सामुदायिक रेडियो पार्टी र नेताहरुको माध्यम भए : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु त्यसको मर्मअनुरुप नचलेकाले थप नियमन आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणको नभई राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति स्थापना भइरहेको सन्देश गएको बताउनुभएको हो ।
उहाँको धारणा थियो ‘सामुदायिक रेडियोहरु समुदायको निम्ति भन्दा पनि पार्टी र नेताहरुको चुनावी प्रचारप्रसारको माध्यम बनेकाले विकृति,विसंगति र अराजक शैलीलाई नियन्त्रण गर्न थप नियमन आवश्यक देखियो ।’ सरकारले सामुदायिक रेडियोको नियमन गर्दा बिरोध हुनसक्ने उल्लेख गर्दै उहाँले सामुदायिक रेडियो प्रसारक संघलाई नै नियमन गर्न समेत आग्रह गर्नुभएको छ ।
मन्त्री गुरुङले सामुदायिक रेडियोहरुले उत्पादन गर्ने समाचार तथा कार्यक्रमहरुको विषयमा पनि नीतिगत रुपमा बहस थाल्नुपर्ने बताउनुभयो । सामुदायिक रेडियोको मर्म र भावनाअनुरुपको कार्यक्रम उत्पादन गर्ने एजेण्डा सामुदायिक रेडियोको हुनुपर्नेमा उहाँको जोड थियो ।
सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) मा देशभरका तीन सय वटाभन्दा बढी सामुदायिक रेडियोहरु आबद्ध छन् ।
टिप्पणीहरू