वामदेवको हातमा किसानको कमाण्ड

वामदेवको हातमा किसानको कमाण्ड

नेकपा नेता वामदेव गौतम अध्यक्ष रहनुभएको किसान महासंघको कार्यसम्पादन समिति बैठक सकिएको छ ।

गौतमको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि तोकेका अध्यक्ष प्रेम दंगालको भने अनुपस्थिति रहेको बताइन्छ । महासंघ पदाधिकारीहरुका अनुसार आजको बैठक अनौपचारिक भएकाले अर्को पूर्ण बैठकमा सबैलाई बोलाइने छ ।

आज बिहान ८ बजे सिद्धार्थ कटेजमा बोलाइएको बैठकले पुरानै बैंक खाता सञ्चालन गर्ने निर्णय गरेको छ । महासचिव, कोषाध्यक्ष र कार्यालय सचिवको नाममा संयुक्त खाता सञ्चालन गर्ने निर्णयसँगै कार्यालय सचिवमा पुरानै डीबी कार्कीलाई जिम्मेवारी दिइएको छ । अर्को बैठकको तयारी गर्दै एकीकृत संगठनलाई अघि बढाउन सबै किसान नेतालाई गोलबन्द गर्ने निर्णयसमेत आजको बैठकले गरेको बताइएको छ ।

पार्टीको विवाद बढ्दै गएपछि महासंघका महासचिव बलराम बाँस्कोटा,सहसचिव केशवलाल श्रेष्ठ,उपाध्यक्ष पाँचजनामध्ये हरि पराजुली र बलदेव चौधरीलगायत कार्यसमितिको १९ जनामध्ये १५ जना गौतमतर्फ हुनुहुन्छ भने ओलीतर्फ ४ जना देखिनुभएको छ ।

ओली समूहले केही समयअघि प्रेम दंगालको नाममा नयाँ किसान संघ खोलेर थापागाउँमा कार्यालय स्थापना गरेको हो ।

यता,किसान महासंघ भने गौतमको नाममा दर्ता छ । उहाँ कहिल्यै जिम्मेवारीबाट नहट्नुभएको बताइन्छ । बालुवाटार समूहले दंगालको नाममा गठन गरेको संघकोतर्फबाट गौतमलगायत कसैलाई पनि कार्यक्रममा आमन्त्रण गरेको छैन ।

टिप्पणीहरू