विष्णु मिलाऊँ भन्ने, ईश्वर कहाँ मिल्छ भन्ने

विष्णु मिलाऊँ भन्ने, ईश्वर कहाँ मिल्छ भन्ने

सोमबारको धुम्बाराही ः विभाजित भइरहेको एमाले मिल्छ होला भनेर देशभरका कार्यकर्ता हर्षित भए । तर, ‘मिल्न हैन, अल्मल्याउन प्रहसन रचियो’ भन्ने निश्कर्ष छ, झलनाथ–माधव समूहको ।

नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर अविश्वास प्रस्ताव आउने र त्यसपछिको सरकार पनि त्यही गठबन्धनबाट निर्माण हुने सूचनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार साँझबाटै आतंकित बनाएको थियो । र, आइतबार रातको पौने ९ बजे उहाँले वरिष्ठ नेता माधव नेपाललाई फोन गर्नुभयो । त्यसबेला माधव ४ र ५ को राष्ट्रिय भेलाको विषयमा केही सहकर्मीसँग कुराकानी सकेर विश्रामको तयारीमा हुनुहुन्थ्यो । त्यहीबेला ‘नो नम्बर’ बाट फोन आयो । उठाउनुभयो । फोन रिसिभ हुनासाथ ‘हलो–हाई’ नभनी एकैचोटि स्वर गुञ्जियो, ‘भेटौँ न !’ माधवले केपीको स्वर चिनिहाल्नुभयो र जवाफ पनि दिइहाल्नुभयो, ‘हुन्छ !’ केपीले ‘बालुवाटार आउनु न त’ भनी निम्तो गर्नुभयो । अल्छी पाराले बोल्दै गर्नुभएका माधवलाई ‘बालुवाटार’ शब्दले अलिकति उत्तेजित बनायो र भन्नुभयो, ‘त्यहाँ त आउँदिन ! किन आउने ?’ केपीले ‘किन ?’ भनी प्रश्न गर्नुभयो । ‘म बालुवाटारमा तपाईंसँग भेट्न आउँदिन भनेपछि किन, के भनेर नसोध्नु न !’ माधवको यस्तो जवाफपछि केपीले अलिक ठाडो शैलीमा भन्नुभयो, ‘म पनि बाहिर निस्कन मिल्दैन !’ अनि, माधवले कुरा टुंग्याउन खोज्नुभयो, ‘लौ, ठीकै छ त त्यसो भए ! म बालुवाटार नजाने, तपाईं अन्त ननिस्कने भए भैगो…!’ फेरि केपीले नरम शैलीमा भन्नुभयो, ‘हैन, भेट्नु त प¥यो नि ! कुरा गरौँ न !’ माधवले भन्नुभयो, ‘भेट्नैपर्ने हो भने भोलि पार्टी अफिसमा भेटौँ ।’ एकछिन केपी बोल्नबाट रोकिनुभयो र नरम शैलीमै भन्नुभयो, ‘हुन्छ त नि !’ माधवले भन्नुभयो, ‘तपाईंसँग म एक्लै त भेट्दिनँ । एक्लै भेटेर कुरा गर्नुको केही अर्थ छैन । कुरा एउटा हुन्छ, प्रचार अर्को गरिन्छ ।’ त्यसपछि केपीले माधवलाई ‘पाँच जना साथी लिएर आउनुस्, म पनि पाँच जना साथीलाई भन्छु’ भन्नुभयो । र, त्यहीअनुसार सोमबार ११ बजे धुम्बाराहीमा नेताहरु जुटे ।

सहभागी एक नेताका अनुसार, शुरुमा राम्रै कुरा भयो । कुरा हुँदै जाँदा अध्यक्ष र महासचिवबाहेक सम्पूर्ण पदाधिकारी खारेज गर्ने २८ गतेको बैठकको निर्णयबारे माधव पक्षबाट कुरा उठ्यो । कुरा टार्नका लागि केपीले भन्नुभयो, ‘बैठकमा आउनुभएन, त्यसदिन साथीहरुले तपाईंहरु सबैलाई खबर गरेको भन्थे त । जे–जसो भए पनि अब ७ गतेको बैठकमा सबैजना आउनुस् ।’ माधवले प्रतिवाद गर्नुभयो, ‘चारै उपाध्यक्ष, उपमहासचिव, सचिव र वरिष्ठ नेताहरुलाई खबर नहुने, त्यो पनि बैठक हुन्छ ? त्यो गुटको भेलामात्रै हो । त्यसको निर्णय पनि मान्दैनौँ । त्यसको वैधानिकता स्वीकार गर्दैनौँ ।’ केपीले भन्नुभयो, ‘तपाईंहरुले ४ गतेको भेला स्थगित गर्नुस् । ३ गतेको चियापानमा आउनुस् !’ घनश्याम भुषालले भन्नुभयो, ‘२८ गतेको निर्णय फिर्ता नहुने हो भने बाँकी कुराहरु गरिराख्नै परेन । हामीलाई न चिया पिउने रहर छ, न ४ गतेको भेला रोकेर ७ गतेको बैठकमा जाने मन छ ।’ घनश्यामको कुरालाई माधवले टुंग्याउनुभयो, ‘हामी आउँदैनौँ ।’

