कृष्णज्वालामाथि किन खनिए साइबर सेना ?

कृष्णज्वालामाथि किन खनिए साइबर सेना ?

‘एउटाले बिराउने, शाखा पिराउने’ भनेजस्तो पछिल्लो समय एक जना सम्पादक ‘साइबर सेना’ को शिकार बनेका छन् ।

हो, नयाँ पत्रिका दैनिकका कार्यकारी निर्देशक सुशील थापा विभिन्न व्यवसायिक गतिविधिमा संलग्न छन्, उनी व्यापारी नै हुन् । व्यापारका दौरान गैरकानुनी वा अनुचित काम गरे होलान् । तर, उनको कसुरको भागिदार उनलाई चिन्नेजान्ने वा फरक सन्दर्भमा जोडिएका सबै मानिस हुनुपर्ने जरुरी थिएन । तर, केपी ओली सरकारले असंवैधानिक रुपमा संसद विघटन गरेपछि त्यसविरुद्ध खरो उत्रिएको नाममा नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटामाथि ‘साइबर सेना’ खनियो, सुशीलको प्रसंगसँग जोडेर । जबकि कृष्णज्वाला सुशीलको ती कारोबारका साझेदार हैनन् ।

सुशीलहरुले सञ्चालन गरेको जिमी ग्रुपले सेनाको राशन ठेक्कामा घोटाला गरेको भनी अदालतमा मुद्दा परेको सत्य हो । सुशीलसहितका कम्पनी साझेदारविरुद्ध राजस्व अनुसन्धान विभागले असार २४ गते १८ करोड ३३ लाख २२ हजार सात सय ९६ रुपैयाँ कर अपचलनको मुद्दा दर्ता गरेको छ । उक्त समूहले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली भ्याट बिल खरिद गरेर मूल्य भ्याट र आयकर समेतको राजस्व चुहावट गरेको राजस्व अनुसन्धानको दावी छ । ६०३५७१०४८ प्यान नम्बर भएको उक्त समूहले भ्याटतर्फ ५ करोड ९७ लाख ९९ हजार ८ सय २५, आयकरमा १० करोड ७९ लाख १९ हजार १ सय १५ र लाभांश करमा १५ करोड ६० लाख ३८ हजार ५६ रुपैयाँ राजस्व चुहावट गरेको राजस्व अनुसन्धानद्वारा पेश गरिएको मुद्दामा उल्लेख छ । तर, त्यसमा न साझेदारका रुपमा, न अरु कुनै नाममा कृष्णज्वालाको प्रसंग छैन । नेपालमा मिडिया हाउस चलाएर कागजका नाममा इलेक्ट्रोनिक डिभाइसको तस्करी हुने गरेको समाचार पुरानो हो । अरु व्यापार गर्न सञ्चार गृह खडा गर्ने, सञ्चार गृहले पाउने सुविधालाई अरु व्यापार चलाउनका लागि उपयोग गर्नेजस्ता काम हुँदै आएको छ । त्यस्ता काम गर्नेले सरकार वा सत्ताको सेवा गर्ने नै भए । र, तिनीहरु ‘साइबर सेना’ को निशानामा परेनन् । तर, श्रमजीवी पृष्ठभूमिबाट विकास भएर नयाँ पत्रिकाको आर्थिक स्वामीत्वसहित सम्पादकको जिम्मेवारी सम्हालेका कृष्णज्वालाचाहिँ अहिले तस्करहरुसँग जोडिएर बजारमा बद्नाम पार्न खोजिएका छन् ।

– शेखर बस्नेत

टिप्पणीहरू