आफनै हात जगन्नाथ, यस्तै रमाइलो दृश्य देखा पर्यो आइतबार सिंहदरबारमा

आफनै हात जगन्नाथ, यस्तै रमाइलो दृश्य देखा पर्यो आइतबार सिंहदरबारमा

गृहमन्त्रालयले सचिव महेश्वर न्यौपानेसहित तीन सहसचिव र दुई प्रहरी महानिरीक्षकलाई सम्मान गरेको छ । उनीहरुलाई गृहमन्त्री रामबहादुर थापा बादलले पुरस्कृत गरेका हुन् । पुरस्कृत हुनुपर्ने कारण रहेछ बेरुजु फर्छ्यौटमा उल्लेखनीय भूमिका निर्वाह गरेको ।

यसरी पुरस्कृत हुनेमा पूर्व गृहसचिव प्रेम राई पनि हुनुुहुन्छ । उहाँ अख्तियार प्रमुख भइसकेका कारण मन्त्रालयमा बोलाएर सम्मान गर्न अप्ठ्यारो भएकोले टंगालस्थित अख्तियारकै कार्यालयमा पुगेर सम्मानपत्र दिने योजना छ । यस्तै आज सम्मानित हुनेमध्ये सहसचिव द्रोण पोखरेल नुवाकोटको प्रमुख जिल्ला अधिकारी हुँदा सबैभन्दा धेरै ९९ दशमलव ९८ प्रतिशत बेरुजु फर्छ्यौट गरेर रेकर्ड कायम गर्नुभएको थियो । हाल कारागार व्यवस्थापन विभागमा कार्यरत हुनुहुन्छ ।

काठमाडौंको प्रजिअ हुँदा ९४ दशमलव ४९ प्रतिशत बेरुजु फस्र्यौट गरेको भन्दै गृहले अर्का सहसचिव जनकराज दाहाललाई पनि सम्मानित गरेको छ । दाहाल हाल विपद् तथा द्वन्द व्यवस्थापन महाशाखाको प्रमुख हुनुहुन्छ ।

यस्तै काभ्रेको प्रमुख जिल्ला अधिकारी हुँदा श्रवणकुमार तिमिल्सेनाले बेरुजु फर्छ्यौटमा उल्लेख्य सुधार गरेको कारण उहाँलाई पनि गृहले सम्मान गरेको छ । तिमिल्सेना हाल झापाको प्रजिअ हुनुहुन्छ ।

यस्तै गृहले दुई प्रहरी प्रमुखलाई सम्मान गरेको छ । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कार्यकालमा ९१ प्रतिशत बेरुजु फस्र्यौट भएको गृहले जनाएको छ भने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पनि बेरुजु फर्छ्यौटमा उल्लेख्य सुधार गरेको भन्दै सम्मानित गरिएको हो ।

अघिल्लो आर्थिक बर्ष ६ महिना सचिव भएर अवकाश पाएका प्रेम राईलाई गृहले सम्झेको छ । प्रमुख लेखा उत्तरदायीको रुपमा राईसहित न्यौपाने महेश्वर न्यौपाने,रामप्रसाद आचार्य,निर्मल न्यौपानेसहित लेखा शाखा हेर्ने ५ जना कर्मचारीलाई गृहले सम्मान गरेको छ ।

टिप्पणीहरू