जब घरको ढोकामा सदाका लागि ताला लाग्यो…

जब घरको ढोकामा सदाका लागि ताला लाग्यो…

मिना वाइबा

सानै उमेरमा दिमागले थेग्न र बोक्नै नसक्ने भारी क्रान्ति र आन्दोलनले सुम्पिएको छ । मैले कसरी बोक्न सक्नु ? मलाई स्मरण हुन्छ, २०५७ साल मंसिर ५ गते म आठ कक्षामा पढ्थे । झोलामा किताब च्याप्दै म विद्यालय पढ्न जाँदै थिएँ । एक्कासी पूर्व क्षितिजबाट हावा वेगवान गतिमा हुँइकिँदै आएको अनुभूति भयो । केही समयपछाडि महान योद्धा नुवाकोटको भूमिमा ढलेको सन्देश छोडेर गयो । एक्कासी आएको दुःखद सन्देशले मभित्र भुकम्प चल्यो । सारा जमिन भासिएको अनुभूति भयो । घरमा खैलाबैला सँगै रुवाबासी चल्न थाल्यो । मेरो स्वच्छ र पवित्र हृदयभित्र कालो र अँध्यारो संसारले जन्म लियो भने आमाको छोरासँग पहिलो विछोडले जलेर खरानी भएको हृदय देख्दा मन पीडाले छटपटी चल्यो । त्यसबेला परिवारको पहिलो सदस्यको बलिदान स्वीकार्न कति गाह्रो भयो । त्यो क्षणको स्मरण गर्दा पनि कहाली लाग्छ । मेरो परीक्षा चलिरहेको थियो । परीक्षाको बिचमा प्रिय दाजु गुमाउनुपर्दाको त्यो क्षणले क्रान्ति र विद्रोहप्रति मेरो ध्यान केन्द्रित भयो । क्रान्तिको परिभाषा बुझ्न मन उत्सुक भयो । समयले नै मलाई विद्रोह गर्न सिकायो । त्यसपछि बदलाभावले कसिएका मुठ्ठीहरु उठाउँदै २०५८ साल मंसिर ५ गतेदेखि महान् मुक्तिको बाटोमा आबद्ध भएँ म ।

क्रान्तिप्रति दृढ हुँदै पार्टीले दिएको जिम्मेवारी सँगसँगै प्रिय दाजुका छताछुल्ल पोखिएका सपनाहरुलाई संगाल्दै झरेका कोसेलीका पोका पुन्तुराहरु समात्दै हिँड्ने क्रममा क्रान्तिका उतारचढावसँगै भएका दुश्मनका विभिन्न अपरेसनहरु पार गर्दै ७ महिना बितेछन् । ७ महिना पछाडि फेरि मेरो जीवनमा अर्को आँधी चल्यो । आँधीसँगै ठूलो भूकम्प गयो । भूकम्पसँगै आउने बाढीले बगाएर कुनै खोल्सामा लगेर कोचिदियो । म धेरै घाइते भएँ, घाइते शरिर लिएर पुनः पंक्तिमा जोडिनका लागि लामो समय लाग्यो । घाइते भएको दिन २०५९ साल असार ६ गते थियो, जुन दिन म धादिङको उत्तरी भूभागमा पर्ने रि गाविसको किचेद गाउँको झुपडीमा आमाहरुसँग हातेमालो गर्दै क्रान्तिका थुप्रै सपनाहरु बुन्दै थिएँ । मसँग धेरै सहयोद्धाहरु पनि थिए । नियमित रेडियो सुन्थेँ । त्यो दिन पनि बिहान सबेरै रेडियोको समाचार सुरक्षाकर्मी र आतंककारीबिच भिडन्त हुँदा नुवाकोट देउरालीमा एक आतंककारीको मृत्यु … भन्ने समाचार सुनेँ । त्यसपछि मनमा तरंग पैदा भयो । थुप्रै शंका उपशंकाहरु उब्जे । मनभित्र कता कता डर र त्रासले घर गर्न थाल्यो । दिदीबहिनीबिच निकै कुराकानी चल्यो । साथीहरु बुझ्न जानुभयो । तर यथार्थ खबर दिनुभएन । जब मनहरु पिरोलिदै १५ दिन बिते त्यसपछि मात्र साथीले निर्दोष आमाको हत्याको खबर हामी दिदीबहिनीको कानसम्म ल्याइपुर्‍याए । खै, आमाको हत्याको खबरले हामी दिदीबहिनीलाई कुन हालतमा पुर्‍यायो । अहिले त्यो यथार्थ र पीडा उतार्न म असमर्थ छु । पीडालाई शब्दमा उतार्न गाह्रो भइरहेको छ । मेरी निर्दोष आमाको हत्या गरेर इतिहासमा कायरताको नाम लेख्ने निरंकुश सामन्ती दलालहरुले आमाको न्यानो मायाबाट अलग्याएर हामीलाई टुहुरा र एक्लो बनाए । त्यसपछि आमाको न्यानो सामिप्यबाट सदा सदाका लागि छुटिएँ म ।

