ओलीपट्टी गएपछि तामाङ्गका तर्क
कहिले कता,कहिले कता हुँदै अहिले बालुवाटारतिर देखिनुभएका पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ एमालेभित्र दुई गुटको चरम विवादमा पनि कार्यकर्ता तहमा भने पार्टी जोडिनुपर्छ,एकताबद्ध हुनुपर्छ भन्ने भावनाले नै घर गरेको बताउनुहुन्छ ।
तर, नेतृत्व तहमा त्यसको ठीक विपरित देखिएकाले पछिल्लो अवस्था कसले खेलेको भन्नेमा आफू अलमलमा परेको तामाङको धारणा छ । उहाँ भन्नुहुन्छ ‘नेताहरू क्रमशः असहिष्णु बन्नुभएको छ । उहाँहरूबीचको सम्बन्ध तिक्त र विषाक्त देखिँदैछ । किन यस्तो भयो ? कार्यकर्ता तहमा भने त्यस्तो छैन ।’
हुन तः कार्यकर्तासँग नेताको पछि लाग्ने बाहेक अरु केही जिम्मेवारी नहुने उहाँको बुझाई छ । माहुरीको घारमा रहेको रानो बाहिर निस्केको बेलामा बाहिर निस्कने र भित्र बसेको बेलामा भित्र पसेझैं पार्टीमा नेता र कार्यकर्ताको भूमिका पनि त्यस्तै रहेको तामाङको बुझाई छ ।
एमालेको विवाद कसरी अघि जान्छ ? भनेर सोधिएको जिज्ञासामा उहाँ भन्नुहुन्छ ‘हामी नेताहरूको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै स्टेप चाल्ने वा असहिष्णु बन्ने कुरा गर्नुभएको छैन । सँधै पार्टी जोगाउनुपर्छ भन्नुहुन्छ ।’
तामाङले त्यसो भनेपनि ओलीका हरेक विवादास्पद कदमलाई विश्लेषण गर्दा त्यसो देखिँदैन । उहँले मुखले जे भनेपनि प्रवृत्ति चाँहि रातभरि सोचेर बिहान उठ्दा मनमा जे लाग्यो त्यहि गर्ने देखिएको छ । तर, आफ्ना निकटस्थहरूसँगको भेटमा उहाँले पार्टी बनाउनुपर्छ, हामी सबैले मिलेर बनाएकाले अब पनि सबै मिलेर बनाउनुपर्ने उल्लेख गर्दै अहिले पार्टीमा संकट देखिएकाले सबै मिलेर समाधान गर्नुपर्ने मीठो धारणा राख्नुहुन्छ ।
त्यसैगरी मञ्चबाट बोल्दा भने प्रधानमन्त्रीले शब्द मिलाएर मिठो गाली गर्ने तर माधवहरूले रुखो र नमिठो शब्द प्रहार गर्ने बालुवाटारनिकटहरूको बुझाइ रहेको तामाङको निश्कर्ष छ । उहाँ भन्नुहुन्छ-नेताहरूको भाषण सुन्दा ‘कसले खेलेको छ थाहा छैन, तर प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।’
उहाँहरूको निचोड केपीलाई अहिले धेरै हिसाबले प्लस भएको र माइनस नभएको अवस्था छ । यस्तो अवस्थामा अर्को पक्षका नेताहरूले अलिकति कुल डाउन भएर सँगै बस्नुको विकल्प नभएको तामाङ पनि स्वीकार्नुहुन्छ । ‘त्यसो गर्ने हो भने सबैलाई राम्रै हुन्थ्यो’ शेरबहादुरको बुझाई हो यो ।
उहाँका अनुसार एमाले,सूर्य चिन्ह र बहुदलीय जनवादको लिगेसी रहिरहँदा ओलीलाई सबैभन्दा राम्रो भएको छ । तर अर्को पक्षले अब फेरि संगठन निर्माण गर्छौं भन्ने हो भने धेरै कठिन हुने सुझाव उहाँको छ । त्यसोगर्दा माधव र झलनाथहरूलाई व्यक्तिगत रुपमा केही फरक पर्दैन भन्दै पूर्वमन्त्री भइसकेका तामाङको बुझाई छ ‘उहाँहरू पार्टी अध्यक्षमहासचिव र प्रधानमन्त्री बनिसक्नुभयो । तर त्यहाँ रहेका दोस्रो पुस्ताका नेताहरू र कार्यकर्तामा ०५४ सालको जस्तै मनोविज्ञान परेमा परिस्थिति सोचेभन्दा फरक हुन सक्छ ।’ कस्तो परिस्थिति ? भनेर सोधेको जिज्ञासामा उहाँले ‘त्यसो हो भने साथीहरूको राजनीतिक जीवन नै खतरामा पर्ने’ भन्नुभयो ।
उहाँले उल्लेख नगरे पनि बालुवाटारतर्फका दोस्रो तहका नेताहरू ईश्वर पोखरेल,प्रदीप ज्ञवाली,सुवास नेम्वाङहरूको हालत पनि अहिलेको अवस्थामाझैँ नदेखिने र सर्वमान्य रहिरहन पनि गाह्रो हुने विश्लेषकहरू बताउँछन् ।
