कति बेला के हुन्छ, अनुमान नगरौं

कति बेला के हुन्छ, अनुमान नगरौं

सीताराम भट्टराई

राजनीतिक विश्लेषकको परिचयप्राप्त एक मित्रलाई केही दिनअघि सोधें, ‘सर्वोच्चको पछिल्लो निर्णयपछि झलनाथ–माधव समूह लतारिएर केपी ओलीकै पछिपछि कुद्नै पर्ने अवस्थामा पुगे । अब के ओलीले सहज रूपमा स्विकार्लान् ?’ उनले उल्टै प्रतिप्रश्न गरे, ‘सन्काहाको कुनै भर हुन्छ ?’ उनले थप स्पष्ट पारे, ‘बाटोमा हिँडिरहेको सन्काहा दगुर्न तम्तयार पोजिसनमा देखिन्छ । हामी भन्छौं ‘अब कुद्छ’ तर त्यो डंगरङ भुइँमा पछारिन्छ । डरले थरथर कामेजस्तो गर्छ, ‘ए डराएछ’ भन्यो तुरुन्तै ढुंगो टिपेर हान्छ र मानिसलाई लखेट्न थाल्छ ।’ उनले बिट मारे, ‘त्यसैले प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले के गर्लान् भन्ने कुरामा माथापच्ची नगरौँ । सनक न हो, जे दिमागमा आयो त्यही गर्छन् ।’

केपी ओली सनकको भरमै यस्ता अनौठा निर्णय गर्दै छन् वा उनका हरेक कदम सुविचारित हुन् ?

नेकपालाई फेरि एमाले र माओवादी केन्द्र बनाउने सर्वोच्च अदालतको फैसलापछिकै ओलीका निर्णय र अभिव्यक्ति मात्र हेर्ने हो भने ती मित्रसँग असहमत हुने ठाउँ छैन । टाङमुनि पुच्छर लुकाएर कुइँकुइँ गर्दै ओलीकै पछि लाग्न माधवकुमार र झलनाथ बाध्य थिए नै तर उनीहरूको त्यो निरीहतासमेत ओलीलाई सैह्य भएन । उनीहरूको लागि ढोका नै बन्द गर्ने निर्णय गरे । जब माधव–झलनाथ समूहले मर्नुभन्दा बौलाउनै निको भन्ने निश्कर्षसाथ समानान्तर संगठन सक्रिय पारे, आफ्ना कार्यकर्ताको छुट्टै भेला बोलाए तब ओलीले माधव र प्रचण्डलाई ‘भेटौं न’ भन्नसमेत पछि परेनन् ।

त्यसैले यो आलेख अहिले उब्जिएको अर्को प्रश्नमा केन्द्रित छ– केपी ओली सनकको भरमै यस्ता अनौठा निर्णय गर्दै छन् वा उनका हरेक कदम सुविचारित हुन् ? ओलीको इतिहासलाई पर्गेल्ने र वर्तमानलाई सूक्ष्म ढंगले नियाल्ने हो भने सपाट जवाफ फेला पर्छ – ओलीका हरेक निर्णय योजनाबद्ध हुन् । अनि यी निर्णय र कदमको अन्तर्यमा नेपाललाई कमजोर पार्ने, नेपालीलाई दासताबाट मुक्त हुन नदिने र आफ्ना केही आसेपासेको लागि सुनको स्वर्ग निर्माण गरिदिएर त्यसैको जगमा अकण्टक शासन गर्ने उद्देश्य छ ।

त्यसबाहेक हालको यो संकटपूर्ण अवस्था र राजनीतिक अस्थिरताका लागि प्रचण्ड र माधवकुमार नेपाल पनि कति दोषी छन् भन्ने विषयको वस्तुपरक विश्लेषणसमेत अहिले उत्तिकै आवश्यक छ । नेपालको स्वाधीनता र नेपालीको भविष्यप्रति प्रचण्ड–माधव कति उदासीन देखिए भन्ने कुरा नस्वीकार्ने हो भने कुनै पनि विश्लेषण एकांकी र आग्रहपूर्ण हुने कुरामा दुईमत छैन ।

सर्वप्रथम केपी ओलीमा केन्द्रित रहेर विमर्श गरौँ । नेपाली राजनीतिका यस्ता पत्र हुन् ओली जो कहिले पनि अग्रगमनको पक्षमा उभिएनन् । युवाकालमा क्रान्तिकारी रोमान्सवादबाट आत्तिने उनी गम्भीर मुद्दा खेप्दै जेल बसे । अहिले त्यो जेल बसाइलाई नै पटक–पटक भजाइरहेका छन् । यसरी आफ्नो जेल जीवनलाई बेचिरहेका छन् कि मानौँ उनी मात्र त्यस्ता नेपाली हुन् जसले १४ वर्ष जेल जीवन भोगेका छन् । तर, उनीसँगै जेल बसेका, त्योभन्दा बढी बन्दी जीवन बिताएका अन्य पात्रबारे कहिले पनि चर्चा गरेको सुनिँदैन । किनकि आफू शासन गर्न योग्य छु भनेर पेश गर्ने प्रमाण पत्र त्यही मात्र हो, चौधवर्षे जेल जीवन ।

