पार्किङका नाममा ब्रम्हलुट, जनप्रतिनिधि कति जिम्मेवार ?

पार्किङका नाममा ब्रम्हलुट, जनप्रतिनिधि कति जिम्मेवार ?

व्यवस्थित सवारी पार्किङका लागि भनेर उपत्यकाका विभिन्न ठाउँमा संचालनमा ल्याइएको ‘स्मार्ट पार्किङ’ले सेवाग्राहीलाई सास्ती र हैरानी दिएको गुनासो बढेपछि ललितपुर महानगरपालिकाले त्यस्ता पार्किङस्थल बन्द गर्ने भएको छ । स्मार्ट पार्किङलाई निजी कम्पनीहरुले कमाउ धन्दा बनाएको र सेवाग्राहीले अनावश्यक हैरानी खेप्नु परेको गुनासो लगातार बढेपछि महानगर तत्कालका लागि त्यस्ता पार्किङ बन्द गर्न बाध्य भएको हो ।

महानगरपालिकाले पार्किङको जिम्मा दिएको डिस्कभर सिटीले स्मार्ट पार्किङका नाममा ‘ब्रम्हलुट’ मच्याएको सेवाग्राहीको गुनासो छ । ०७६ माघ १६ गते महानगरपालिकासंग सम्झौता गरी कुमारीपाटी,महालक्ष्मी स्थान, भनिमण्डल,जावलाखेल, एकान्तकुना,पुल्चोक,सानेपा क्षेत्रमा पार्किङको जिम्मा पाएको डिस्कभरले दैनिक लाखौँ उठाउँछ ।

डिस्कभरले सेवाग्राहीसंग दुई पाङ्ग्रे सवारीको प्रतिघन्टा २० र चार पाङ्ग्रेको ५० रुपैयाँका दरले उठाउँछ । जबकि महानगरपालिकाकै वडा कार्यालयहरुले संचालन गर्दै आइरहेको लगनखेल,मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा भने दुई पाङ्ग्रेको प्रतिघन्टा १० र चार पाङ्ग्रेको ३० रुपैयाँ उठाउने गरिएको छ । आफ्नै वडा कार्यालयहरुको भन्दा महँगोमा निजी कम्पनीलाई पार्किङको जिम्मा दिएर महानगर कमिशनको चक्करमा लागेको वडाध्यक्षहरु नै आशंका गर्छन् ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले भने सरकारले तोकेकै दर रेटअनुसार नै पार्किङ शुल्क उठाएको दाबी गरे । नेपाल सरकारको ऐनअनुसार नै महानगरले सम्झौता गरेको भएपनि स्थानीयको गुनासोलाई मध्यनजर गर्दै तत्कालका लागि पार्किङ हटाउने तयारी भैरहेको उनले बताए । ठेक्का सम्झौता रद्द गर्ने तयारी भैरहेको भन्दै उनले कार्यपालिकाको आगामी बैठकमा प्रस्ताव लैजाने जानकारी दिए ।

‘नियमअनुसार नै सम्झौता गरिएको हो । तर,अहिले स्थानीय र सेवाग्राहीको ब्यापक गुनासो आएपछि हामी सोच्न बाध्य भएका छौँ’,उनले भने, ‘यो स्थगित गर्न प्रस्ताव तयार भैसकेको छ, आगामी बैठकमा पेश हुन्छ ।’ कार्यपालिकाले निर्णय गरेर सम्झौता भएकाले कार्यपालिका बैठकले नै स्थगितको निर्णय गर्ने पनि उनले बताए ।

महर्जनले ऐनअनुसार नै गरिएको भनेपनि सम्झौता निजी कम्पनी पोस्ने माध्यम जस्तो देखिएकाे छ। सेवाग्राहीबाट उठाएको रकम एकपछि अर्को कम्पनीलाई बेचेर पैसाको खेलोमेलो भएको जानकार स्रोत बताउँछ । सम्झौताअनुसार यसरी उठेको रकमको ८० प्रतिशत डिस्कभरले लैजान्छ भने महानगरले २० प्रतिशत मात्र पाउँछ । डिस्कभरले फेरि केही प्रतिशत आफूलाई राखेर अर्को कम्पनीलाई बेच्छ । डिस्कभरले उठेको रकमको ८० प्रतिशतमध्ये २० प्रतिशत आफूसंग राखेर ६० प्रतिशत तेस्रो पक्षलाई बेच्ने गरेको बताइन्छ । बताइए अनुसार तेस्रोपक्षले पनि आफूले खरिद गरेको ६० प्रतिशतमध्ये ४० प्रतिशत चौंथो पक्षलाई र चौंथो पक्षले फेरि २० प्रतिशत राखेर २० प्रतिशत अरुलाई बेच्ने गरेको छ ।

