संसदमा एमाले, माओवादी मिलनको शुभकामना

संसदमा एमाले, माओवादी मिलनको शुभकामना

कसैको स्वार्थपूर्ति गरेर सत्तामा पुग्नको लागि पार्टी विभाजन नहुने जनता समाजवादी पार्टीका सांसद तथा पूर्व सञ्चार मन्त्री राजकिशोर यादवले बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै यादवले संविधान संशोधन र रेशम चौधरीको रिहाइ भए सरकारमा आउने प्रस्ताव गरिएको बताउँदै यो विषयलाई सरकारमा लेनदेनको विषय बनाउन नहुने बताउनुभयो ।

थरुहट आन्दोलनका सबै आन्दोलनकारीलाई राजबन्दीसरहको व्यवहार हुनुपर्ने र राजनीतिक समस्याको रुपमा लिएर समस्या समाधान गरिनुपर्ने उहँको माग थियो ।

उहाँले भन्नुभयो ‘हामीले संविधान संशोधनका कुरा गर्दा तपार्इंहरु सरकारमा आइदिनु प¥यो भनिन्छ । हामीले रेशम चौधरीको कुरा गर्दा सरकारको लेनदेनको विषय बनाउँछन् । मलाइ लाग्छ, रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुँदैन । त्यसलाई शर्तको रुपमा बुझ्नु हुँदैन । नत्र त्यो राजनीतिक बेइमानी हुन्छ ।

त्यो राष्ट्रिय समस्या हो,उसलाई राजबन्दीसरह व्यवहार गर्नुपर्छ जसरी सिके राउतसँग व्यवहार भयो । जसरी नेत्रविक्रम चन्दसँग व्यवहार भयो । त्यसैगरी थरुहट आन्दोलनमा भएका सम्पूर्ण आन्दोलनकारीहरुसँग राजबन्दीसरह व्यवहार गर्नुपर्यो । राजनीतिक समस्या जसरी समाधान हुन्छ त्यसरी नै समाधान गर्नुपर्छ । त्यसलाई सरकारमा आउने जाने,सरकारको लेनदेनको विषय बनाइनु हुँदैन ।’

सांसद यादवले जसपा फुटको हल्ला मिडियामा आएको भन्दै कुनै लोभ लालचमा नफस्ने र पार्टीलाई नफुटाई सही समयमा सही निर्णय लिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सहमतिको राजनीतिलाई अगाडि बढाउनुस्, हाम्रो दल त्यसको लागि तयार छ । हाम्रो बारेमा मिडियामा जसरी कुरा आको छ कि जनता समाजवादी पार्टी अहिले निर्णायक छ ।

जनता समाजवादी पार्टी एकढिक्का छ । र, कसैको कारणले हामी फुट्नेवाला छैनौँ । हामी कुनै लोभ, लालचमा फस्नेवाला छैनौँ । हामी विवेकपूर्ण,देशको हितमा यो मुलुकलाई अगाडि बढाउनको लागि सही समयमा सही निर्णय लिन्छौँ ।’

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले नेकपाभित्रको विग्रह र फुटको कारण संसदमा अस्थिरता आएको भन्दै यसलाई नियन्त्रण गर्न नसके प्रतिगामी शक्तिको चलखेल हुने बताउनुभयो । यसबाट लोकतन्त्र,गणतन्त्र, राष्ट्रियता,धर्मनिरपेक्षता, जनजीवनमा क्षति हुने भएकाले सबैको ध्यान जानुपर्ने उहाँको भनाई थियो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरणले मात्रै वर्तमान अस्थिरतालाई चिर्नसक्ने बताउँदै प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ जटिलतालाई चिर्नको निम्ति फेरि पनि अझै गम्भिर हुन जरुरी छ । अहिले देशमा जुन जटिलता र अस्थिरताको वातावरण निर्माण भएको छ ।

त्यसको समाधान पुनः सर्वोच्च अदालतको फैसलाअनुसार बेग्लाबेग्लै रुपमा अस्तित्वमा आएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता नै हो भन्ने हाम्रो निष्कर्ष छ ।’

टिप्पणीहरू