वासिङ्गटनमा खतिवडा र बेइजिङमा पाण्डेका दु:ख
ओली सरकारले अघिल्ला राजदूत लीलामणि पौडेलको केही महिना म्याद छँदै फिर्ता बोलाएर पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनको राजदूतमा नियुक्त गरेको हो । मध्य कोरोनाको महामारीमा पौडेल यता आएका थिए भने पाण्डे बल्ल बल्ल चिनियाँ क्वारेण्टाइन झेल्दै बेइजिङ पुगेका थिए ।
अघिल्लो वर्षको जुुलाईमा त्यता पुगे पनि पाण्डेले आजको दिनसम्म राष्ट्रपति सि जिनपिङसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन पाएका छैनन् ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनमा राजदूत भएर आउने जो कोहीले मन्त्रालयमा उताको देशको पत्र बुझाएपछि काम थाल्न पाउँछन् । तर, ओहोदाको प्रमाणपत्र नबुझाउञ्जेल त्यस्ता राजदूतले आफूलाई कामचलाउको हैसियतमा बुझ्ने भएकाले कूटनीतिक जिम्मेवारीका काम खासै अघि नबढ्ने बताइन्छ ।
स्रोत भन्छ ‘कोभिड १९ का कारण राष्ट्रपति कार्यालयले ओहोदाको प्रमाणपत्र बुझ्ने कार्यक्रम रोकिएको हो ।’ चीनमा यसअघि प्रत्येक दुई महिनामा विदेशी राजदूतहरूले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रमको ‘फिक्स्ड सेड्युल’ नै हुन्थ्यो ।
यता,कोभिडको कारण बेइजिङस्थित नेपाली राजदूतावासको काम पनि ठप्पप्रायः रहेको बताइन्छ । राजदूत पाण्डे एउटै कम्पाउण्डमा रहेको पल्लो घर (निवास) बाट वल्लो घर (दूतावास) को माथिल्लो तलामा रहेको कार्यालयमा आएर दिन बिताउने कामबाहेक यसबीचमा केही नभएको बताइन्छ ।
उता,अमेरिकास्थित नेपाली राजदूत तथा पूर्वमन्त्री एवम प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वविशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले पनि ओहोदाको प्रमाणपत्र बुझाउन पाएनन् । उनले अघिल्लो महिना वासिङ्गटनस्थित एउटा हुलाकबाट ओहोदाको प्रमाणपत्र राष्ट्रपति कार्यालयमा पठाएपछि काम गर्न थालेका हुन् ।
टिप्पणीहरू