न्यौपानेको बहस सुनिरहेका एक जना कानुन व्यवसायीले भने, ‘लाइन मिलेर हो ।’ उनले भने, ‘प्रधानमन्त्री ओली र न्यौपानेबीच संविधान,अहिलेको राजनीतिक अवस्था र पछिल्लो परिवर्तनलाई बुझ्ने सवालमा मत मिलेको छ । प्रधानमन्त्री ओलीका पछिल्ला गतिविधिले न्यौपानेजस्ता राजतन्त्रका पक्षधरलाई आशावादी बनाएको देखिन्छ । त्यसैले उहाँ (न्यौपाने) रातारात ‘युटर्न’ भएर ओलीको प्रतिरक्षामा उभिनुभएको हो ।’
इजलासमा उभिएर न्यौपानेले संविधानले प्रधानमन्त्रीलाई विगतमा राजा तथा महाराजालाई दिइएको जत्तिकै अधिकार भएको दाबी गरेका थिए । ०१९ सालको संविधानमा राजालाई जति अधिकार थियो, अहिलेको संविधानले त्यत्ति नै अधिकार प्रधानमन्त्रीलाई दिएको उनको दाबी थियो ।
‘०१९ सालको संविधानको धारा ९० मा श्री ५ लाई अवशिष्ट अधिकार दिएजस्तै ०७२ सालको संविधानको धारा ५८ मा छ,’ उनले भनेका थिए । गणतन्त्र,संघीयता र धर्मनिरपेक्षताको कट्टर विरोधी न्यौपानेले आफ्नो बहसमा संसद विघटन सदर नगरे संविधानको ‘रक्षा’ नहुने जिकिरसमेत गर्न भ्याए । उनको बहस सुन्दै गरेका कानुन व्यवसायीहरु भन्दै थिए, ‘संसद विघटनलेभन्दा ओलीको पशुपति यात्राले उन (न्यौपाने) लाई बढी उत्साहित बनाएछ ।’
https://www.facebook.com/Janaasthanews/videos/3788272421195707
टिप्पणीहरू