राजनीतिदेखि राजनीतिसम्म

राजनीतिदेखि राजनीतिसम्म

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएपछि रिक्त पदमा रमेश बडालको नियुक्ति भएको छ । प्रतिनिधि सभा विघटनको मुद्दामा प्रधानमन्त्रीको तर्फबाट बडालले वकिलहरुको टिम संयोजन गर्नुभएको थियो । पूर्व कानुनमन्त्रीसमेत रहिसक्नुभएका खरेल तीन वर्षअघि महान्यायाधिवक्ता बन्नुभएको थियो । मन्त्री भैसकेको व्यक्ति महान्यायाधिवक्ता बनेको भन्दै आलोचित बन्नुभएका खरेलले शुक्रबार राजीनामा दिँदै फेरि राजनीतिमा फर्किने घोषणा गर्नुभएको छ ।

आज पत्रकार सम्मेलनमार्फत राजीनामा दिँदै उहाँले भन्नुभयो, ‘विगतमा जहाँ थिए,त्यतै फर्किने उद्देश्यका साथ् राजीनामा गरेको छु । पुरानो ठाउँमा पुग्दा जे जिम्मेवारी पाउँछु त्यहि पूरा गर्छु । पदको लागि काम गरेको होइन ।’ उहाँले राजनीतिक जीवनमा सक्रिय हुँदा आइपर्ने जिम्मेवारी सम्हाल्दै जाने पनि बताउनुभयो ।

खरेल २०७४ साल फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त हुनुभएको थियो । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि खरेलले असहज महसुस गरेको बताइएको थियो । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमका बिरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुध्दाको बहसका क्रममा खरेलले सरकारको निर्णयको प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली पछिल्लो समय उहाँसंग असन्तुष्ट रहेको समाचार सार्वजनिक भएको थियो ।

खरेलले भने बाहिर चर्चा गरेजस्तो प्रधानमन्त्री र आफ्नो वीचमा असमझदारी नरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीसंगको सल्लाहमै राजीनामा दिएको पनि जानकारी गराउनुभयो । आफूले जमेर सरकारको प्रतिरक्षा गरेको र प्रधानमन्त्रीबाट धन्यवाद पाएको उहाँको भनाइ छ । ‘सरकारको प्रतिरक्षा गर्न सकेन भन्ने कुरा सत्य होइन । जमेर सरकारको प्रतिरक्षा गरेका थियौं । अदालतको फैसला एउटा आयो,त्यो हामीले मान्छौँ । तर,हाम्रो डिफेन्स कानूनसम्मत, संविधानसम्मत र तर्कसम्मत नै थियो । प्रधानमन्त्रीले धन्यवाद दिनुभएको थियो’, उहाँले भन्नुभयो ।

कतिपयले भने महान्यायाधिवक्ता हुँदाहुँदै प्रधानमन्त्रीले कानुन विज्ञका रुपमा बाबुराम दाहाललाई नियुक्त गरेपछि खरेल असन्तुष्ट रहेको र संसद विघटनको मुद्धासम्म आइपुग्दा असन्तुष्टि उत्कर्षमा पुगेको बताएका छन् । संसद विघटनको मुद्धामा सरकारको विपक्षमा सर्वोच्चले फैसला गरेपछि खरेल राजीनामाका लागि उपयुक्त मौकाको पर्खाइमा रहेको त्यतिबेलै चर्चा थियो ।

टिप्पणीहरू