प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो, मैले सम्झाएँ : वामदेव गौतम

प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो, मैले सम्झाएँ : वामदेव गौतम

शनिबार बालुवाटारमा बोलाइएको एमाले केन्द्रीय समितिको बैठकमा अनुपस्थित हुनुभएका नेता वामदेव गौतम त्यसअघि त्यहिँ डाकिएको एमाले संसदीय दलको बैठकमा भने उपस्थित हुनुहुन्थ्यो । संसदीय दलको बैठकमा गौतमले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विषय समेत उठाउनुभएको थियो ।

दलको बैठकलाई सम्बोधन गर्ने क्रममा गौतमले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले ब्युँताइदिएपछि नैतिक रुपमा प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो, आज फेरि सम्झाएको छु भन्नुभएको बताइन्छ ।

फागुन २८ को बैठक केन्द्रीय कमिटीको बैठक विधानसम्मत नभएको उल्लेख गर्दै त्यसले गरेका निर्णय फिर्ता लिनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । त्यसोगर्दा नयाँ परिस्थितिमा नेकपा एमाले पुनः एकतावद्ध हुने उहाँको दाबी थियो ।

त्यसैगरी, पार्टीभित्र रहेका कमरेडहरूलाई बैठकमा अनुपस्थित भएकै कारण कुनै कारबाही गर्न नमिल्ने जिकिर पनि गौतमले लिनुभएको थियो ।

उहाँको भनाई थियो ‘केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ, त्यसलाई समूह भन्न मिल्दैन तर वहाँको कार्यशैली गलत छ । वहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन र गर्ने पनि छैन । म पार्टी एकता राष्ट्रिय अभियानमा छु । उद्देश्य पूरा नहुँदासम्म यो अभियान जारी रहने छ ।’

टिप्पणीहरू