हार्ने चुनाव किन गर्ने ?
गतसाता जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले एउटा कार्यक्रममा भन्नुभयो, ’तानाशाहहरुले आफ्नो जित सुनिश्चित नहुँदासम्म चुनाव गराउँदैनन् । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले यसअघि पनि विभिन्न कार्यक्रममा आफू अनुकूल नहुँदासम्म प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन नगराउने बताउँदै आउनुभएको थियो ।
कांग्रेस नेता गगन थापाको भनाइ पनि उहाँको जस्तै छ । एक सार्वजनिक कार्यक्रममा थापाले भन्नुभएको थियो, ’सर्वसत्तावादतर्फ उन्मुख प्रधानमन्त्री ओलीले आफू अनुकुल नहुँदासम्म चुनाव गराउँदैनन् । उनले चुनाव गराउन र सत्ता हस्तान्तरण गर्न संसद विघटन गरेकै होइनन्, यो तथ्य नबुझे कांग्रेसका लागि दुर्भाग्य हुनेछ ।’
हुन् पनि हो, हुँदा खाँदाको आफ्नै पार्टीको दुई तिहाइको बहुमत गुमाएर पार्टी फुटेका बेला प्रधानमन्त्रीले चुनाव गराउनुहोला भन्ने कुरामा कसरी विश्वास गर्ने ? प्रधानमन्त्रीले जे दावी गरेपनि नेकपाको मूल हिस्सा उहाँतिर छैन । केन्द्रीय समितिको गणितमा उहाँ स्पस्ट अल्पमतमा हुनुहुन्छ । यता,संसद भंग गरेको आरोप छँदैछ । अर्कोतिर सरकारको अलोकप्रियताको ग्राफ सगरमाथाको चुचुरोमै पुगेको छ । यस्तो अवस्थामा निर्वाचनको परिणाम उहाँका लागि सुखद हुनेछैन । यो सबै देख्दादेख्दै ओलीले निर्वाचन गराएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम गर्नुहोला भनेर कसरी विश्वास गर्ने !
यद्यपि ओलीलाई चुनाव हुन्छ भन्नै पर्ने बाध्यता छ । एकातिर संसद विघटनको ६ महिनाभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता,अर्कोतिर जननिर्वाचित संस्था बिघटन गरेकोमा जनताबाट आएको तीब्र दबाब । ’ताजा जनादेश’ भन्दै उहाँले जनताको दबाब थेगिरहनु भएको छ । प्रधानमन्त्री ओलीले आफूलाई कतिसम्म असुरक्षित महसुस गर्नुभएको रहेछ भन्ने कुरा केही दिनअघि मात्र निर्वाचन आयोगमा उहाँले भनेको कुराबाट पनि प्रष्ट हुन्छ । दलबलसहित आयोग कार्यालय पुग्नुभएका उहाँले आफूसंग दल र चुनाव चिन्ह दुइटै नभएको अवस्थामा कसरी निर्वाचनमा जाने भनेर गुनासो गर्नुभएको थियो । यसको अन्तर्यः चुनाव जितिन्छ भन्ने उहाँलाई विश्वास छैन भन्ने हो ।
त्यसो त, निर्वाचनको सुनिश्चितता पो अझै कहाँ छ र ! संसद विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा अड्किएर बसेको छ । न चुनावको ढोका खुलेको छ,न दलको पत्तो लागेको छ । ओलीले मसक्क आँटे पनि बैशाखको घोषित मिति त टरिसक्यो ।
टिप्पणीहरू