ओली जहिलेदेखि नेपाली राजनीतिका एक महत्वपूर्ण पात्रको रूपमा स्थापित भए त्यो मितिदेखि आजसम्म उनले अविच्छिन्न गर्दै आएको एउटा काम हो, दक्षिणको सेवा । त्यसको निरन्तरताको छुट्टै सिलसिला छ ।

नेपाललाई जलविद्युत्को माध्यमबाट एउटा नयाँ उचाइमा पु¥याउने परियोजनाको रूपमा तीन दशकअघि नै अरूण तेस्रो निर्माणलाई अघि बढाउन खोजियो । तर, त्यसमा तत्कालीन एमालेले भाँजो हाल्यो । त्यसको नेतृत्व केपी ओलीले गरेका थिए । वैदेशिक पँुजी भित्रिन तत्कालीन प्रतिपक्ष एमालेले दिएन यहाँसम्म कि विश्व बैंकलाई लगानी नगर्न पत्र लेख्यो । नेपालीहरू त्यसयता दशकौं अन्धकारमा बसे । लोडसेडिङको असह्य पीडा भोगे । तर, अहँ ओलीलाई त्यसले कहिल्यै पिरोलेन । आखिर त्यो महत्वपूर्ण परियोजना भारतको जिम्मा लगाउने ३० वर्ष पुरानो इच्छा आफ्नो बोलवाला भएको बेला पूरा गरेरै छाडे । राष्ट्रघाती महाकाली सन्धिको बेला भारतको सेवामा ओली जुटेको, नग्न रूपमा भारतको पक्षमा उभिएको र आफ्नो स्वार्थको खातिर एमाले नै फुटाएको दृष्टान्त फेरि दोहो¥याइराख्नु जरुरी छैन ।

पछि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने सन्दर्भमा उनको निर्णायक भूमिका आखिर उनी भारतकै आशीर्वाद प्राप्त व्यक्ति भएकै कारण सम्भव भएको तथ्यसमेत यहाँनेर स्मरणीय छ । तर, संविधान घोषणा गरेपछि अस्वाभाविक रूपमा भड्किएको भारत र त्यो बेला प्रधानमन्त्रीको कुर्सी पर्खी बसेका ओलीले प्राप्त गरेको ‘हिरो बाइ चान्स’ को अवसरले उनलाई केही विमुख गराएको देखियो । त्यो बेला आमनेपालीमा समेत एउटा भ्रम निर्माण भयो– ओली त साँच्चिकै राष्ट्रवादी पो रहेछन् । तर, त्यो भ्रम लामो समय रहेन । जब शक्तिशाली प्रधानमन्त्रीका रूपमा पछिल्लोपटक सत्तारोहण गरे ओलीले फेरि स्वामी भक्ति प्रदर्शन गर्न थाले । उनले नेपालीलाई भ्रममै राख्न गरेको चुच्चे नक्साको प्रहसन प्रभावकारी भएन । बरु, ‘र’ प्रमुखसँग गरेको भनिएको गोप्य सहमतिले उनको राष्ट्रवादलाई नराम्ररी खुइल्यायो ।

नेपालमा कम्युनिष्टहरूको नेतृत्वमा सरकार बन्नु भारतको लागि पीडादायी त छँदै थियो । त्यसमाथि चिनियाँले नेपालमै आएर नेकपाका केन्द्रीय सदस्यहरूलाई प्रशिक्षित गरेपछि उता असह्य भयो । प्रचण्ड र माधव नेपाल समूहका नेताहरू चिनियाँ कम्युनिष्टका भक्त बने । त्यो भारतलाई जति मन परेको थिएन स्वयं केपी ओलीलाई पनि त्योभन्दा कम सकस महसुस भएन । त्यसैले उनले प्रचण्ड र माधवलाई चिढ्याउन जे सकिन्छ त्यो गर्न थाले । त्यसो गर्दा मात्र नेपालमा अस्थिरता आउँछ र आफ्ना असली मालिकको इच्छा पूरा हुन्छ भन्ने उनको निश्कर्ष हो ।

त्यसैले अदालतले फेरि एमाले र माओवादी केन्द्रलाई अलग–अलग बनाइदिँदा पनि ओलीको चित्त बुझेको छैन र एमाले विभाजित गरेरै छाड्ने आफ्नो लक्ष्यमा पुग्न उनी आतुर छन् । दल विभाजनको अध्यादेश ल्याउँदादेखिको त्यो प्रयास जबसम्म पूरा हुँदैन तबसम्म उनी चुप लागेर बस्नेवाला छैनन् । किनकि ओली त्यस्ता स्वभाव भएका पात्र हुन् जो वषौं पर्खन्छन् तर अभीष्ट पूरा नहुञ्जेलसम्म लागिरहन्छन् । त्यो कालखण्डमा लोकले उनलाई पागल, पाखण्ड वा अरू जे–जस्तो उपमा देओस् त्यसको कुनै पर्वाह हुँदैन ।

