बजेट बनाउन सांसदहरूको दौड

बजेट बनाउन सांसदहरूको दौड

सांसदहरूले जेठ १५ गते आउनै पर्ने आगामी आर्थिक वर्षको बजेट तयारीको निम्ति स्थलगत अध्ययन भ्रमण गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले बजेट बाँडफाँड र योजना तर्जुमामा विगतमा जस्तै पुरानै समस्या अहिले पनि रहेको भन्दै त्यसबारे स्थलगत अध्ययन र छलफल गर्न सुझाएका हुन् ।

सांसदहरूले बजेट निर्माण हुनुपहिले सातै प्रदेशमा स्थलगत अध्ययन भ्रमण गरी बजेट बाँडफाँड र योजना तर्जुमानिम्ति सरकारलाई सुझाव दिनुपर्ने तर्क गरेका थिए । त्यस्तै,बजेट प्रणालीलाई बलियो बनाउने गरी फरक खालको अभ्यासको सुरुवात नगर्ने हो भने विगतमा जस्तै समस्या यसपटक पनि देखिने भन्दै तत्काल सोबारे आवश्यक जानकारी मन्त्रालयसँग माग्नुपर्ने धारणा उनीहरूको थियो ।

पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईले बजेट निर्माणको अन्तिम समयमा सुझाव दिएर त्यसको खास अर्थ नदेखिने भएकाले बजेट बाँडफाँडमा अवलम्बन गरिने राष्ट्रिय नीति र योजनाको संरचनामा छलफल गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो । उहाँले स्थलगत भ्रमण गर्नु राम्रो कुरा भएपनि बेलैमा सुझाव दिनुपर्नेतर्फ पनि समितिको ध्यानाकर्षण गराउनुभएको थियो ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले नै बजेट प्रणालीलाई कमजोर बनाएको बताउनुभयो । उहाँले बजेट बाँडफाँडको अधिकार लिएका मान्छेबाट नै त्यसलाई कमजोर बनाउने काम भएको टिप्पणी गर्नुभयो । सबैलाई छर्ने ढंगले सरकारले बजेट ल्याउने गरेकाले बजेट बाँडफाँड तथा योजना प्राथमिकीकरणमा सँधै समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

सांसद रामबाबु कुमार यादवले वर्तमान अनिश्चयपूर्ण राजनीतिक अवस्थामा समितिका कामहरूलाई तीब्रताका साथ सम्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले मधेसमा हुलाकी राजमार्ग,निजगढ विमानस्थल,द्रुतमार्गलगायतको प्रगति समीक्षा गरेर सरकारलाई आवश्यक सुझाव र निर्देशन दिनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी सांसदहरू मेटमणी चौधरी,प्रमिला राई र सरावत आराखानमले क्षेत्र पहिचान गरी क्षेत्रीय समस्याका बारेमा पूर्वजानकारी लिएर तयारीका साथ अनुगमन भ्रमण गर्नुपर्ने सुझाव दिनुभएको थियो । उहाँहरूले समितिले बीमासम्बन्धी विधेयकलगायत अन्य विधेयकलाई पनि छलफल गरी टुंगोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

बैठकको शुरुमै समिति सभापति कृष्णप्रसाद दाहालले बजेट अगावै सातै प्रदेशको अध्ययन भ्रमण गरी सम्भाव्यता र आवश्यकताका आधारमा बजेट र योजना तर्जुमा गर्न अर्थमन्त्रालयलाई सुझाव दिने गरी अध्ययन भ्रमणमा जाने प्रस्ताव राख्नुभएको थियो ।

केही सांसदले अध्ययन भ्रमणमा जानु राम्रो कुरा भएपनि पहिले विधेयक निर्माण प्रक्रियालाई टुंगो लगाएर मात्रै अन्य काममा हात हाल्नुपर्ने सुझाव दिएका थिए । क्षेत्रगत आवश्यकता र योजनाको प्राथमिकीकरण गर्न भौगोलिकता र क्षेत्रीय बनौटअनुसार प्राथमिकता दिनुपर्ने विषयलाई पूर्वतयारी गरेर अध्ययन भ्रमणमा जानुपर्ने अधिकांश सांसदको सुझाव थियो ।

टिप्पणीहरू