पार्टी अध्यक्ष नै जब्बर भएर हिँडेपछि समस्या समाधानमा सहयोग नपुग्ला नि भन्ने जिज्ञासामा तामाङले लोकतान्त्रिक विधि र पद्धतिमा हिँडेपछि पार्टी हिजोका दिनमा जस्तो नेता र कार्यकर्ताबाट मात्र नबन्ने बताउँदै ‘संसदीय व्यवस्थामा मतदाताले भोट हालेपछि पार्टी बन्ने र त्यो अवस्थामा ओली समूह ढुक्क छ तर अर्को पक्षलाई निकै गाह्रो हुने’ उल्लेख गर्नुभएको छ ।
पार्टीको ऐतिहासिक पक्ष उल्लेख गर्दै उहाँले ०५४ सालमा वामदेव गौतमसँग एक सय एक नेता रहेपनि चुनावमा मतदाताले छनौट नगरेपछि सबै ओझेलमा परेको उदाहरण दिनुभयो । २०५६ सालमा वामदेवतिर लागेका सबै पराजित भएका थिए भने माधव र केपीतिर लाग्नेहरूमध्ये अधिकांशले जितेका थिए । तिनैमध्ये अधिकांश पार्टीको नेतृत्वकारी भूमिकामा पुगेको सन्दर्भमा उहाँले भन्नुभयो ‘जहाँ भएपनि जनताले जिताइदिएमा जोसुकै नेता बन्न सक्छ ।’
फागुन २८ गतेको केन्द्रीय समितिको अवैधानिक बैठक सच्चाउनुपर्ने अर्को पक्षको आवाजको सन्दर्भमा उहाँ अब पनि पार्टी मिल्ने तर नेतृत्वमा दुईधार रहिरहने हो भने समस्या आइरहने भएकाले धारको मनाविज्ञानलाई जीवित राखेमा ढिलोचाँडो लफडा आउने ठोकुवा गर्नुहुन्छ ।
माले छँदाको भूमिगतकालमा सीपी मैनालीलाई महासचिवबाट हटाएदेखि पार्टीमा दुईधार देखिएको हो । पार्टी स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको नामबाट विकसित भएको पार्टी पछि दुईधारमा अघि बढ्यो । त्यस बेलादेखि आएको दुईधार पछि सीपी र मदन भण्डारीबीच देखियो । कालान्तरमा माधव र केपी एकातिर,अर्कोतिर वामेदव देखियो भने पछि माधव र केपी,माधव र झलनाथ अनि माधव,झलनाथ र केपीबीच देखिएको छ । उहाँको ठहर छ ‘पात्र फरक भएपनि प्रवृत्ति त्यहि थियो, हामी सँधै त्यहि दुईधारको प्रवृत्तिबाट आयौं ।’
त्यही दुईधारलाई व्यवस्थापन गर्न मदन भण्डारीले सुझबुझपूर्ण ढंगले जबजको सिद्धान्त ल्याउनुएको उहाँको बुझाई छ । जबजले अलिकति भएपनि पार्टीभित्रको दुईधारलाई जोगाउँदै आएको थियो । तर छैठौं महाधिवेशनमा त्यो जोगिन सकेन । हार्दा र जित्दा समेत एउटै संगठन र कमिटीभित्र बसेर काम गर्ने सिद्धान्तलाई अपनाइयो । महाधिवेशन र अधिवेशनभित्र निर्वाचन पद्धतिलाई स्वीकारेर नेतृत्व चयन गर्न थालियो । त्यो अवस्था बढ्दै गयो । अनि नवौं महाधिवेशनमा गुटगत रुपमा नेतृत्वको सूची नै तयार भयो । त्यतिबेला कार्यकर्ताले त्यसो गर्दा पछिसम्म पार्टीमा तुष रहने भएकाले त्यसो गर्न हुँदैन भनेको सम्झँदै तामाङ भन्नुहुन्छ ‘मनोविज्ञान नेगेटिभ हुन्छ भनेको थिएँ अहिले त्यहि प्रवृत्ति दोहोरियो ।’
अहिलेको अवस्थाले केपीको हकमा खासै बेफाइदा नभएको बालुवाटार निकट नेताहरूको बुझाई छ । उनीहरूका अनुसार ओलीले एमाले मनोविज्ञानमा राजनीति गर्छन् । त्यसैगरी तल्लो तहमा जनता र मतदातासँगै कार्यकर्ता रहेकाले अहिलेको अवस्था तन्केर चुँडिए पनि ओलीलाई घाटा नहुने उनीहरूको ठहर हो । तर, समूहको नाममा पार्टीभित्र राजनीति गर्ने अर्को पक्षका नेताहरूलाई सबैभन्दा धेरै घाटा हुने उनीहरूले बताएका छन् ।
अहिले भइरहेका भेला र समूहको बैठकले पार्टीभित्रको गुट प्रष्ट भएको ओली पक्षीय नेताहरूको आरोप छ । उनीहरूले एउटै धारणा व्यक्त गर्दै भन्ने गरेका छन् ‘पार्टीको बैठकमा अनुपस्थित भएर गरिने भेलाले राम्रो गर्दैन ।’
