सुख नाप्ने संयन्त्र तयार
प्रधानमन्त्री केपी ओलीको एउटा उत्कट चाहना छ, आफ्नो कार्यकालमा नेपाली जनता कति सुखी र समृद्ध छन् मापन गरिहाल्ने । उहाँले चाहेका तर संविधानतः नमिल्ने कस्ता–कस्ता काम क्षणभरमै तमाम भएको यही मुलुकमा यो एउटा रहरचाहिँ वर्ष दिनदेखि थाती छ, कहिले कोरोनाले बिथोल्दिने त कहिले कर्मचारीले नटेरिदिने ।
प्रधानमन्त्रीले अघिल्लो आर्थिक वर्षको चैतमै राष्ट्रिय योजना आयोगलाई नेपाली जनताको समृद्धि र सुख नापिहाल्न निर्देशन दिनुभयो । प्रमकै तहबाट निर्देशन पाएपछि योजना आयोग तात्यो । उसले पदाधिकारी सम्मिलित कमिटी गठन ग¥यो । त्यही मातहत निर्देशक समिति तयार भयो । समितिले ब्यारोमिटर नाप्ने प्रश्नावली तयार पा¥यो । केन्द्रीय तथ्यांक विभागका एक कर्मचारीले जनआस्थालाई सुनाएअनुसार समृद्धिका ४, सुखका ६ गरी १० वटा सूचक तयार पारिएको थियो । सो सूचकको प्रतिनिधित्व हुनेगरी प्रश्नावली तयार पारी सातै प्रदेशतिर पठाउने तयारी चल्दै थियो ।
योजना आयोगले तथ्यांक विभागलाई बजेट पनि पठायो । बीचमा कोरोनाले थलियो । यस वर्ष पनि बजेट पठाइएको छ । प्रमको निर्देशन थियो यही आर्थिक वर्षको पहिलो त्रैमासमै गरिहाल्नू भन्ने । योजना आयोगका केही पदाधिकारीले हत्तु खेलाइरहेका छन् केन्द्रीय तथ्यांक विभागका कर्मचारीलाई काम सक्न तर आयोग अहिले आफँै ०७८ औं राष्ट्रिय जनगणनाको काममा व्यस्त छ ।
त्यहाँका पदाधिकारीहरु भन्छन्– पहिला त कोरोना कालमा यसको मापन गर्दा नकारात्मक रिजल्ट आउँछ भनेर कन्भिन्स गराएका थियौं । अहिले तारन्तार सुखी र समृद्धिको पनि मापन गर्नू भन्दै दबाब आउन थालेको छ ।
टिप्पणीहरू