ओलीहरुलाई हुर्काउने पाठेघर
२००७ सालदेखि नै नेपालमा विदेशी शक्तिकेन्द्रको आशीर्वादसहित सत्तारुढ हुने तथा देश र जनता अनि लोकतन्त्रविरुद्ध निजी स्वार्थमा लिप्त हुने प्रवृत्ति छ । यो प्रवृत्ति सुगौली सन्धि (सन् १८१६) र मूलतः वि.सं. १९०३ को कोतपर्वपछि स्थापित भएको हो । जंगबहादुर, मोहनसमशेर र मात्रिकाप्रसाद कोइराला, शेरबहादुर देउवा हुँदै केपी ओलीसम्मका शासकहरु फरक पात्र हुन् नै तर उनीहरुको प्रवृत्ति एउटै हो । आन्तरिक र बाह्य शक्तिको स्रोत एउटै हो । अझ यसो भन्नु उपर्युक्त हुन्छ– यी सबै खलनायक हुर्कने पाठेघर एउटै हो, त्यो रुग्ण पाठेघरको उपचार आवश्यक छ । अन्यथा ‘क्यान्सर’ संक्रमण रोकिन्न ।
पञ्चायती व्यवस्थाले १० वर्षमा गरेको भन्दा बढी हत्या २०४८ चैत २३ र २४ गते कांग्रेस र तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले गरेका थिए । आन्दोलनकारीको तर्फबाट कुनै ठूलो घटना पनि थिएन । प्रहरीतिर फर्केर ढुंगा हान्ने, सडकका केही रेलिङ भाँच्ने गरेको आरोपमा निशस्त्र जुलुसमाथि गोली हानियो । असनमा प्रहरीको गोलीबाट सादा पोशाकका प्रहरी इन्स्पेक्टर नै मारिए । त्यसबाट ढुंगामुढा गर्ने पनि प्रहरी नै रहेछन् भन्ने स्पष्ट भयो । २०४६ सालदेखि २०५२ सालसम्म कांग्रेसको शासन व्यवस्था कसरी चलेको थियो, स्पष्ट नै छ । त्यसबेला देशको अर्थतन्त्र परनिर्भर बनाउन, राष्ट्रघाती सन्धि–सम्झौता गर्न र देशलाई निरंकुशतातिर फर्काउन प्रमुख पूतिपक्षी एमालेको उत्तिकै भूमिका थियो । त्यसैले भूमिकाको आधारमा कतिपयले एमालेलाई ‘भाइ कांग्रेस’ पनि भन्थे । सरकारको जनविरोधी, यथास्थितिवादी, पश्चगामी, स्वार्थलम्पट चरित्र र जनताको परिवर्तनप्रतिको व्यग्रता, बढ्दो जनचेतना, प्रतिरोधी भावनाबीच ठूलो खाडल पर्यो । त्यो स्थितिले देश भयंकर विद्रोहमा प्रवेश गर्यो ।
नेपाली जनताको परिवर्तनको चाहनाविरुद्ध राजा, संसदीय दलहरु र साम्राज्यवादी शक्तिहरुबीच गठबन्धन भयो । २०६२ मंसिर ७ गते भारतको संरक्षणमा माओवादी र सात दलबीच १२ बुँदे सहमति भयो । यो दोस्रो दिल्ली सम्झौता थियो । सामन्तवाद र साम्राज्यवादविरुद्ध भएको विद्रोहलाई १० वर्षपछि नयाँ शब्दजालसहित उल्टाउने षड्यन्त्र भयो । सामन्ती घरेलु प्रतिक्रियावादको स्थानमा दलाल पुँजीवाद आयो । साम्राज्यवादको हैकम र नियन्त्रण झन् बढेर गयो । प्रतिक्रियावादी गणतन्त्रले दलाल पुँजीवादलाई त बलियो बनायो नै तर जनतालाई बनाइएन ।
संसदमा युरोप–अमेरिकाका गैसस एजेन्टबाहेक एक जना गरिब–श्रमिक–ज्यामीको प्रतिनिधि छ ? गरिब र धनीबीच अलग–अलग निर्वाचन क्षेत्र छ ?
