प्रभावित सर्वोच्च
सर्वोच्च अदालतले संसद् ब्युँताउने जो फैसला सुनायो, त्यो वास्तवमा अर्कै कुनै तत्वले प्रभावित भएर सुनाएको हो । अस्ति प्रधानमन्त्रीले एउटा अन्तर्वार्तामा यही भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘सर्वोच्चको फैसला त मान्छु तर त्यो अर्कै कुनै तत्वबाट प्रभावित भएर गरिएको फैसला हो ।’
सर्वोच्च अदालतलाई कतैबाट प्रभावित भएर फैसला गरेको आरोप लगाउँदा हामी झसंग हुन्छौं । त्यो पनि प्रधानमन्त्रीबाट । के सर्वोच्च साँच्चै कतैबाट प्रभावित भएको हो ?
सर्वोच्चलाई कहीँबाट प्रभावित भएको भन्ने आरोप अरूले होइन, प्रधानमन्त्री केपी ओलीले नै लगाउनुभएको हो । वास्तवमा सर्वोच्च अदालत कहीँबाट प्रभावित हुन सक्छ वा सक्दैन भन्ने प्रधानमन्त्री ओलीलाई जति अरू कसलाई थाहा होला र ? सर्वोच्च कतैबाट प्रभावित हुन सक्छ कि सक्दैन । यदि, प्रभावित गर्न सकिन्छ भने कसरी सकिन्छ ? कोबाट सकिन्छ ? किन सकिन्छ ? त्यस मामिलामा त प्रधानमन्त्री ओली पूरै जानकार हुनुहुन्छ नि ! यदि, त्यसो होइन भने नेकपा टुक्र्याउनेसम्बन्धी फैसला त्यसै आएको होला र ? सर्वोच्च कतैबाट प्रभावित हुन सक्छ वा सक्दैन भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण त्यही होइन र ?
टिप्पणीहरू