मेरी निर्दोष आमाको हत्या गरेर इतिहासमा कायरताको नाम लेख्ने निरंकुश सामन्ती दलालहरुले आमाको न्यानो मायाबाट अलग्याएर हामीलाई टुहुरा र एक्लो बनाए । आज तिनै महान् आमाको कोखबाट जन्मेकी छोरी हुँदा गर्वको अनुभूति हुन्छ र बदलाभावले मुठ्ठीहरु निरन्तर कसिइरहन्छन् ।

म धेरै रोएँ । दिदी झनै विक्षिप्त हुनुभयो । हत्याको लामो समयपछाडि पनि आमाको माया र उत्प्रेरणा नपाएर भौतारिरहेँ । बहादुर र क्रान्तिकारी छोरीहरुको चेतना र विकाससँग लड्न नसक्ने भाडाका कुकुरहरुले उनका आमाको मासु लुछेझैँ गरी मेरी आमाको पनि लुछे गिद्धहरुका हुल बनेर । आमाको मासु लुछाचुडी गरी चपाउँदै बच्चाहरुको चिच्याहट सुन्दै खुसी र सफलताको हाँसो हाँस्ने दानवहरु हामी जति रुन्थ्यौँ त्यती नै हाँस्थे । अरुको चित्कारमा सफलताको दिन खुलेको ठान्थे । यस्तै पीडाको भोगाई तिनीहरुको अत्याचारी र शोषणयुक्त व्यवहारले मलाई झन् स्पातिलो मान्छे बनायो । निर्दोष मानिसको कायरतापूर्ण हत्या गरेर सिँगो क्रान्तिलाई ध्वस्त पार्ने दिवासपना देखेका घरपालुवा कुकुरहरु र आमाको अस्मिता धरौटी राखी आफ्नो पद र सत्ता जोगाउँदै जनतामाथि शोषण गर्ने सामन्त दलालहरुका अगाडि वैचारिक लडाइँ जित्दै मेरी आमाले इतिहासमा कहिल्यै नमेटिने गरी आफ्नो नाम लेख्न सफल हुनुभयो । आफ्ना छोराछोरीलाई क्रान्तिप्रति समर्पित गराएर आफूले पनि सिँगो देशका लागि जीवन अर्पण गरेर आमाको ओज र सम्मान पाउन सफल हुनुभयो । सौर्य र वीरताको बिउ सारा नेपाली सन्तानको चेतनाका थलाहरुमा छर्दै जानुभयो । आमा ! तपाईंको आत्मसम्मानमाथि कालो बुट लगाई परेड खेल्ने पाल्तु कुकुरहरुका अगाडि बलिदानले समर्पित भएर जसरी समाज रुपान्तरणको अस्त्र बनेर उभिनुभयो, आज तिनै महान् आमाको कोखबाट जन्मेकी छोरी हुँदा गर्वको अनुभूति हुन्छ र बदलाभावले मुठ्ठीहरु निरन्तर कसिइरहन्छन् ।

आमासँग छुट्टिएको पनि आज भन्दै भोलि भन्दै ६ महिना बितिसकेछ । ६ महिनापछि फेरि मेरो जीवनमा अर्को दुर्घटना भयो । जीवनमा चैतमासको हुरीजस्तै आँधीतुफान चल्यो । मृत्युको दोसाँधमा लगेर उभ्याइदियो ।

