वामदेव जति लत्रिए पनि, एकताको गीत जति गाए पनि…
नेकपा एमालेलाई एकीकृत र सबल बनाउने भन्दै हिँडे पनि नेता वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कति भाउ दिनुभएको छ भन्ने स्पष्ट हुँदै गएको छ ।
अस्ति मात्र अखिल नेपाल किसान महासंघको बैठक डाकेर विभिन्न निर्णय गर्नुभएका महासंघ अध्यक्ष गौतमको माइन्युटमा लेखिएको अक्षरको मसी नसुक्दै प्रधानमन्त्री पक्षले आज छुट्टै महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठक बोलाएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा दिउँसो राष्ट्रिय सभा गृहमा पार्टीको जनवर्गीय संगठन महासंघको विस्तारित बैठक बस्न लागेको अध्यक्ष डा. प्रेम दंगाल निकट स्रोतले जानकारी दिएको छ ।
पुस ५ पछि एमालेभित्रको विवाद र ध्रुवीकरणसँगै प्रधानमन्त्रीको सक्रियतामा गौतमले नेतृत्व गर्नुभएको महासंघलाई त्यत्तिकै छाडेर दंगालको नेतृत्वमा महासंघ गठन गरिएको हो । महासंघको कार्यालय नयाँबानेश्वर, थापागाउँमा खोलिएको छ ।
माघ २२ गते काठमाडौंमा बोलाइएको राष्ट्रिय भेलाले दंगालको नेतृत्वमा ४ सय ४५ सदस्यीय राष्ट्रिय समिति गठन गरेको थियो । आजको बैठकमा प्रधानमन्त्रीको उपस्थितिमा सदस्यहरुलाई शपथ ग्रहण गराउने र कार्यविभाजन गर्ने एजेण्डा रहेको बताइएको छ ।
टिप्पणीहरू