फौजमा उनलाई फाइदै फाइदा

फौजमा उनलाई फाइदै फाइदा

फौजको जागिरमा कसैलाई सधैंको मस्ती र कसैलाई सधैंको सास्ती हुने पुरानै चलन हो । सधैंको मस्तीमा परेका एकजना एसपी जागिर सिध्याएर घर जानुपर्ने स्थितिबाट मुक्त भएका छन् ।

सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनालको सचिवालयमा कार्यरत एसपी दीपेन्द्र कुँवर हुन् उनी । शेरबहादुर देउवाको ज्वाइँ हुँ भनी अनेकन लाभ लिइसकेका उनी परीक्षामा सधैँ पछाडि पर्थे तर सेनाको स्टाफ कलेजमा सात जनामध्येबाट प्रथम बनाएर तालिम लिन पठाइँदैछ ।

उनी अब त्यहाँबाट फर्किनासाथ एसएसपी हुने र कम्तीमा एआईजीसम्म भएर घर जानेमा पर्ने भएका छन् । डिएसपी हुँदा गड्डा चौकी गुल्ममा बसेर कुस्त कमाएका छन् । त्यसपछि केरुङ नाकाबाट मनग्यै आम्दानी हुने रसुवा गुल्म पनि भ्याए । एसपी हुँदा ६०–६५ जनाको व्याचमा १६ नम्बरका भएर पनि पहिलो लटमा बढुवा पाए । आइजी शैलेन्द्रले दीपेन्द्रसँग आफ्ना भतिज शंकर खनाललाई यसरी फास्टट्रयाक बढुवामा हालेका हुन् ।

दीपेन्द्र एसपी भएलगत्तै आइजी शैलेन्द्रले पर्सास्थित बटालियनमा राखेका थिए, पछि आफ्नो सचिवालयमा ल्याए । चुनावमा भने शेरबहादुरलाई सघाउनका निम्ति उनलाई डडेल्धुरा पठाइयो । अरु अफिसरलाई एक दिन बिदा छाड्ने आदेश नहुँदा उनका निम्ति हप्तौँको बिदा सजिलै मिल्छ ।

टिप्पणीहरू