चियाको नाम, १७ करोड झ्वाम ?
नेपाली चियाको नाममा धेरै दातृ निकायले सहयोग दिए पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ लिन नसकेको गुनासो छ ।
वैदेशिक सहयोगले कार्यक्रम सञ्चालक मात्र पोसिने गरेको किसानको गुनासो आइरहेको बेला सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले साढे १७ करोड वैदेशिक सहयोगको परियोजना सञ्चालन गर्न लागेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत सहकार्यमा सञ्चालन गर्ने भनिएको परियोजनाबाट किसानलाई सहयोग पुग्ने भन्दा पनि पहुँचवाला केही उद्योगी लाभान्वित हुने र बाँकी रकम कर्मचारीको तलब भत्ता र गोष्ठी कार्यक्रममा खर्च हुने आशंका छ ।
परियोजनाको परामर्श कार्यक्रम भनेर इलाम सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा झण्डै दुई सय सहभागीलाई भत्ता वितरण गरिएको थियो । चियाको दिगो निर्यात गर्ने उद्देश्य राखिएको परियोजना किसानका लागि ‘हात्ती आयो हात्ती आयो फस्सा’ भनेजस्तो हुने देखिन्छ । ‘घुमघाम र गोष्ठीमा पहुँचवालाहरूले सक्छन् ।’ एक चिया किसानले भने, ‘चियामा आएको अनुदान र सहयोग विगतमा पनि यसरी नै सकिने गरेको छ ।’
चियाको इतिहास र चिया बगान भएको भूगोलको समेत राम्ररी जानकारी नभएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ३६ महिनामा १७ करोड ४२ लाख रुपैयाँ खर्चिने भएको छ । कार्यक्रममा सहभागी अधिकांश चिया किसानले पहुँचका आधारमा सहयोग गर्ने, गोष्ठी र भ्रमण खर्चमा मात्र खर्च हुने गरेको भन्दै आफूहरूसम्म सहयोग आइपुग्नुपर्ने बताएका छन् । निर्यात बढाउन, अग्र्यानिक प्रमाणित गर्न र गुणस्तर वृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच वृद्धि गर्ने जनाइएको छ ।
योजना अधिकृत गौरव लुइँटेलका अनुसार परियोजनाको मुख्य कार्यक्रम ट्रसिबिलिटी सिष्टम लागू गर्ने, चियाको ब्राण्ड प्रवर्द्धन गर्न ट्रेडमार्क कार्यान्वयन गर्ने रहेका छन् । यसका साथै चियाको नयाँबजार विस्तार गर्ने, अनलाइन व्यापार पोर्टल निर्माण गर्ने जनाइएको छ ।
चियाको इतिहास सच्याउन अनिच्छा
चिया तथा कफी खेती र बजार प्रवद्र्धनको आधिकारिक निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आफ्नो वेबसाइटमा चियाको इतिहास स्तम्भमा तथ्यांक सच्याउन चासो नदिएको देखिएको छ । १९३५ सालमा इलाम सदरमुकाममा स्थापित नेपालकै पहिलो चिया प्रशोधन कारखानाको स्थापना ०३५ साल उल्लेख छ । यसरी नै बोर्डले नेपालको दोस्रो चिया कारखाना स्थापना भएको माइनगरपालिकामा पर्ने सोक्तिम चिया बगानलाई झापा लेखेको छ ।
बोर्डले आयोजना गरेको कार्यक्रममा सहभागीले चियाको इतिहास वेबसाइटमा गलत भएकाले सच्याउन सुझाव दिएका थिए । तर, बोर्डका प्रमुखसमेत उपस्थित कार्यक्रममा चियाको इतिहास नै बंग्याउने गरेर वेबसाइटमा लेखिएकाले सच्याउन दिइएको सुझावलाई यो सामान्य कुरा हो भनेर अस्वीकार गरियो ।
– सटेन्द्र जबेगुबाट
टिप्पणीहरू