सधैं झुक्याउन सकिएला सबैलाई ?

देश अहिले अनेकन सम्भावना र प्रश्नहरुको बीचमा गुज्रिएको छ । अविश्वासको प्रस्ताव मानौँ कि आयो या आएन  पुरानै अविश्वासको प्रस्ताव व्युँताउने कि नयाँ दर्ता गर्ने ? तय हुन बाँकी छ । नेकपाले नै दर्ता गरेको प्रस्तावका आधारमा जाने कि नेपाली कांग्रेस, मधेसी सम्मिलित प्रस्ताव लैजाने भन्ने पनि टुंगो छैन ।

तर, सहमति र सल्लाह भए अहिलेकै प्रस्ताव व्युँतिएर अरुले मतदान गर्ने अवस्था पनि आउनसक्छ । वा, पार्टीभित्र विवाद समाधान गर्ने हो भने अविश्वास प्रस्तावको चरणमा जानै नपर्ने पनि हुनसक्छ । तर, यसपटक प्रधानमन्त्री केपी ओलीले काँग्रेसको समर्थन जुटाएर तत्काल टिक्नुभयो र विजनेश नै नदिई हिउँदे अधिवेशन १–२ दिनमै अन्त्य गर्नुभयो भने पनि त्यति सजिलोचाहिँ छैन ।

मानौँ कोभिडको बहानामा नेपाली कांग्रेसले महाधिवेशन भदौमा सारेअनुसार नै भने पनि केपी ओलीसँग सत्तासहकार्य गरेर शेरबहादुर देउवालाई चुनावमा जान सजिलो छ ? अथवा ओलीको समर्थनमा हुने भयो । देउवालाई प्रधानमन्त्रीसहित बन्न दिएर भदौमा हुने महाधिवेशनबाट उहाँलाई फेरि पार्टी सभापति बनाउन अर्को पक्ष अर्थात् रामचन्द्र, शेखर, सशांक, सिटौलाहरु सहमत होलान् ? यो जटिल प्रश्न हो ।

यदि केपी ओलीले यो खड्गो पार गर्नुभएछ भने के जेठमा आउने नीति तथा कार्यक्रम र बजेट पारित होला ? अहिले त अविश्वासको प्रस्ताव आयो । त्यतिबेला विश्वासको मत लिनुपर्ने हुन्छ ।

के त्यो पाउनुहोला ? अहिलेको अधिवेशन अदालतको आदेशअनुसार २३ गते बोलाइयो । मानौँ अहिलेलाई अविश्वासको प्रस्ताव रोकियो । संसद पनि केही दिनका लागि पर सारियो । तर, त्यो समयसम्म पर्याप्त गृहकार्य गर्न दिएर नेकपासहित कांग्रेस, जसपाहरुले २५ प्रतिशत सांसदसहित अविश्वास प्रस्ताव पेश गरे भने बीचमा विशेष अधिवेशन बोलाउनुपर्ने अवस्था हुन्छ कि हुँदैन ? मिलाउनुपर्ने कुरा धेरै छन् । समझदारी र लचकता देखाउनुपर्ने ठाउँ पनि छन् ।

भारतले पनि केपी ओलीप्रति जयजयकार गरेर, उत्पातैसँग काँध थापेको अवस्था छैन । उहाँले यत्रो देश दौडाहा गरेर, सांसद खरिद गर्दा पनि केही सीप लाग्ने देखिँदैन । अनेकन मान्छेहरुलाई फकाएर, टालटुल पारेर आफूसँग राख्नुभन्दा प्रक्रियासम्मत रुपमा चल्ने, सके टिक्ने, नसके अर्को चुनावबाट फेरि प्रधानमन्त्री हुन्छु भनेर बाटो छोड्ने बेला होइन र यो ?

– उमेश दाहाल

टिप्पणीहरू