सावधान, कोरोनाको काल फेरि सल्कियो

सावधान, कोरोनाको काल फेरि सल्कियो

छिमेकी भारतमा कोरोनाको दोस्रो कहर शुरु भएपछि नेपालमा समेत संक्रमणको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक तयारी र सावधानी अपनाउन अनुरोध गरेको छ । आइतबार दुई फरक-फरक विज्ञप्ति जारी गर्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालना गर्न सरोकारवालाका नाममा सचेत गराएको हो । कोरोना सकिन अझै डेढ बर्ष अर्थात सन २०२२ को मध्यसम्म पर्खनुपर्ने पुरानै अनुमान हो ।

सातै प्रदेशका स्वास्थ्य निर्देशनालय,संघीय प्रादेशिक अस्पतालहरु,स्वास्थ्य संस्थाहरु, सबै जिल्ला स्वास्थ्य कार्यालय, सीमा नाकाका हेल्थ डेस्कहरुलाई परिपत्र गर्दै मन्त्रालयले सावधानी अपनाउन र आवश्यक व्यवस्थापन गर्न आग्रह गरेको हो । परिपत्रमा सबै प्रवेश बिन्दुका हेल्थ डेस्कहरुमा ज्वरो आएका यात्रुहरुको मलेरियाको आरडीटी तथा सम्भव भए कोभिड-१९ को एन्टीजिन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ। साथै पोजेटिभ रिपोर्ट आएकाहरुलाई स्वास्थ्य संस्था तथा अस्पतालहरुसंग समन्वय गरी उपचार व्यवस्था गर्न तथा मन्त्रालयको मलेरिया तथा कोभिड-१९ सम्बन्धी निर्देशिका बमोजिम आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ।

स्थानीय निकाय, अस्पताल, स्वास्थ्य संस्था,तथा प्रयोगशालाहरुले आवश्यक सहयोग, सहकार्य र समन्वय गर्न परिपत्रमा निर्देशनात्मक आग्रह गरिएको छ। क्वारेन्टाइन आदेश २०७७ अनुसार व्यवस्था लागू गर्न, रोगको निगरानीलाई चुस्त बनाउन, केस इनभेस्टिगेसन तथा कन्ट्याक्ट ट्रेसिङलाई चुस्त बनाउन, पीसीआर परीक्षण तथा एन्टीजेन टेष्टको सुनिश्चितता गर्न पनि आग्रह गरिएको छ।

परिपत्रमा अस्पताल र स्वास्थ्य संस्थाहरुलाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन गरिएको छ। त्यस्तै, स्थानीय तहहरुमा संक्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरी समुदायस्तरमा कोभिड-१९ को एन्टीजेन परीक्षण सम्बन्धी प्रोटोकलअनुसारको व्यवस्था गर्न र जनस्वास्थ्यका मापदण्डहरुलाई कडाइका साथ् पालना गराउन आवश्यक पहल तथा प्रचार गर्न भनिएको छ।

मन्त्रालयले आजै जारी गरेको अर्को विज्ञप्तिमा संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै देशभर सभा,जुलुस,र्याली,भेला,जमघट, गोष्ठी,सेमिनार,बैठक नगर्न आग्रह गरिएको छ। त्यस्तै,भीडभाड हुने व्यवसाय र क्रियाकलाप बन्द गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। सामाजिक/भौतिक दूरी कायम गर्न,मास्कको अनिवार्य प्रयोग गर्न, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग जस्ता जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न पनि अनुरोध गरिएको छ।

संक्रमितको संख्या बढ्न थालेपछि भारतका विभिन्न राज्यहरुमा लकडाउन गर्न थालिएपछि त्यहाँ बस्ने नेपालीहरु नेपाल फर्कन थालेका छन्। भारतले महाराष्ट्र, मध्यप्रदेश,गुजरातमा रात्रीकालीन कर्फ्यू जारी गरिसकेको छ। कतिपय राज्यहरुमा आवागमनको निगरानी गर्न थालिएको छ। खुला सिमाना र अव्यवस्थित आवागमनका कारण भारतमा देखिएको कोरोनाको दोस्रो लहर नेपाल भित्रिन सक्ने भन्दै आमरुपमा चिन्ता बढिरहेका बेला मन्त्रालयले सावधानी अपनाउन सचेत गराएको हो।

टिप्पणीहरू