२८ गतेको बैठकको औचित्य साबित गर्दै तामाङले भन्नुभएको छ ‘माओवादी छाडेर, संसद पद त्यागेर भएपनि एमालेमा आउँछु भन्नेहरूलाई सुरक्षित बनाउनको लागि विधान संशोधन गरेर उनीहरूको नियुक्तिलाई सुरक्षित गरिएको हो । अन्यथा, केही गरिएको होइन । एमालेमा बस्छु भन्नेलाई सुरक्षित गरिएको हो ।’
तर, प्रधानमन्त्रीले त्यहि काम अन्य नेतासँगको सरसल्लाहमा गरेको भए के बिग्रन्थ्यो र ! नेपालपक्षतिर रहेका भनिएका अन्य नेतालाई पनि त्यहि निर्णयको क्रममा समेटेको भए राम्रै हुन्थ्यो । त्यसतर्फ उनीहरूले खासै टिप्पणी गरेका छैनन् ।
बरु उनीहरूले पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा उपाध्यक्ष भीम रावललाई चर्को बोल्न लगाएर अर्को पक्षले बैठक बहिष्कार गरेपछि बालुवाटार बिच्केको बताएका छन् । ‘स्थिति भड्केकै हो,भड्काइएकै हो’ उनीहरूको दाबी हो त्यो । संसदभित्र सत्ताधारी दलका नेता तथा सांसदले प्रधानमन्त्रीको विरुद्ध बोलेर बैठक बहिष्कार गर्नु संसदीय व्यवस्थामा विश्वास गर्नेहरूको निम्ति सबैभन्दा लज्जास्पद कुरो भएकोले बालुवाटार बिच्किएको उनीहरूले बताएका छन् ।
प्रधानमन्त्री ओलीको मुक्तकण्ठले प्रशंसा गर्दै भनेका छन् ‘केपी ओली एक्लै भएपनि वर्षौंदेखि नझुकी उभिँदै आएको व्यक्तित्व भएकाले अर्को पक्षले गरेको गुटबन्दी र भेलालाई मतलब नदिनु स्वाभाविक हो । प्रतिनिधिसभा विघटन पनि उहाँ एक्लैको आँट र एक्लै परेपनि उभिने साहसको परिणाम थियो । उहाँको त्यो मनोविज्ञान बुझेका वरिष्ठ नेताहरूले देखाइदिन्छु, भित्तामा पुर्याइदिन्छु भनेर सार्वजनिक रुपमा बोलेपछि प्रधानमन्त्रीलाई पनि हेरौं न त भन्ने लागेको होला । त्यसैले अहिलेको अवस्था देखिएको हो ।’
के अब समस्या यसैगरी अघि बढ्छ भनेर सोधिएको सन्दर्भमा शेरबहादुरको निचोड थियो ‘आलोचना र आत्मआलोचना गरेर अघि बढ्ने हो भने समस्या समाधान हुनसक्छ । तर, हिजो प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव तथा महाभियोग लगाउने चर्चा चलाइयो । त्यो संस्था रहँदा अविश्वास प्रस्ताव र महाभियोगको तरबार सँधै झुण्डिरहने, नेताहरू पार्टीभित्र उग्र विरोधमा देखिएपछि उहाँ (प्रधानमन्त्री) लाई पछिल्लो निर्णय लिन बाध्य पारेको हो ।’
पार्टीको अवस्था ०५४ सालमा जस्तै भएकाले त्यो मनोविज्ञानले सबैलाई सिध्याउने अवस्था देखिएकाले सबैले ठण्डा दिमागले सोच्नुपर्ने बताइन्छ । तामाङले केपी ओलीको मनोविज्ञानसँग टक्कर लिन थालेमा समस्या झन् बढ्ने भएकाले उहाँको मनोविज्ञानलाई स्वीकारेर अघि बढेमा नेताहरू सबैको कल्याण हुने रोडम्याप बताउनु भएको छ । ‘टक्कर लिन्छु, सिध्याउँछु भनियो भने बाटोमै ठेस लाग्ला भनेर प्रधानमन्त्रीले नै सिध्याउने चेतावनी दिइ सक्नुभएको छ ।’
केपी ओली नै एमालेको अध्यक्ष भएकाले उहाँले बोलाएको सबै बैठक आधिकारिक हुने तर पार्टीको औपचारिक निर्णय बेगर गरिने अन्य भेला बैठक अनाधिकृत हुने पूर्वकानुन मन्त्रीको ठोकुवा छ । उहाँका अनुसार माधव र झलनाथले मुलुक, जनता, पार्टी र कार्यकर्ताको हितलाई ध्यानमा राखेर भन्दै मीठो शब्दकासाथ पार्टीलाई अझ मजबुत बनाएर अघि बढ्छौं भन्ने वक्तव्य जारी गर्ने हो भने यतिखेर कार्यकर्ताहरूले उहाँहरूको जय जयकार गर्नेछन् । त्यसको सन्देश पनि भिन्न हुने उहाँ बताउनुहुन्छ ।
टिप्पणीहरू