एमाले भेलामा जे देखियो, जे सुनियो !
– कौशल चेम्जोङ्ग
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ठूलो छाती नदेखाई गुटको मात्र नेता बन्न खोजेपछि कार्यकर्ताहरू निकै दुःखित अनि आक्रोशित भएको देखिए । अस्तिको सानेपा भेलामा सहभागीहरु भन्दै थिए, ‘पेलानको पनि हद हुन्छ ! सबैले नेता मानेकै थिएम् । आफू पार्टी विधान विपरीत काम गर्ने अनि दोषचाँहि अरूलाई थोपर्ने !’ त्यसैले उनीहरूले भने, ‘लौ ईश्वर कमरेड, कारबाही गर !’
भेलामा आयोजकले सोचेभन्दा दुई गुणा बढी उपस्थित भएपछि बस्ने ठाउँको अभाव देखिन्थ्यो । सहभागीहरु आफूलाई मन पर्ने नेता र आफ्नो समूहसँगै बसेर फोटो खिच्न आतुर देखिन्थे । सहभागीहरु फोटो डिस्प्लेमा राखिएको कम्युनिष्ट नेता रोजा लक्जेम्बर्गको बारेमा सोधखोज गर्दै फोटो सुटमा मख्ख परेका पनि भेटिए । डिस्प्लेमा राखिएको पुष्पलाल,मनमोहन र मदन भण्डारीको फोटोसँगै सेल्फी र फोटो खिच्नेहरूले घरिघरि ठट्यौली गरेको सुनिन्थ्यो, ‘एमालेको कार्यकर्ता भेलामा किन गईस् भन्दै कारबाही गर्लान् नि !’ उनीहरू भन्थे, ‘फेसबुकमा पोस्टाएको फोटो देखाउँदै प्रमाण छ भनेर उफ्रेलान् नि !’
कोही कोही माधव नेपाललाई साह्रै सोझा र हुस्सु नेता रहेछन् भन्दै थिए । उनीहरूले भने, ‘दसौं र एघारौं बैठक त माधव कमरेडबारे थाहै पो भएन छ । माओवादी केन्द्रसँग एकता गर्दा र एकताको शर्तबारे थाह नपाए जस्तै बैठकबारे चाल नै पाएनछन् ।’ भेलाका सहभागी भन्दै थिए, ‘सत्तामा हुँदाहुँदै त अध्यक्ष ओली कमरेडका गलत निर्णयको बिरोेधमा यतिका धेरै कार्यकर्ता देखिए । अरूले होइन, ओली कमरेडका छेपारे हनुमान र सही सल्लाह दिन नसक्ने हुतिहाराले गर्दा ओली कमरेडलाई कलङ्कित बनाए ।’
धेरैको भनाइ सुनियो, ‘हामी एमाले हौं, एमाले नै रहनुपर्छ । अन्यसँग एकता होइन मोर्चा बनाएर अघि बढ्नुपर्छ ।’ कतिपय सहभागीले कार्यक्रम डिस्प्लेमा देखे तर कहाँ भइरहेको छ भन्ने चाल नपाएको पनि देखियो ।
सहभागीमध्ये धेरैले समूहमा आफ्ना कुराहरू राख्दा मन हलुको भएको भन्दै अधिवेशनको झल्को आएको अनुभव सुनाए । कतिपयले भने, ‘अब ओली कमरेडले भन्नेछन्, डेटएक्स्पाएर भएका पुराना बूडाखाडालाई जम्मा गरेछन्,बूढाखाडाले होइन पार्टी त म जस्तो युवाले चलाउनुपर्छ !’
टिप्पणीहरू