प्रधानमन्त्रीले लाज छोपे : भुसाल

प्रधानमन्त्रीले लाज छोपे : भुसाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइको धाक दिएर आफ्नो लाज छोपेको टिप्पणी गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भुसालले विद्यमान निर्वाचन प्रणालीले एउटै दलको बहुमतसमेत आउने सम्भावना नरहेको भन्दै प्रधानमन्त्रीले दुई तिहाईको धाक दिएर लाज छोपेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशले, हाम्रो संविधानले व्यवस्था गरेको निर्वाचन प्रणालीवारे तपाईंले सोच्नुभएको छ,तपाईंले जनतालाई भ्रम दिनुभाछ,कि ढाँट्नु भाछ,कि आफैँ भ्रममा हुनुहुन्छ र मूर्खता गर्नुभाछ ? हाम्रो जस्तो निर्वाचन प्रणाली जहाँ ६० प्रतिशत प्रत्यक्ष निर्वाचित छ । ४० प्रतिशत समानुपातिक छ । जहाँ समाजका सबै जाति,वर्ग, लिङ्ग, समुदाय आउनुभाछ । संविधानले व्यवस्था गरेअनुरुप हाउसको जुन बनावट छ । यस्तो निर्वाचन प्रणालीमा बहुमत पनि यदाकदा आउँदैन । दुई तिहाइको धाक दिएर आफ्नो लाज छोप्ने दुस्साहस नगर्नुस् । मेरो अपिल छ ।’

उहाँले प्रधानमन्त्री ओलीसँग नैतिकता भए राजीनामा दिन चुनौती पनि दिनुभयो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि पनि प्रधानमन्त्री जितेको जस्तो गर्दै हिँडेको उहाँको भनाई छ । उहाँले जिम्मेवारी नलिने,आत्मसमीक्षा नगर्ने शैलीकै कारण राजनीति बद्नाम भएको बताउनुभयो ।

सरकारले संसद नभएको बेला संवैधानिक निकायका पदाधिकारीको नियुक्ति गरेको भन्दै भुसालले उक्त निर्णय पुनर्विचार गर्न पनि माग गर्नुभयो । संसदीय सुनुवाईलाई छलेर प्राविधिक रुपमा तिथिमिति मिलाई नियुक्ति गरिएकाले संवैधानिक नियुक्तिलाई संविधानसम्मत् बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘पार्टीको स्थायी समितिमा लेखेको मसी नसुक्दै झूठो तरिकाले त्यही अध्यादेशअनुसार संवैधानिक परिषदहरुमा असंवैधानिक तरिकाले नियुक्त गरेको कुरा पनि बाहिर आयो । र, अहिले पनि संवैधानिक निकायहरुमा असंवैधानिक तरिकाले नियुक्त गरेका मान्छे पठाइएको छ । अब यो संसद पुनर्स्थापना भएको छ । हामीले एउटा ढंगले त्यसको पुनर्विचार गर्नैपर्छ । हामीले त्यसलाई संविधानसम्मत् बनाउनै पर्छ । संसदको सुनुवाइ गर्ने परम्परालाई छलेर केवल प्राविधिक तिथिमिति गरेर, ढाँटेर, जुन ढंगले गरिएको छ । त्यो पनि म यहाँ स्मरण गराउन चाहन्छु ।’

सरकारले संसद चलाउनका लागि एजेण्डा दिन नसकेको तर बाहिर सभामुखलाई गाली गर्दै हिँडेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

टिप्पणीहरू