आमाको बलिदानलाई मेरो हृदयले सदासदा सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै हजारौँ धादिङका आमाहरुको आशीर्वाद थाप्दै म क्रान्तिप्रति झन् दृढ हुँदै अगाडि बढिरहेँ । समरयात्रामा आदरणीय बुवासँग नजिकैबाट क्रान्ति, बलिदान, मुक्ति र दायित्वका विषयमा छलफल गरी कहिले गणेश हिमालमुनीको बस्ती त कहिले आँखुखोला किनारको बस्तीसँग हातेमालो गर्दै निरन्तर हिँडिरहेँ । साथीहरुको बिचमा चर्चा चल्थ्यो । बलिदान क्रान्तिको उर्जा हो । ओहो बलिदान ! कति कठीन शब्द क्रान्तिकारी विचारबिहीन मान्छेहरुका लागि । तर फेरि उही शब्द देशभक्त क्रान्तिकारीहरुका लागि उति नै प्यारो । आवश्यक परे समर्पित गर्न पनि तयार हुने तिनै महान् र उच्च बलिदानले मलाई गम्भिर र जिम्मेवार बनायो । मैले आमाको बदला लिने अठोट लिइसकेकी थिएँ ।

यही अठोट र बदलाभाव बोकेर हिँड्ने क्रममा आमासँग छुट्टिएको पनि आज भन्दै भोलि भन्दै ६ महिना बितिसकेछ । ६ महिनापछि फेरि मेरो जीवनमा अर्को दुर्घटना भयो । जीवनमा चैतमासको हुरीजस्तै आँधीतुफान चल्यो । मृत्युको दोसाँधमा लगेर उभ्याइदियो । आकाशले थिचिएको जस्तै जमिन पूरै भासिएझैँ बादलका लप्काहरुले बेरिएर कुनै अन्धकार संसारमा फालिएझैँ अनुभूति भयो । मेरो आस्थाभित्र बलिरहेको दियो पुनः निभ्यो । पीडाको भेलले मलाई समुन्द्रको तीव्र गतिमा बगिरहने छाललेझैँ बगाएर लग्यो । पटक पटक घाइते भएको शरिर लिएर आगामी दिनमा मैले महान् लक्ष्यको शिखर चुम्न सम्भव छ ? यी प्रश्नहरु ममा निरन्तर चलिरहे । मेरो जीवनको तेस्रोपटक भएको दुःखद घटनाको क्षण थियो, २०५९ साल पुष १३ गतेको दिन । जुन दिन जीवनकै अन्धकार दिन सावित भयो । जतिखेर पार्टी केन्द्रकै योजनाअनुरुप संगठन विस्तार गर्ने उद्देश्यले देशव्यापी एक महिने अभियान सञ्चालन गरिएको थियो । नुवाकोट र रसुवामा नुरसहित सम्मान अभियान पुष ११ गतेदेखि सुरु भयो । अभियान आम जनताकोबिचमा झाँगिदै र स्थापित हुँदै गयो । दिदी र म धादिङको अभियानमा जोडिएका थियौँ भने बुवा नुवाकोट र रसुवा संयुक्त अभियानको नेतृत्व गर्दै हुनुहुन्थ्यो । कार्यक्रमलाई निरन्तर अगाडि बढाउँदै जानेक्रममा नुवाकोटको अभियानमा पुष ११ गते फिकुरीको सातदोबाटोमा हजारौँ जनताको उपस्थितिमा सभा व्यापक भएछ । सभा सकिएपछि अभियान टोली रसुवाको ठूलोगाउँमा बास लिन पुगेछ । बास बसेको ठाउँमा शाही सेना नामका भाडाका टट्टुहरुले घेरा हाली आक्रमण गरेछन् । आक्रमणमा बुबासहित क्रान्तिको नेतृत्व गर्ने आठजना महान् अभिभावकहरुको हत्या गरियो । यो खबर हामी दिदीबहिनीसम्म आइपुग्यो । पत्याउनै गाह्रो भयो । हामीसँग कसैले ख्यालख्याल गरेको होला भन्ने पनि लाग्यो । बलबुताले भ्याउन्जेल चिच्याएँ म । यो सब झूटो हो … । तर यथार्थ कहीँ कतै नलुक्दोरहेछ । घटना यथार्थ थियो । बुबाले पनि वीरतापूर्वक बलिदान गरेर हामीलाई सदासदाका लागि छोडेर जानुभयो । क्रान्तिमा प्रेरणा दिने र अभिभावकत्व प्रदान गर्ने बुवालाई गुमाउनुपर्दा एकपटक त बाँच्नुको सार्थकता पनि देखिनँ । तर तत्काल आफ्नो मनलाई सम्हालेँ ।

