जनयुद्ध दिवसको दिन गुरिल्ला दौड
जनयुद्ध दिवसको अवसरमा फाल्गुण १ गते रुकुममा गुरिल्ला दौड प्रतियोगीता हुँदैछ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले राष्ट्रिय गुरिल्ला म्याराथुनको आयोजना गरेको हो । प्रत्येक बर्ष आयोजना गर्दै आएको यो म्याराथन चौथो पटक हो । रुकुम तत्कालिन नेकपा माओबादीले जनयुद्ध शुरु गर्दाको उद्गम थलो समेत भएका कारण फागुन १ गतेलाई जनयुद्ध तथा जनआन्दोदन दिवसको रुपमा स्थानीय सरकार तथा बिभिन्न संघसंस्था मार्फत विभिन्न कार्यक्रम गरेर मनाउन थालेका हुन् ।
दिवसको अवसरमा आयोजना धेरै कार्यक्रमहरु मध्ये सानीभेरी गाउँपालिकाले आयोजना गर्ने मौराखारा गुरिल्ला म्याराथन आर्कषणको केन्द्र बन्दै आएको छ । जहाँ फागुन १ गते निधारमा रातो रिबन बाँधेका र मिलिसिया कमब्याट लगाएका युवायुवतीहरु दौडन्छन् ।
जनयुद्धका क्रममा तत्कालीन माओवादीका लडाकुहरु हिँडेको बाटैबाटो धावकलाई दौडाएर युद्ध पर्यटनको विकासमा टेवा पुर्याउने लक्ष्यका साथ म्याराथन आयोजना गर्दै आएको सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए । उनका अनुसार धावकहरु द्वन्द्वकालमा माओवादी गुरिल्ला हिडेको अफ्ठेरो बाटोमा दौडनेछन् । उक्त दिन मौराखारा क्षेत्र उकाली ओरालीमा द्वन्द्वकालमा माओबादी जनसेना हिडेको झल्को दिनेगरि उक्त कार्यक्रम हुनेछ ।
विजेतालाई नगद ८० हजार
मौराखारा गुरिल्ला म्याराथन महिला र पुरुष दुबै सहभागीका लागि छ । जस अनुसार म्याराथनमा प्रथम स्थान हाँसिल गर्ने पुरुष धावकले ८० हजार नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने महिला प्रतियोगीले ५५ हजार नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै पुरुष तर्फ दोस्रो हुनेले पुरुषले ५५, तेस्रो हुनेले ३५ हजार र सान्त्वना हुने खेलाडीले नगद १० हजारका साथमा प्रमाण पत्र पाउनेछन् । महिलातर्फ दोस्रो हुनेले ४०, तेस्रो हुनेले २० र सान्त्वता हुनेलाई १० हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भुपालसिंङ बिष्टले जानकारी दिए ।
म्याराथनमा पुरुष सहभागीका लागि ४६ र महिला सहभागीका लागि ३४ किलोमिटरको दौड रुट निर्धारित गरिएको छ । पुरुषको लागि गाउँपालिकालको कार्यालयको परिसर सिम्ली बाट शुरु भएर हाँसिबाङ हुदै सानीभेरी नदी तरेर मौराखाराको उकालो चढ्नुपर्ने छ । त्यस्तै मौराखारा पुगेपछि ओरालोतर्फ लागेर टुरा, चाख्लीमेला, रिम्नाको मोटरेबल पुलबाट ठूलीभेरी नदी तरेर जाजरकोटको रिम्ना बजार हुँदै मध्यपहाडी लोकमार्ग मार्फत पुनः गाउँपालिकामा पुगेर पुरुषको म्याराथन सकिनेछ ।
त्यस्तै महिलाहरु गाउँपालिका परिसरबाट सिम्लीबजार, शुरु गरेर पेदीबजार, बलिवाङ, रिम्नाको मोटरेबल पुल तरेर जाजरकोटको रिम्ना बजार तथा भेरी तरेर त्यसपछि मध्यपहाडी लोकमार्ग भएर पुनः गाउँपालिकामा पुगेर महिलाको म्याराथन सकिनेछ । गाउँपालिकाले म्याराथन मार्फत खेलको माध्यामबाट युद्ध पर्यटनको विकास हुनका साथै कृषि र मौलिक कला, संस्कृति प्रचारप्रसार र प्रवद्र्धन हुने अपेक्षा गरेको जनाएको छ ।
टिप्पणीहरू