स्रोतका अनुसार स्मार्ट पार्किङका नाममा पैसाको चलखेल भएको रहस्य खुलेपछि सम्झौता रद्द गर्न वडा कार्यालयमा निवेदन परेको थियो । २०७७ पुस १९ गते १३ नम्बर वडा कार्यालयमा परेको निवेदन र वडा कार्यालयले महानगरपालिकाको कार्यालयमा रोक्का गर्न गरेको पत्राचार अहिलेसम्म अलपत्र परेको छ । यसले जनप्रतिनिधिहरु नै निजी कम्पनी पोस्ने खेलमा लागेको आशंका गर्नेहरुलाई बल पुगेको देखिन्छ ।

अदालतमा मुद्धा

पार्किङका नाममा कमिशनको खेल भएको भन्दै अदालतमा मुद्धा परेको छ । महेशराज बज्राचार्य र पृथविन्दु महर्जनले फागुन १९ गते उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् । रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय,महानगर,उपत्यका सडक विभाग र ठेकेदार कम्पनीको मिलेमतोमा कमिशनको खेल भैरहेको भन्दै अन्तरिम आदेशको माग गरिएको छ ।

निवेदनमा जथाभावी पार्किङस्थल बनाई मनपरी रकम असुलेर जनमानसमा त्रास उत्पन्न गरेको दाबी गरिएको छ । साथै महानगर र ठेकेदार कम्पनीबीच भएको सम्झौताअनुसार विभिन्न ठाउँमा पिच सडकमै पार्किङ बनाई पैदलयात्री र सवारी साधन आवतजावतमा समेत अवरोध पुर्याइएको जिकिर गरिएको छ ।

निवेदनमा विपक्षीहरुले अनावश्यक दु:ख दिएको र त्यसैका आधारमा आर्थिक लाभ लिएको उल्लेख छ । पार्किङ बनाउने नै हो भने पनि निजी ठाउँमा बनाएर कसैलाई मर्का नपर्ने गरी रकम उठाउन निवेदनमा भनिएको छ । निवेदकले महानगर र ठेकेदार कम्पनीबीचको सम्झौता कानुन विपरित भएको दावी गरेका छन् ।

निवेदनमा जिल्ला प्रशासन कार्यालय र उपत्यका सडक विभागलाई पनि विपक्षी बनाइएको छ । महानगर र ठेकेदार कम्पनीको मिलेमतोमा कानुन विपरितको सम्झौता हुँदा पनि प्रशासन मौन बसेको निवेदकको भनाइ छ । त्यस्तै,सडक विभागले जनताको सुविधाका लागि भनी चौडा गरिएको सडकमा पार्किङका नाममा जथाभावी पैसा उठाई व्यक्तिगत स्वार्थका लागि भएका कार्यलाई रोक्न कुनै पहलकदमी नलिएको जिकिर गरिएको छ ।

के हो स्मार्ट पार्किङ ?

सवारी साधनको पार्किङलाई व्यवस्थित र प्रविधियुक्त बनाउन उपत्यकाका विभिन्न ठाउँमा स्मार्ट पार्किङ शुरु गरिएको हो । यसको राम्रो पक्ष भनेको चालकले आफू जाने स्थानमा पार्किङ उपलब्ध छ छैन भन्ने कुराको जानकारी एपमार्फत जानकारी प्राप्त गर्न सक्छ । यसले दिगो रुपमा शहरी पार्किङ व्यवस्थापन र यातायात आवागमनमा सहयोग गर्ने अपेक्षा राखिएको थियो ।

हरेक पार्किङस्थलमा भिजन सेन्सर जडान गरिएको हुन्छ । सेन्सरले त्यहाँको डाटा इन्टरनेटबाट क्लाउडमा पठाउँछ । त्यहाँ प्रोसेस भएर प्रयोगकर्ता र सम्बन्धित निकायले नियमन गर्न सक्छ । सेन्सर जडान गरिएको स्थानमा डिस्प्ले पनि जोडिएको हुन्छ, जसमा पार्किङस्थलमा कति स्थान खालि छ भनेर हेर्न सकिन्छ । यो प्रविधिले सवारी गणना र बर्गिकरणसमेत गर्ने भएकाले उपयोगी छ । पार्किङ गर्नेले तत्काल आफूले तिरेको रकमको रसिद लिन सक्नेछन् ।

टिप्पणीहरू