फेरि पनि ओलीमाथिको निश्कर्ष के हो भने उनी अहिले जे गरिरहेका छन् त्यो पूरापूर योजनाअन्तर्गत भएको काम हो । कुनै घटना वा सन्दर्भको प्रतिक्रियास्वरूप यसो भइरहेछ भन्ने बुझाइ पूर्णतः गलत हुन्छ । उताको सल्लाहमा ओलीले चालेका कदमलाई उनका आवेगपूर्ण निर्णय भनेर बुझ्नु हुँदैन जुन गल्ती अहिलेका विश्लेषकले गर्दै आएका छन् । बरु, अर्को सत्यलाई पनि यसबेला भुल्नु हुँदैन । त्यो हो, माधवकुमार नेपालमा देखिएको अति कुण्ठा र प्रचण्डलाई वशिभूत पार्दै आएको पदलोलुपता, आत्मकेन्द्रित प्रवृत्ति अनि हिंसा मोह ।

केपी ओलीसँग पचासौं वर्ष संगत गरेका माधवकुमार नेपालले उनलाई चिन्न नसक्नु नै नेपालको सबैभन्दा ठूलो कमजोरी हो । ओलीजस्तो असहिष्णु व्यक्तिले वरिष्ठ नेताको रूपमा उनलाई जुन मान्यता दिएको थियो त्यसलाई नै ठीक ढंगले उपयोग गर्दै उनलाई सही बाटोमा हिँडाउने उपायको खोजी गर्नुको सट्टा अविश्वसनीय पात्र प्रचण्डको पछि लाग्नु माधवकुमार नेपालको गल्ती हो । उनको त्यही गल्तीले गर्दा ओलीले नेपाल र नेपालीलाई कमजोर पार्ने, राजनीतिक अस्थिरताको वातावरण निर्माण गर्ने मौका पाए ।

प्रचण्डको यहाँ खासै चर्चाको आवश्यकता छैन । उनी नेपाली कम्युनिष्ट आन्दोलनको नायकबाट जननायक बन्नुको सट्टा खलनायक प्रमाणित भएका छन् । तुलोमा राख्ने हो भने केपी ओलीभन्दा तल छन् किनकि कम्तीमा ओलीले दशकौंदेखि पराइ नै सही कुनै एक शक्तिको त सेवा गरिरहेका छन् तर प्रचण्डले इमान्दारीसाथ अहिलेसम्म कसैलाई साथ दिएका छैनन् । यदि, प्रचण्डले प्रधानमन्त्री बन्ने आफ्नो इच्छालाई मात्र केही समय दमन गर्न सकेका भए ओलीले अहिले जे–जस्तो अवसर प्राप्त गरेका छन् त्यो पाउने थिएनन् । त्यसैले यो विषम परिस्थिति निर्माणको सोह्रैआना दोष प्रचण्डलाई दिँदा फरक पर्दैन ।

नेपाली जनता र नेपाल राष्ट्रले जति क्षति प्रचण्डका कारण व्यहोरेका छन् त्यति अरू कसैको कारणबाट भोगेका छैनन् । भारतको सुरक्षा घेरामा बसेर नेपालमाथि नेपाली नै प्रयोग गरेर आक्रमण गराउने व्यक्ति हुन् उनी । त्यसैले अरू कुनै छद्मभेषी राष्ट्रघातीसँग समेत उनको तुलना गर्नु बेकार छ । त्यो मामिलामा उनी अब्बल हुन् । जनतालाई सपना बाँडेर त्यसको निर्मम हत्या गर्ने निकृष्टतम नमुनाबारे टिप्पणीमा थप शब्द खर्चनुको कुनै अर्थ रहँदैन ।

अन्त्यमा, आशा गरौँ । नेपाललाई फेरि पुरानै अवस्थामा पु¥याएर सदियौंसम्म भारतीय विस्तारवादको गुलाम बनाइराख्ने ओलीको उद्देश्य पूरा हुने छैन । माधवकुमार नेपालले गल्ती–कमजोरीलाई सच्याउँदै यो आवेगमा होइन, विवेकपूर्ण निर्णय गर्ने र सुविचारित कदम चाल्ने समय हो भन्ने महसुस गर्नेछन् । एमालेको एकता मात्र कायम रहे पनि मुलुक एक हदसम्म सुरक्षित रहने सम्भावना रहन्छ । त्यो सम्भावनालाई मूर्तरूप दिन माधव–झलनाथ समूहले क्षणिक अपमान सहनुपर्छ, मुटुमाथि ढुंगा राखेर हाँस्न सक्नुपर्छ । सही समयको प्रतीक्षा गरेर आफ्नो उद्देश्य पूरा गर्ने कला ओलीबाट सिकेर उनैविरुद्ध लागू गर्नुपर्छ ।

टिप्पणीहरू