बालुवाटारमा आज जे जे भयो
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको संसदीय दल र केन्द्रीय समिति बैठक बहिष्कार गरेको बरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज उहाँको हातैमा ध्यानाकर्षण पत्र बुझाएको छ । संसदीय दलको बैठक चलिरहेकै बेला नेपाल पक्षका तीन जना सांसदहरु पत्र लिएर बालुवाटार पुगेका थिए।
३८ सांसदको हस्ताक्षरसहितको पत्र लिएर नेपाल पक्षका सांसदहरु सोमप्रसाद पाण्डे,जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार बालुवाटार पुगेका हुन् । दलको बैठकमा ओलीले सम्बोधन गरिरहेकै बेला उनीहरु त्यहाँ पुगेका थिए । एक सांसदका अनुसार अध्यक्ष ओलीलाई बुझाइएको ५ बुँदे ध्यानाकर्षण पत्रमा पार्टीलाई विधिसम्मत ढंगले चलाउन आग्रह गरिएको छ। साथै पार्टीको बैठक सरकारी निवासमा आयोजना गरिएकोप्रति असहमति जनाइएको छ ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2021/03/uml-dalko-signature.pdf” title=”uml dalko signature”]
ती सांसदका अनुसार ओलीले पत्र पढ्न आवश्यक नभएको भन्दै मौखिक कुरा राख्न भन्नुभएको थियो । पत्र बुझेपछि ओलीले सांसदहरु पनि व्यक्तिगत रुपमा स्वतन्त्र हुने भएकाले व्यक्तिगत ढंगले कुरा गर्न आग्रह गर्नुभयो । उहाँले गुट र समूहका कुरा भने नगर्न सचेत गराउनुभएको थियो ।
नेपाल पक्षका सांसदलाई बालुवाटारले प्रभावित पार्न खोजेको चर्चा चलिरहेकै बेला सो पक्षका एक सांसदले आज ओली पक्षमा लाग्ने घोषणा गरेको बताइएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनका सांसद कृष्णभक्त पोखरेल ओली पक्षमा गएको एक सांसदले जानकारी दिए । नेपाल पक्षको आज बिहानको छलफलमा सेमत सहभागी भएका पोख्रेल ओलीली रामबहादुर थापा बादललाई आफ्नो क्षेत्रबाट उठाइदिने आशंकामा त्यता लागेको बताइन्छ । सांसदहरुले पत्र बुझाइरहेकै बेला पोखरेलले आत्मसमर्पणको शैलीमा ‘म आजदेखि मूलधारमा समाहित भएँ’ भन्दै पुगेको उनले बताए।
यता, आजको संसदीय दलको बैठकमा सहभागी हुनुभएका उपाध्यक्ष वामदेव गौतमले केन्द्रीय कमिटी बैठक भने बहिष्कार गर्नुभएको छ । गौतमले आफू एकता अभियानमै रहेकाले केन्द्रीय कमिटी बैठकमा बस्न नमिल्ने जानकारी गराएर निस्कनुभएको बताइएको छ।
टिप्पणीहरू