पार्टी मिलाउन हिँडेका वामदेवसमेत पदच्युत, एक निर्वाचितद्वारा सारा निर्वाचित बर्खास्त

पार्टी मिलाउन हिँडेका वामदेवसमेत पदच्युत,  एक निर्वाचितद्वारा सारा निर्वाचित बर्खास्त

प्रधानमन्त्री केपी ओलीको निर्मम पेलाइमा पर्दै आएको एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अर्को पेलाइमा परेको छ । सर्वोच्च अदालतको फैसलाले एमाले ब्युँतिएपछि पुरानै जिम्मेवारीमा फर्केको नेपाल पक्षको सबै काम,कर्तव्य खोसेर ओलीले आफू अनुकूल कमिटी पुनर्गठन गर्नुभएको हो ।

आजै एकलौटी निर्णय गर्दै ओलीले आफ्नो सर्वोच्चको आदेशसङ्गै पुनर्स्थापित महासचिव ईश्वर पोखरेलबाहेक सबै पदाधिकारीलाई खारेज गर्नुभएको छ । यसको घानमा कतैपट्टि पनि नलागी पार्टी मिलाउन हिंड्नुभएका उपाध्यक्ष वामदेव गौतम पनि पर्नुभएको छ ।

उहाँले यसलाई एक ब्यक्तिको चरम अराजकता र कम्युनिस्ट आन्दोलनका नाममा कलँकको सँज्ञा दिनुभएको छ । ओलीले सातै प्रदेशमा आफूपक्षीय नेतालाई इन्चार्ज तोक्नुभएको छ भने केन्द्रीय कमिटी पनि विस्तार गर्नुभएको छ । त्यस्तै,योगेश भट्टराईबाट खोसेर प्रचारविभाग प्रदीप ज्ञवालीलाई दिइएको छ । अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई बागमती प्रदेशको ईन्चार्ज तोकिएको छ । भीम रावलको ठाउँमा लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको ईन्चार्ज बनाइएको छ ।

नेपाल पक्षले पार्टीको बैठक बोलाउन माग गरिरहेकै बेला ओलीले आफूखुशी कमिटी पुनर्गठन गर्नुभएको हो । मनोनीत कमिटीमा माओवादी केन्द्रबाट आफूतिर आएका २२ जना नेताहरुलाई भने महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।

पदाधिकारी र स्थायी कमिटीको बहुमतमा रहेको नेपाल पक्षलाई बेवास्ता गरी ओलीले विधान विपरित कमिटी पुनर्गठन गरेपछि नेपाल पक्ष आक्रोशित भएको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले साँझ बैठक बसेर धारणा सार्वजनिक गर्ने बताउनुभयो । ‘मैले पनि भर्खरै थाहा पाएँ। विधान मिचेर एकलौटी निर्णय गरिएको छ। हामी छलफलमै छौँ । साँझ धारणा सार्वजनिक गर्छौँ ।’

२०७१ असारमा सप्पन्न एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ निर्वाचित भएको महाधिवेशनबाटै अरु पदाधिकारीहरु पनि सोही बिधिबमोजिम निर्वाचित भएका थिए । एमालेको विधानअनुसार महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई अर्को महाधिवेशनले मात्र हटाउन सक्छ । तर,ओलीले भने फरक विचार समूहमा भएकै कारण माधव नेपाल पक्षका नेताहरुलाई छानीछानी हटाउनु भएको हो ।

‘ओलीजी जुन महाधिवेशनबाट निर्वाचित हुनुभएको हो,अरु पनि त्यहि महाधिवेशनबाट जितेर आएका हुन् । केन्द्रीय समितिको बैठक बसेको छैन । हामीलाई जानकारी पनि छैन। यो निर्णय विधान विपरित छ । एउटा व्यक्तिले चाहँदैमा कसैलाई हटाउने र राख्ने भन्ने हुँदैन’, नेपाल पक्षका एक नेताले भने ।

एउटा निर्वाचितले अर्को निर्वाचितलाई कसरी हटाउने कुरा हास्स्यास्पद हुने भन्दै उनले भने, ‘अदालतको निर्णयकै कारण भए पनि हामी एकै ठाउँमा पुगेका थियौँ । एकतावद्ध भएर पार्टी निर्माण गर्ने महत्वपूर्ण अवसर थियो । तर, ओलीजी प्रतिशोधमा उत्रनुभयो । विधानविपरित गरिएको यो स्वेच्छाचारी हर्कतको डटेर सामना गर्छौँ ।’

टिप्पणीहरू