नगरपालिकाले दमन गरेपछि सुकुम्बासीहरु आन्दोलित

नगरपालिकाले दमन गरेपछि सुकुम्बासीहरु आन्दोलित

सुकुम्बासीमाथि बल प्रयोग भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी बाँकेले आन्दोलनको चेतावनी दिएको छ । जिल्लाको कोहलपुर नगरपालिका- ११ शान्तिनगरमा बसोवास गरिरहेका सुकुम्वासी तथा भूमिहीनहरुको माग अविलम्ब सम्बोधन गर्न पनि सो पार्टीले अनुरोध गरेको छ ।

कोहलपुरका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले केही दिनदेखि बसाईसराई दर्ता हुनुपर्ने,लागत संकलनसहितको कर कायम गर्नुपर्ने, विकल्पसहितको कोहलुर नगरपालिकाभित्र व्यवस्थापन गर्नुपर्ने मागसहित आर्थिक अनियमितताको विषयलाई लिएर नगरपालिकाको गेटमै धर्ना दिइरहेका छन् ।

भूमिहीन सुकुम्बासीको आन्दोलनप्रति नगरपालिकाबाटै दमन भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी बाँकेले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । नगर प्रमुखलगायत सरोकारवालाहरुलाई समस्या समाधानतर्फ उदासिन देखिएको भन्दै विज्ञप्तिमा आन्दोलन दबाउन खोजे समस्या झन बल्झिने चेतावनी दिइएको छ।

‘नेपाल सरकारले पछिल्लो समयमा भूमिसम्बन्धी आयोग गठन गरेको र सोही आयोगमार्फत वास्तविक भूमिहिन,सुकुम्वासी र अव्यवस्थित बसोवास गरिरहेका व्यक्तिहरुको पहिचान गरी समस्या समाधान गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

सो पार्टीका बाँके सेक्रेटरी रोशन कुमारद्वारा जारी विज्ञप्तीमा भूमिहीन,सुकुम्वासीहरुको पहिचान गरी व्यवस्थित बसोवासको ब्यवस्थापन गर्नुको साटो भू-माफिया, दलाल र राज्य संचालकहरुको मिलेमतोमा बल प्रयोग गरेर घरवारबिहीन बनाइएको भन्दै खेद प्रकट गरिएको छ ।

टिप्पणीहरू