जब सहनुले साँधसीमा नाघ्छ, तब मान्छेलाई घटनाक्रमले टुक्रा टुक्रा बनाउँछ । जब हत्या, बलत्कार र यातनाले सीमा नाघेर शीर उचाली उचाली बोल्छ, शोषण अन्याय र अत्याचारले सीमा तोड्छ । तबमात्र मानवरुपी चेतना भएका प्राणीहरु पाइला चाल्न थाल्दारहेछन् । विद्रोहको मसाल बोकेर आवाज उठाउन थाल्दा रहेछन् ।

मलाई स्मरण हुन्छ, मलाई समाजका अन्य मान्छेभन्दा चेतनशील र समाजप्रति उत्तरदायी बन्ने पाठ मेरै बुबाले सिकाउनुभयो । गाउँका छोरीहरुले भन्दा फरक जीवन ज्युने आधार पनि देखाउनुभयो । जसले गर्दा म फरक ढंगले जिउन सकेँ र अहिलेसम्म सफल पनि बनेँ । ११ वर्षको उमेरदेखि अन्यायको विरुद्ध आवाज उठाउने र परिवर्तनका लागि जीवनभर संघर्ष गर्ने अठोट ममा जन्म भयो । विद्यालयमा जीवनमा ६ कक्षामा पढ्दा नै शैक्षिक मुद्धालाई संघर्षको सुरुवात गरेकी थिएँ मैले ।

यो पीडा मलाई मात्र हो कि सिँगो पार्टी पंक्तिलाई पनि ? हो भने किन बाँड्न चाहन्नन् पीडा ? किन दुख्छ मेरोमात्र मुटु ? मेरो आँखामा मात्र किन हुन्छ आँशु ?

ममा जन्मेको यो अठोट र विस्वास सबै बुवासँगकै संगतकै परिणाम थियो । बुबाछोरीको सम्बन्ध बुवाछोरीको जस्तो मात्रै नभएर गुरु र चेलाको जस्तो थियो । समाजमा छोरीचेली जन्मेपछि छोरी, बुहारी र अन्त्यमा आमामात्र बन्ने परम्परालाई तोड्दै नयाँ सँस्कार बसाउनुभयो बुवाले । यसरी गुरुका रुपमा पाएको बुवालाई पनि गुमाउनुपर्दा मेरो मन क्षतविक्षत भयो । अब प्रेरणा दिने, अभिभावकत्व प्रदान गर्ने, क्रान्तिप्रति दृढ हुन सहयोग गर्ने पारिवारिक हिसाबले कोही भएन । दाजुको हत्या, आमाको हत्या लगत्तै बुवाको हत्या ?! खै, मेरो दिमागले काम गर्नै छाड्ला जस्तो भयो । केही सोच्न सकिनँ मन दुखिरह्यो । यो पीडा मलाई मात्र हो कि सिँगो पार्टी पंक्तिलाई पनि ? हो भने किन बाँड्न चाहन्नन् पीडा ? किन दुख्छ मेरोमात्र मुटु ? मेरो आँखामा मात्र किन हुन्छ आँशु ? यस्तै प्रश्न गर्थे म । तर मैले नै गुमाएकी थिएँ बुवा र आमा । आखिर टुुहुरी पनि म नै त भएकी थिएँ । त्यसैले दुःख, पीडा, रोदन सबै मैले नै भोगेँ । सबै गुमाएपछि खेतबारी बाँझो मेरो नै रह्यो । घरको ढोकामा सदाका लागि ताला लाग्यो । आखिर मेरै परिवारमै त थियो । म कसैको सान्त्वना र प्रेरणाबाट मात्र यहाँसम्म आइपुगेकी हुँ ! मलाई लाग्दैन– मलाई क्रान्तिले आँशुको सागरमा डुबुल्की मार्न बाध्य बनायो, क्रान्तिले मलाई स्पातिलो पनि बनायो । जब घरको ढोकामा सदाका लागि ताला लाग्यो, मेरो मुटु पनि त्यही फलामको तालाजस्तै डल्लो र कडा बन्यो । शोकलाई शक्तिमा बदल्न सक्ने साहस बटुली फलामजस्तै कडा मुटु लिएर एक न एक दिन क्रान्तिको झण्डालाई विजयको शिखरमा गाडेरै छोड्ने संकल्प बोकी निरन्तर अग्निपथमा लम्किरहेकी छु म ।