पुरानै नेतृत्व, पुरानै विचार, पुरानै राजनीति, पुरानै कर्मचारीतन्त्र, पुरानै सुरक्षा निकाय स्थापित भए । तर ठूलो परिवर्तनको हल्ला गरियो । ज्ञानेन्द्र गए । ज्ञानेन्द्रभन्दा पनि अनैतिक ओली–देउवा आए, जसरी फिलिपिन्समा मार्कोसको पतनपछि अक्विनो सरकार आएको थियो ।
हरेक ठूलो विद्रोह असफल भएपछि÷पारिएपछि थोरै सुधार गरेर यथास्थितिवादलाई निरन्तरता दिइन्छ । त्यसो नगरी यथास्थितिवादको रक्षा हुँदैन । २००७ साल, २०१७ साल, २०२८ साल, २०३४–३७ साल र २०४६ सालपछिका राजनीतिक परिवर्तन र सुधारहरु जनविरोधी सत्ता बचाउन, जनअसन्तोष र परिवर्तनको चाहना मत्थर पार्न तथा परिवर्तनगामी धारालाई विभाजिन गर्न गरिएका सुधारहरु मात्र थिए । जनयुद्धमा शहरी बुद्धिजीवीले राष्ट्रिय स्वाधिनताको अपेक्षा गरेर सहभागी भएका हुन् । जोताहाले जमिन चाहेका थिए । युवाले रोजगार चाहेका थिए । देशभक्त जनताले सन् १९५० सहितका असमान सन्धि खारेज होस् भन्ने चाहेका थिए । १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताको जगमा भएको २०७२ असोज ३ को संविधानले त्यो दिन सक्यो ? पहाडिया ठालूको स्थानमा मधेसी सामन्त–जमिन्दार वा जनजाति ठालू ल्याउनेबाहेक के काम भयो ? महिलाको नाममा टालु–साहुनी महिला ल्यायो ? संसदमा युरोप–अमेरिकाका गैसस एजेन्टबाहेक एक जना गरिब–श्रमिक–ज्यामीको प्रतिनिधि छ ? गरिब र धनीबीच अलग–अलग निर्वाचन क्षेत्र छ ? अरबपति दलाल र सुकुम्बासीलाई प्रतिस्पर्धा गराएर अरबपतिले चुनाव जितेको घोषणा गर्ने फटाहाहरुले सामाजिक न्याय दिन सक्छन् ? देशको संविधान, कानुन र बहुमत सीआइए र रअको निर्देशनमा कसरी पंगु–निरीह बनाइन्छन् भन्ने कुरा हिजो देउवा–ज्ञानेन्द्र र आजभोलि हेरे पुग्छ । नेकपा, नेकपा (क्रामा) र मधेशका जनता मारेर–थुनेर ल्याएको संविधान असोज ३ मा नै मरिसकेको थियो । दोस्रो विश्वयुद्धमा मारिएका जवानको परिवारलाई राहतस्वरुप ब्रिटेनले पठाएको रकम राणा प्रमले निजी कोषमा राखेका थिए । आज कोभिड १९ को औषधि खरिद गर्न जम्मा भएको रकम ओलीका मन्त्रीहरुले खाएका छन् । श्री ३ सरकार र ओली सरकारबीच के अन्तर भयो ? कुमार पौडेलका हत्यारालाई यो संविधानले दण्डित गर्न सक्यो ?
दिल्ली र वासिंग्टन सामन्तवाद र दलाल पुँजीवादबीच एकता भएको संविधान चाहन्छन् । सामन्तवाद र दलाल पुँजीवादबीचको एकता र जनताविरुद्ध फासीवाद उनीहरुको चाहना हो । जसले एमसीसी पारित गरोस् । जसले कोशी उच्च बाँधको ढोका खोलोस् र कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतलाई सुम्पियोस् । देउवा–ओली–लैनचौरको नेतृत्वमा देशलाई त्यही दिशामा धकेलिँदैछ । पौडेल–दाहाल–नेपालका रुन्चे स्वरको अर्थ जनतामा भ्रम सिर्जना गर्नु मात्रै हो । सत्ता र संविधान नै देश निर्माणको आधारभूत तत्व हो । बच्चा हुर्कने पाठेघर हो तर विडम्बना त्यो पाठेघर नै क्यान्सरपीडित छ । त्यस प्रकारको रोगी पाठेघरले टंकप्रसाद, मातृका, रायमाझी, देउवा, ओली जन्माइरहन्छ । तसर्थ बहस लाज नमानी सत्ताको चरित्रमै हुनुपर्छ । जनविरोधी, राष्ट्रघाती सत्ताको चाकरीको खेतीबाहेक ओली–देउवाले केही गर्ने छैनन् । कस्तो नयाँ सत्ता ? बहस त्यतातिर लगौं ।
टिप्पणीहरू