मन्त्रीमा नबिक्न मन्जुहरुको बिन्ती

मन्त्रीमा नबिक्न मन्जुहरुको बिन्ती

भावी सत्ता समीकरणलाई लिएर प्रष्ट दुई धारमा विभाजित शीर्ष नेतालाई एकताबद्ध भएर अघि बढन जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताहरुले सचेत गराएका छन् । सो पार्टीको भातृ संगठन जसपा युवा संघकी केन्द्रीय सचिव मन्जु मिक्चन तामाङले नेताहरु विभाजित हुँदा अग्रगमनको मुद्धा कम्जोर हुने भएकाले सुझबुझपूर्ण निर्णय गर्न आग्रह गरिन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ सरकार गठनको विषयलाई लिएर जसपामा विवाद छ । पूर्वसमाजवादी समूह प्रधानमन्त्री ओलीबाहेकको गठबन्धन बनाउनुपर्ने अडानमा छ भने पूर्वराजपा समूह सहकार्यका लागि सबैसंग खुला हुनुपर्ने भन्दै ओलीसंग नजिक छ । नेतृ तामाङले अग्रगमनका पक्षधरहरुवीचको सहकार्यमै नेताहरुले जोड दिनुपर्ने बताइन् ।

अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले पार्टीका अरु नेताहरुलाई थाहै नदिई प्रधानमन्त्री केपी शर्मा ओलीसंग सत्ता सहकार्यको प्रयास गरिरहेको खुलेपछि जसपामा विवाद थप चर्किएको छ । अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलगायतका नेताहरु प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगमन निम्त्याएकाले उनीसंग सहकार्य गर्न नहुने पक्षमा छन् । जसपाले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन नै गरेको थियो ।

‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएको हो,पार्टीले त्यसलाई प्रतिगमन भनेर आन्दोलन पनि गरेकै हो’, तामाङले भनिन्, ‘जसले प्रतिगमन गर्यो भनेर उसका विरुद्ध आन्दोलन गरियो,अहिले एक महिना पनि नहुँदै उसैसंग सत्ता सहकार्य गर्ने कुरा कति नैतिक होला ? मलाई लाग्छ हाम्रो पार्टीले त्यस्तो निर्णय गर्दैन । हामीले नेताहरुलाई सचेत गराएका छौं ।’ सरकार गठनमा जसपा निर्णायक भूमिकामा रहेकाले अहिले हतार गर्नु आवश्यक नभएको उनको बुझाइ छ । सरकारको नेतृत्व गर्ने अवसर पार्टीसामु रहेकाले दुई-चार वटा मन्त्रालय हेरेर हतारमा निर्णय गर्न नहुनेमा उनले सचेत गराइन् ।

तर जसपाका नेताहरु भने अरुको नेतृत्वको सरकारमा जान हतारिएको देखिन्छ । अस्ति संयुक्त संसदीय दलको बैठकमा ठाकुर र महतोले सरकारसंग छलफल गर्न वार्ता समिति नै गठन गरेको खुलेपछि त्यहाँभित्रको सत्ता स्वार्थ र आन्तरिक खिचातानी प्रकट भएको छ । नेतृ तामाङले पार्टीमा त्यस्तो प्रवृति हावी हुँदै गएको भन्दै युवाहरुले खवरदारी गर्नुपर्ने बताइन् । ‘केही समस्या छ भन्ने लागेर नै हिजो तुरुन्तै बैठक बसेको हो । त्यसैले सरकारबारे निर्णय गर्न पाँच शीर्ष नेताको समिति बनाइएको छ । त्यसैले अब नेताका स्वार्थअनुसारका छुट्टाछुट्टै लबिङ नहोला भन्ने लाग्छ,’ उनले भनिन् ।

प्रधानमन्त्री ओलीले मधेसवादी दल फुटाउने भन्दै गत बैशाखमा अध्यादेश ल्याएपछि तत्कालीन समाजवादी र राजपाबीच रातारात एकता भएको थियो । हतारमा एकता भएको दुई पार्टीका सांगठानिक एकीकरणका काम अझै टुंगिएको छैन । सबैभन्दा महत्वपूर्ण मानिएको संसदीय दल पनि एकीकरण भएको छैन । अस्तिको बैठकले साविकका दुवै दल खारेज गरेको र अब एउटै दल दर्ता हुने तामाङले बताइन् ।

टिप्पणीहरू