जर्नेल जाँदा सुटुक्क,फर्केपछि जानकारी

जर्नेल जाँदा सुटुक्क,फर्केपछि जानकारी

भोलिदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणको पूर्वसन्ध्यामा त्यतै पुगेको नेपाली सेनाको एक टुकडी स्वदेश फर्किएको छ । फागुन २९ गते दुई तारे जर्नेल हिरालाल जोशीको नेतृत्वमा बंगलादेश र पाकिस्तान गएको सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको टोली चैत ५ गते फर्किएको हो ।

भ्रमणबारे जानकारी गराउँदै सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुले एक साता लामो बंगलादेश र पाकिस्तानको भ्रमण गरी स्वदेश फर्किएको जनाएको छ ।

बंगलादेश जाने ४० सदस्यीय टोलीको नेतृत्व सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले गरेका थिए भने सोही कलेजका मुख्य शिक्षक महासेनानी विमलराज शर्माको नेतृत्वमा ४७ जनाको टोली पाकिस्तान पुगेको थियो । दुवै टोलीले स्थल,जल र हवाई सेनाका निकायहरु,महत्वपूर्ण औद्योगिक स्थल एवं समकक्षी कलेजहरुको स्थलगत भ्रमण गरेको निर्देशनालयले जनाएको छ ।

भ्रमणबाट सैन्य ज्ञान हासिल हुनुका साथै सैन्य कूटनीतिमा समेत सकारात्मक प्रभाव पर्ने सेनाले बताएको छ । भ्रमणका दौरान जल,थल तथा वायु सेनाको युद्धकला लगायतका नविनतम प्रविधिहरुको प्रदर्शनी तथा अवलोकनको व्यवस्था मिलाइएकाले शिक्षार्थीहरुलाई समसामायिक सैनिक विषयहरुमा ज्ञान हासिल गर्न मद्दत पुगेको पनि सेनाको दाबी छ ।

भ्रमण टोलीमा नौ महिनादेखि टोखाको डाँडामा स्टाफ कलेज कोर्स गर्दै गरेका बंगलादेशी, बेलायती,अमेरिकी,नाइजेरियन, श्रीलंकन र पाकिस्तानी समेत सहभागी थिए । साथै गुप्तचर, प्रहरी र सशस्त्रका एक-एक जना अफिसर र चार जना महिला सैनिकले समेत बंगलादेश र पाकिस्तानको भ्रमण गरेको बताइएको छ ।

टिप्पणीहरू