गुटले एक दिन त ओलीलाई पनि गन्दैन

गुटले एक दिन त ओलीलाई पनि गन्दैन

नेकपाको झगडाले देश त संकटमा छ नै, नेकपाका दुबै समूहभित्रै पनि गुट र उपगुटका झगडा झन्झन् चर्किन थालेका छन् ।

भर्खरै केपी ओलीपक्षीय युवा संघले आफ्नो केन्द्रीय कमिटीको पूरै टिम फेरिदियो । त्यसको भित्री कथा निकै दर्दनाक छ । अघिल्लो दिनको भेलाबाट प्रचण्डपक्षीय संयोजक रामप्रसाद सापकोटा (दीपशिखा) लाई कारवाही गरेर रमेश पौडेल संयोजक तोकिए । तर, भोलिपल्टै बचनबहादुर सिंह अध्यक्ष भएको नयाँ केन्द्रीय कमिटी घोषणा भयो । कारण हो, महेश बस्नेत हावी हुनु । २३ गतेको नारायणहिटी प्रदर्शनका क्रममा ‘आइ लभ यु ओली बा’ लेखिएका टिशर्ट बाँड्ने र ‘बा’ को पक्षमा खुलेरै लाग्ने महेशको योजनालाई रमेश पौडेलहरुले त्यति वास्ता नगरेपछि संयोजक बनाएको भोलिपल्टै हुत्याइएको बताइन्छ । त्यसअघि दीपशिखालाई कारवाही गरेर रमेशलाई संयोजक तोकिएको भेलालाई बादल समूहका वीरु तामाङहरुले बहिष्कार गरेका थिए । उनीहरुको तर्क थियो, एकता प्रक्रियामा युवाको संयोजक पूर्वमाओवादीले पाएका आधारमा आफूहरु पूर्वमाओवादीतर्फको दावेदार भन्दै वीरुले संयोजक पाउनुपर्छ । तर, वीरुलाई सहसंयोजक पनि नदिने भएपछि उनीहरुको समूहले नै भेला बहिष्कार गरेको हो । जसै भेला आयोजना भयो, रमेश संयोजक भए । तर, दुई दिनपछि इञ्चार्जको हैसियतले महेश बस्नेतले बचनको अध्यक्षतामा अर्को केन्द्रीय कमिटी घोषणा गरिदिए । यसक्रममा ओली समूहका दुई उपगुटको कत्लेआम गरियो भन्दै अहिले रडाको शुरु भएको छ । संयोजक तोकिएका रमेश पौडेल ईश्वर पोखरेल समूहका र भेला बहिष्कार गर्ने बीरुहरु बादल समूहका हुन् । नयाँ कमिटीमा यी दुबै समूहका युवा साफ पारिएका छन् । त्यो केन्द्रीय कमिटीमा महेशले आफ्नै पिए रोशन बस्नेतसहित शंकर पोखरेलका तिरण पौडेल, योगेश भट्टराईका कट्टरविरोधी क्षितिज थेवे, गोकुल बाँस्कोटाका अमित लामाहरुलाई उपाध्यक्ष बनाएका छन् ।

ओलीपक्षीय युवा र विद्यार्थी नेताहरुका आ–आफ्नै समस्या छन् । युवा पूर्वअध्यक्ष राजीव पहारीलाई पोखरामै, निरु पाललाई कञ्चनपुरमै त्यति भाऊ दिइँदैन । अखिलका संयोजक ऐन महरले छवि सुधार्न सकेका छैनन् । उनलाई अरु त अरु त्यही समूहका नेता रश्मी आचार्य, महेश बर्तौलासम्मले महत्व दिँदैनन् । त्यसैले सुनिता बराल र शैलेस लामाहरु ऐनलाई पत्याउन बाध्य छन् । अर्थात्, ऐन गुटभित्रै अल्पमतमा छन् ।

टिप्पणीहरू