कोमल वलीले हालेको मुद्धा के हुन्छ ?

कोमल वलीले हालेको मुद्धा के हुन्छ ?

नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तविरुद्ध मानहानीको मुद्धा परेको छ । आफ्नो मानमर्दन हुनेगरी पन्तले अभिव्यक्ति दिएको भन्दै राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वलीले मंगलबार जिल्ला अदालत काठमाडौँ मुद्धा दर्ता गरेकी हुन् ।

११:५० बजेबाट १२:०५ बजेसम्म बसी १३५६ नम्बरमा दर्ता गराएको निवेदनमा आफ्नो मान,प्रतिष्ठा र इज्जतमा असर पारेको दाबी गरिएको छ । पन्तले केही दिनअघि एउटा कार्यक्रममा बोल्दै वलीलाई ‘सारी सरक्क सर्काएर पिँडुला देखाएको भरमा सभासद बनेको’ बताएका थिए । पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको जिकिर छ ।

मुद्धाको सुनुवाइको मिति तोकिएको छैन । तर, छिट्टै प्रक्रिया शुरु हुने अदालत स्रोतले जनाएको छ । अदालतले केही दिनमै पन्तसँग लिखित जवाफ माग गर्दै म्याद पठाउने तयारी गरेको छ । अदालतले म्याद तामेल गरेको २१ दिनमा जवाफ पेश गर्नुपर्ने हुन्छ । त्यसपछि साक्षीहरुको बकपत्र लिने र अन्य फिराद प्रमाणहरु हेरेर फैसला हुन्छ ।

तर,जिल्ला अदालतले कम मात्र मुद्दाहरुमा गाली बेइज्जती ठहर गरेको देखिन्छ । अधिकांश मुद्दाहरु लामो समय सुनुवाइ हुँदै आफैं खारेज भएका देखिन्छन् । सामान्यतया गाली बेइज्जतीको मुद्दा टुङ्गिन कम्तिमा एक बर्ष लाग्छ ।

टिप्पणीहरू