त्यसपछि २८ गतेको निर्णयबारे फेरि कुरा चल्यो । सच्याउन वा फिर्ता लिन नसकिने भन्दै ईश्वर पोखरेलले जवाफ दिनुभयो, ‘कहाँ हुन्छ अब ? जे भयो–भयो !’ विष्णु पौडेलचाहिँ निकै नरमसाथ पेश भइरहनुभएको थियो । ‘छलफल गरौँ । एउटा निश्कर्षमा पुग्न सकिन्छ’ भनेर विष्णुले कुरा राख्दै गर्दा फेरि ईश्वर कराउनुभयो, ‘कहाँ हुन्छ ?’ खास कुरा रहेछ, साढे दुई वर्षदेखि गुमेको ईश्वरको महासचिव पद सर्वोच्चको फैसलाले फिर्ता गरिदिएको र त्यति नै अवधी चलाइसकेको महासचिवबाट विष्णुले उपमहासचिवमा झर्नुपरेको † विष्णु ‘मिलौँ–मिलाऔँ’ भन्ने, ईश्वर ‘कहाँ हुन्छ’ भन्दै पड्किहाल्ने ! ईश्वर र विष्णुबाट कुरा बिग्रिन थालेपछि सुवास नेम्वाङ भन्दै हुनुहुन्थ्यो, ‘केही उपाय त खोजौँ !’ त्यसो भन्दा फेरि ईश्वर ‘कहाँ हुन्छ’ भन्दै बम्किने ! अनि, केपीले ईश्वरकै कुरामा जोड गर्दै भन्नुभयो, ‘७ गते केन्द्रीय कमिटीको १२ औँ बैठक छ । त्यसमा तपाईंहरु आउनुस् । ३ गते (हिजो) चियापान छ, त्यहाँ पनि आउनुस् ।’ तर, माधवको तर्फबाट घनश्यामले ती सबै कुरा अस्वीकार गर्दै ‘२८ गतेको कुराबाट तपाईंहरु पछाडि नहट्ने हो भने बाँकी सबै कुरा सकियो !’ भनी बिट मार्न खोज्नुभयो । फेरि केन्द्रीय कमिटीको बैठक १२ औँ कसरी भयो भन्नेतिर कुरा गयो । ०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता हुँदासम्म एमालेको ९ औँ बैठक बसेको थियो । त्यसपछिको १० औँ र ११ औँ बैठक कहाँ बस्यो ? को–को बस्यो ? कसरी बस्यो ? भन्ने कुरा निस्कियो । माधवले भन्नुभयो, ‘यो सबै अल्मल्याउने कोशिस हो । हाम्रो भेला र बैठक भाँड्ने योजनाअन्तर्गत यो सब भइरहेको छ । हामी भेला रोक्दैनौँ, चियापान र तपाईंहरुले भनेको अवैधानिक बैठकमा पनि जाँदैनौँ ।’

ल्यापटप चलाउँदै बस्नुभएका विष्णु पौडेलले भन्नुभयो, ‘आजै कुरा मिलेन, बिग्रियो भन्नेतिर नजाऔँ, यस्तो छलफल गर्दै गरौँ !’ तर, उहाँको कुरामा माधव पक्षका नेताले कुनै जवाफ दिएनन्, बाहिरिने क्रम शुरु भयो ।

सोमबारको छलफलमा वरिष्ठ नेता झलनाथ खनाललाई सहभागी नगराइएको बारे माधव नेपालसँग उहाँका निकटस्थले धुम्बाराहीमै प्रश्न गर्दै थिए । ‘पहिला बोलाएको त मलाई मात्रै हो, त्यो पनि बालुवाटारमा । मैले त्यहाँ जान्नँ भनेपछि यहाँ भेटौँ भन्ने भयो । यहाँ पनि म एक्लै भेट्दिन भनेपछि पाँचजना साथीसहित भन्ने कुरा भयो । त्यसैले हामी दुई–दुई जना वरिष्ठ नेता आएर केपीलाई किन भाऊ दिने भनेर ममात्रै आएको । जेएनलाई त केपीले भेटौँ पनि भन्नुभएको होइन । उहाँलाई सञ्चो छैन, दुःख पनि दिएनौँ ।’

टिप्पणीहरू