प्रधानमन्त्री ओलीको विकल्प खोज्ने प्रस्ताव
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस र लोकतन्त्र पक्षधर पार्टीहरूलाई समेटेर ओली सरकारको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।
ट्रेड युनियन काँग्रेसका संस्थापक अध्यक्ष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृतिसभामा बोल्दै वरिष्ठ नेता पौडेलले उक्त कुरा बताउनुभएको हो ।
अहिले देशमा राजनीतिक अन्योल रहेको भन्दै उहाँले त्यसलाई अन्त्य गर्न नेपाली काँग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने पनि बताउनुभयो । नेतृत्वले निर्णय लिन नसकेको भन्दै उहाँले पार्टी नेतृत्व किंकर्तव्यविमुढ भएर बस्ने बेला नभएको धारणासमेत राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले संसदमा रहेका पार्टीहरूसँग मिलेर अगाडि बढ्दै उत्पात मच्चाउँदै हिंडेका ओलीको विकल्पमा नयाँ सशक्त विकल्प खोज्न संयोजकको भूमिका खेल्नुपर्छ,’ भन्दै उहाँले अगाडि भन्नुभयो, ‘देशलाई अन्योलबाट मुक्त राख्ने हैसियत राखेर नेपाली काँग्रेसले देशलाई नेतृत्व दिने बेला भएको छ ।’
काँग्रेसका कतिपय नेताले चुनावको पक्षमा बोल्ने गरेको बताउँदै उहाँले नेपाली काँग्रेसले चुनावको पक्षमा वकालत गर्न नहुनेसमेत बताउनुभयो । संसदमा भएका शक्तिहरूलाई समायोजन गरेरै विकल्प दिनुपर्नेमा उहाँको जोड थियो ।
उहाँले भन्नुभयो ‘अदालतको फैसलाले पाँच वर्ष नभई चुनाव गर्ने अनुमति दिँदैन । संसद फेरि विघटन गर्ने कतै पनि ठाउँ छैन । हामीले अहिले चुनावको कुरा गर्ने होइन । अहिले संसदलाई कसरी उपयोग गर्ने,कसरी संसदमा भएका शक्तिहरूलाई समायोजन गरेर विकल्प दिने भन्ने सोच्ने हो ।’
नेता पौडेलले लोकतन्त्र पक्षधरहरूको नेतृत्वको सरकारले मात्र संविधानको बचाउ गर्दै व्यवस्था बचाउन सक्ने भएकाले अहिलेकै संसदभित्रबाट विकल्प खोज्नुपर्नेमा जोड दिनुभएको छ ।
टिप्पणीहरू