वस्तुमा जतिखेर ठोकिन्छ, त्यति बेला मात्र चेतना उत्पन्न हुँदोरहेछ । झिनामसिना घटनाकै आधारमा मान्छे विद्रोही बनिहाल्दोरहेनछ । जब सहनुले साँधसीमा नाघ्छ, तब मान्छेलाई घटनाक्रमले टुक्रा टुक्रा बनाउँछ । जब हत्या, बलत्कार र यातनाले सीमा नाघेर शीर उचाली उचाली बोल्छ, शोषण अन्याय र अत्याचारले सीमा तोड्छ । तबमात्र मानवरुपी चेतना भएका प्राणीहरु पाइला चाल्न थाल्दारहेछन् । विद्रोहको मसाल बोकेर आवाज उठाउन थाल्दा रहेछन् । अन्यायका विरुद्धमा लड्नु देश र जनताप्रति आफ्नो दायित्व र कर्तव्य हो भन्ने बोध गर्दोरहेछ मानिसले । मेरो जीवनमा पनि ठीक यसै भयो । परिवारको बलिदानले निकै चोट र पीडा पु¥यायो तर सँगसँगै बदलाभावले मुठ्ठीहरु कस्दै भित्री मनदेखि नै साहस पनि बटुलेँ । दुस्मनले सोचेको थियो –सायद परिवारको एक सदस्यलाई हत्या गर्दा अरु सबै जनाले डरले हाम्रो अगाडि घुँडा टेक्छन् । आत्मसमर्पण गर्छन् । वैचारिक एवं राजनीतिक हिसाबले गल्छन् । तर त्यसो कहिल्यै भएन र हुन पनि दिइएन । तिनको अगाडि हिजो पनि झुकेनौँ, आज पनि झुकेका छैनौँ र भोलि पनि कदापि झुक्नेछैनौँ । मेरा आदरणीय आमा, बुवा र दाजुको बलिदानीले कहिल्यै झुक्न दिनेछैन मलाई । उहाँहरुले मलाई सधैँ मार्गनिर्देश गरिरहनुभएको छ र उहाँहरु स्वयं आफैँ इतिहासले सधैँ आफ्नो छातीमा राख्ने इतिहासको आत्मिय पात्र बन्नुभएको छ । रातको जुनजस्तै, दिनको घामजस्तै निश्चल र निष्कलंक बन्नुभएको छ । उहाँहरुको यो गौरवपूर्ण इतिहासको धाराप्रवाहलाई बचाइराख्ने दायित्व पनि हाम्रै हो । यो इतिहासलाई कहिल्यै लत्रिन नदिने प्रतिबद्धताका साथ वर्गसंघर्षको अविछिन्न यात्रामा मेरा पाइलाहरु निरन्तर बढिरहेका छन् र सदा सदा बढिरहनेछन् कृष्ण सेनको कवितांशजस्तैः
साथका सहयोद्धाहरु
बिदाई कमरेड पनि भन्न नपाई
एकाएक मोर्चामा ढल्न पनि सक्छन्
र पनि निर्विकार भावले
अविचल अगाडि बढिरहन सक्छन्
त्यसैले यो घडी
प्रियजनहरुको यादमा
फगत आँशु बगाइरहने घडी होइन
आँशुको आगो र
सुस्केरालाई बारुदको धुँवामा बदल्ने घडी हो ।

टिप्पणीहरू