गुटबन्दी बालुवाटारबाटै शुरु,युवा भेला ११ बजे

गुटबन्दी बालुवाटारबाटै शुरु,युवा भेला ११ बजे

नेकपा (एमाले) को युवा संघ नेपालको राष्ट्रिय भेला वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा अहिले बिहान हुँदैछ । राष्ट्रिय सभा गृह,भृकुटी मण्डपमा हुन लागेको भेलालाई बालुवाटारले गुट भेलाको संज्ञा दिएको छ ।

तर, गुटको भेला बालुुवाटारबाट शुरु गरिएको एमालेको अर्को पक्षको दाबी छ । ‘अघिल्लो शनिबार भृकुटीमण्डपमा एमाले निकट महिलाहरूको एक हजारको पहिलो भेला गर्ने को थियो ? त्यो पार्टीको कहिलेको निर्णयबाट आयोजना गरिएको थियो ?’ भन्दै नेपाल–खनाल समूहले प्रश्न गरेको छ ।

त्यहि भेलाबाट कुर्लि कुर्लि ७ गते केन्द्रीय समितिको बैठक बोलाएको छु,कान खोलेर सुन्न आग्रह गर्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो । ‘यहिँबाट निम्तो छ,अन्यथा, विधि विधान र नियमको प्रसंग उठाएर कारबाहीको चेतावनी’ पनि त्यहि गुटको भेलाबाट दिइएको थियो ।

प्रधानमन्त्रीले नेकपाको अध्यक्ष छँदै पार्टीभित्र अल्पमतमा परेपछि जनवर्गीय संगठनलाई आफू अनुकूल बनाउन विभिन्न पहल गर्नुभएको थियो । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि उहाँले छुट्टै किसान संघ खोल्नुभएको थियो । युवा संघ,विद्यार्थी संगठन, पेशागत बुद्धिजीवी सबैतिर आफ्नो समूहको छुट्टै बनाएको सन्दर्भलाई बालुवाटारले गुट ठानेको छैन ।

पार्टीका पदाधिकारीझैँ निर्वाचित जनवर्गीय संगठनको औचित्यलाई निमिट्यान्न पारेर यसबीच गरिएका पुनगर्ठन वा नयाँ संगठनको उपस्थिति कसले गर्यो भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षका एकपक्षीय निर्णय र व्यवहारले आफूहरूलाई बाध्य बनाएको भन्दै नेपाल तथा खनाल समूहले आज युवा संघको राष्ट्रिय भेला बोलाएको बताएको छ ।

टिप्पणीहरू