भारतमा माहामारी,नेपालमा चिन्ता
छिमेकी भारतमा कोरोनाको दोस्रो कहर शुरु भएपछि नेपालमा चिन्ता थपिएको छ । संक्रमितको संख्या बढ्न थालेपछि भारतले महाराष्ट्र, मध्यप्रदेश,गुजरातमा बुधबारदेखि रात्रीकालीन कर्फ्यू जारी गरिसकेको छ ।
महाराष्ट्र,तमिलनाडू,पञ्जाब, मध्यप्रदेश,दिल्ली,कर्नाटक, हरियाणा,गुजरातलगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या अचानक बढ्न थालेपछि मानिसहरुको हिँडडुल अनि उनीहरुको चहलपहलमाथि निगरानी गर्न थालिएको छ ।
भारतले कोरोनाको दोस्रो चरणलाई मध्यनजर गर्दै फेरि पनि लकडाउनको निर्णय गरिसकेको छ । जसका कारण त्यता बस्दै आएका नेपालीहरु घर फर्किन थालेका छन् ।
नेपालमा भने पछिला दिनहरुमा संक्रमितको संख्या घटिरहेको छ । संक्रमितको संख्या घट्न थालेपछि मानिसको भीडभाड र चहलपहल बढिरहेको छ । मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने जस्ता सावधानी अपनाउन छोडिएको छ । सार्वजनिक यातायात निर्वाध रुपमा चलिरहेका छन् । स्कुल, कलेज,सिनेमा हल,पार्टी प्यालेसजस्ता मानिसहरुको बढी भीडभाड हुने ठाउँहरु पूर्णरुपमा खुलेका छन् । आन्दोलन,विरोध प्रदर्शन,जुलुसका नाममा भीड बढिरहेको छ ।
भारतमा फर्किएको कोरोनाको दोस्रो लहरले नेपालमा प्रत्यक्ष असर पर्ने भएकाले सतर्कता अपनाउन जरुरी रहेको जनस्वास्थ्यविद्हरु बताउँछन् । खुला सिमाना र अव्यवस्थित आवागमनका कारण भारतमा देखिएको कोरोनाको दोस्रो लहर नेपाल भित्रिनसक्ने भन्दै आमरुपमा चिन्ता बढ्न थालेको छ ।
टिप्पणीहरू