प्रधानमन्त्रीको भनाइ झूठो हो : बैद्य
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले आफ्नो पार्टीले संसदवाद स्वीकार नगरेको बताउनुभएको छ । सबै पार्टीहरु संसदवादी मूलधारमा आएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको केही दिनअघिको अभिव्यक्तिको खण्डन गर्दै उहाँले क्रान्तिकारीहरु संसदवादी मूलधारमा नभएको र आफूहरुले वर्तमान व्यवस्था नमान्ने बताउनुभएको हो ।
आइतबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जबस तथा मोर्चाहरुले काठमाडौंमा आयोजना गरेको विरोधसभामा बोल्दै उहाँले हतियारबद्ध आन्दोलनको चेतावनी पनि दिनुभएको छ । क्रान्ति पूरा नभएकाले अहिले शान्तिको सम्भावना नरहेको उहाँको भनाइ छ । क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उहाँले नेपालमा फेरि बन्दुक उठ्ने दाबी गर्नुभयो ।
त्यसैगरी उहाँले नेपालमा शान्तिको युग शुरु भयो भन्ने प्रधानमन्त्री ओलीको भनाइलाई पनि झूठ भन्नुभएको छ । सरकार र नेकपा (विप्लव) बीच भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री ओलीले देश शान्तिको युगमा प्रवेश गरेको बताउनुभएको थियो । प्रधानमन्त्रीको उक्त भनाइको खण्डन गर्दै बैद्यले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले दुईवटा कुरा भन्नुभयो । एउटा कुरा के भन्नुभो भने अब सब संसदवादी मूलधारमा आए । यो झूठ हो । सरासर झूठ हो । संसदवादी मूलधारमा छैनन् यी क्रान्तिकारीहरु । हामी छैनौँ । यो व्यवस्थालाई मान्दैनौँ । त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नुपर्छ । पहिलो कुरा त्यो हो । दोस्रो कुरा,अब शान्तिको नयाँ युग शुरु भो भन्नुभयो । यो पनि झूठ हो ।’
क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उहाँले नेपालमा फेरि बन्दुक उठ्ने दाबी गर्नुभयो ।
उहाँले सरकार र विप्लवबीच सम्झौता हुँदैमा शान्ति नहुने पनि बताउनुभयो । ‘विप्लवजीहरुले सम्झौता गर्नेबित्तिकै शान्तिको युग वहाँहरुले भनेजस्तो शुरु भएको छैन । यहाँका समस्याहरु जो हुन्, जबसम्म समाधान हुँदैन तबसम्म शान्तिको युग शुरु हुँदैन’, उहाँले भन्नुभयो, ‘सत्ताधारी वर्गले जनतालाई शोषण,उत्पीडन,दमन गर्ने यी कम्युनिष्ट नामधारीहरु शहीदको रगतको आहालमा डुबेर सत्तामा जाने,अनि शान्ति कसरी हुन्छ रु शान्तिको संविधान छैन । शान्तिको युग क्रान्ति गरेपछि आउँछ । बन्दुक उठाएपछि के हुन्छ ? बन्दुक उठ्छ ।’
महासचिव वैद्यले मजदुर,किसान, महिला,दलित,आदिवासी जनजाति,मधेसीलगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुुपर्ने पनि बताउनुभयो ।
टिप्पणीहरू