पुरस्कार किन रोकियो मन्त्रीज्यू ?
सरकारले सात महिनाअघि नै पुरस्कृत घोषणा गरेपनि हालसम्म पुरस्कार प्रदान नगरिनुको कारण थाहा पाउँदा घोषितहरुको भावनामा कति चोट पुगेको होला ? तर यति लामो समयसम्म न सरकारलाई चासो छ, न जिम्मेवारी लिएका अधिकारीहरुलाई नै । सन्दर्भ हो, मानव बेचबिखनविरुद्ध दिवस मनाउँदै गर्दा गत भदौ २० गते महिला,बालबालिका तथा समाज कल्याण मन्त्रालयले घोषणा गरेको तर हालसम्म अलपत्र परेको दुई जना पत्रकारको पुरस्कार र सम्मान ।
यति गम्भीर बिषय र असुरक्षा हुने सन्दर्भमा कलम चलाउने पत्रकारलाई हतोत्साही गराएपछि आगामी दिनमा यतातिर को अग्रसर हुने ?
त्यतिबेला महिला मन्त्री हुनुहुन्थ्यो अहिलेका सञ्चारमन्त्री पार्वत गुरुङ । त्यो दिन गुरुङको मन्त्रालयले मानव बेचबिखनविरुद्धको कार्यमा सक्रिय पत्रकार, एनजीओ र सुरक्षाकर्मीहरुलाई पुरस्कार वितरण गर्ने भनेर सार्वजनिक गरेको सूचीमा दुई जना महिला पत्रकारको नामसमेत थियो । भदौ २० गतेको उक्त घोषणा आजसम्म कार्यान्वयन नभएपछि पुरस्कृत भनिएका पत्रकारले असहज महसुस गरेको बताइन्छ ।
यसबीच महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले त्यसबारे छलफल हुँदैछ भनेपनि त्यसअघिका सचिवले ‘वितरण गर्ने कुरा छ’ भनेका थिए । उनले पुरस्कृतको रकम खातामा पठाउने र प्रमाणपत्र हुलाकबाट पठाउनेबारे छलफल भइरहेको समेत बताएका थिए । पुरस्कार राशी १० हजार रुपैयाँ र सम्मानपत्र रहेको त्यतिबेलै जानकारी गराइएको थियो ।
‘नौ दिनमा नौलो वीस दिनमा बिर्स्यो’ भनेजस्तै मन्त्रालय भने कतिजनालाई पुरस्कृत गरिएको भन्नेबारे नै अन्योलमा देखिएको छ । दुई जना पत्रकारलाई पुरस्कृत गर्ने भनिएकोमा मन्त्रालयको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाकी महिला विकास अधिकृत विश्वमाया न्यौपानेलेआफूलाई एकजनाको बारेमा मात्र जानकारी भएको बताइन् । ‘एक जना स्मिता निरौलाको सिफारिस भएर आएको हो । अर्को मलाई थाहा छैन । निरौलाको पुरस्कार रकम उहाँको खातामा पठाइसकेका छौं’, उनले भनिन्, ‘एउटा कार्यक्रम बनाएर उहाँलाई सम्मान गर्ने तयारी भैरहेको छ ।’
निरौलाले भने अहिलेसम्म रकम प्राप्त नभएको बताइन् । ‘केही समयअघि मन्त्रालय पुगेको थिएँ । उहाँहरुले प्यान नम्बर खोज्नु भएको थियो । मैले मेरो प्रकाशन संस्थाको नम्बर दिएको थिएँ । पैसा जम्मा गरेर खबर गर्छौँ भनेका थिए तर अहिलेसम्म फोन गर्नुभएको छैन । पैसा पनि आएको छैन ।’ निरौलाले दुई जनाकै नाम सिफारिस भएको सुनेको तर अर्को पत्रकार आफूले नचिन्ने बताइन् ।
टिप्पणीहरू