‘वेदानन्द प्रवृत्तिको पुनरावृत्ति’
– मनोजकुमार कर्ण
ओली सरकारले गत फागुन ७ गते शुक्रबार ४ दिनपछि नै सर्वोच्चबाट प्रदेश २ का प्रमुख तिलक परियारलाई अपमानपूर्वक बर्खास्त गरी डा. राजेश झा ‘अहिराज’लाई नयाँ गभर्नर नियुक्त गर्यो ।
राजेश अहिराजसँग मेरो परिचय धेरै नभए पनि कम्तीमा १४÷१५ वर्षदेखि उनको ‘मधेशवाणी’ साप्ताहिकमा मेरा लेखहरू छापिइरहेको छ । भर्खर दोस्रो जनआन्दोलन ०६२÷६३ सकिएको बेला मेरो पुरानो ढाकाटोपी भएको फोेटो लेखसँग छाप्न पठाउँदा उनले मलाई ‘राजावादी र दरबारियाजस्तो देखिने यस्तो फोटो तत्काल चेन्ज गर्नुस् सर, अब दरबारको गुलामी गर्ने वा डराउने दिन गइसक्यो’ भनी शान्तिनगरको कार्यालयमा भनेको झल्झली सम्झन्छु । मैले सोही बेला उहाँको नौलो टाइटल देखेर सोधेको थिएँ, यो ‘अहिराज’ भनेको कुन जात हो ? र, जवाफले मलाई झण्डै मूच्र्छित पारिदियो ‘सर ! मधेशमा हामी ब्राह्मण अल्पसंख्यक छौं र झा टाइटलले गर्दा त्यहाँका यादव र अन्य जातले मेरो खुट्टा तान्नेछन् तसर्थ अहिराज टाइटल नामसँगैै जोडिदिँदा सबै यादवहरूले मलाई पनि यादव सम्झेर पूर्ण सहयोग गर्नेछन् र जबसम्म पचपनियाँ जात उनीहरूले मेरो यथार्थ बुझ्नेछन्, तबसम्म मैले धेरै प्रगति गरिसकेको हुनेछु !’ उनले यसो भनेका थिए । राम, राम आफू कहिल्यै यस्तो बाठो भइएन ! अहिराजले मलाई प्रतिलेख एक हजार दिनेछु भने तर आजसम्म छापिएका लेख कम्तीमा १०० बढी होलान्, त्यसबापत फुटेको कौडी पनि पाइनँ । जनआस्थाले भने आपत पर्दा स–सम्मान मद्दत गरेको हो ।
राजेशजीले मधेशवाणी पत्रिकामार्फत मधेशका लगभग सबै पार्टी तथा नेताहरूलाई आवाज राख्ने एउटा प्लेटफर्म दिएकै हुन् । उनको मिशन संघीय लोकतान्त्रिक गणतन्त्रको प्रबद्र्धन थियो । यी सबैका बीच यो पनि सत्य हो कि पाँच–सात वर्षयता राजावादी पत्रिकाहरूले उनको अनपेक्षित रूपमा निकै प्रशंसा गरे । उदाहरणका लागि सञ्चारमन्त्री जेपी गुप्ता र राजकिशोर यादवको कालमा हिन्दू साप्ताहिकले ‘मधेशवादमा पिएचडी गरेका अति तेज दिमागवाला… राजेश अहिराजजस्तो विद्वान्लाई प्रेस काउन्सिलको अध्यक्ष बनाउँदा धेरै राम्रो हुन्थ्यो’ भनेर समाचार बनायो भने रहस्य÷गोरखा एक्सप्रेसहरूमा पनि यस्तै आशयको समाचार आयो तर उनलाई ‘राम्ररी चिन्ने’ मौका भने तब मैले पाएँ, जब केही महिनाअघि दिव्य चक्षु साप्ताहिकले चिना–कुण्डलीसहित ‘विद्वान् डा. झाको यस्तै श्री ५ महाराजाधिराज, दरबार र देशप्रति समर्पण रहिरह्यो भने राजसंस्था पुनःस्थापना हुनेबित्तिकै मन्त्री, राजदूतको पद पाउने ग्रहले देखाउँछ’ जस्तो समाचार बनायो ।
कसैकोबारे राजावादी वा कांग्रेस वा वामपन्थी पत्रिकामा समाचार आउनेबित्तिकै ऊ सोही राजनीतिक धारको हो भन्ने अनुमान लगाउनु मूर्खता हो तर लगातार एउटै धारका पत्रिकाले ‘श्री ५ मौसुफ सरकारको सेवा’मा समर्पित भई समाचार बनाउन थाल्दा अझ निज पात्र कुन धारको मान्छे हो नबुझ्नु दिमागी निकृष्टता नै होला । मधेशवादी नेताले पद पाइएन भन्दैमा मधेशवाणीको आवाजलाई ओलीवाणीको आवाजमार्फत राजावाणीमा ठोक्काई जनतालाई गुमराहमा पार्नु, त्यो पनि वकालत र विद्यावारिधि सकेर ! एकप्रकारको राजनीतिक तथा बौद्धिक अपराध र अराजकतावाद नै हो ।
के प्रदेश प्रमुख भनेको पञ्चायतकालको अञ्चलाधीश पद हो, केन्द्र सरकारको हुकुमलाई तामेली गर्ने ? अहिराजको यो पदलिप्साले विगतमा मधेशको मुद्दा उठाउन तराई कांग्रेस खोलेका वेदानन्द झाले पछि एउटा राजदूत पदको लागि सबैथोक सकाइदिएको दुःखद अवसरवादी निन्दनीय चरित्रलाई स्मरण गराउँदैन ? संघीयता र मधेशी–थारूको हकको लागि सहादत प्राप्त गर्ने शहीदहरूको लक्ष्य राजेश अहिराज भन्ने मधेशी बाठो ब्राह्मणलाई प्रदेश प्रमुखको पद दिलाउनु थियो ?
(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका)
टिप्पणीहरू