एमालेमा प्रतिस्पष्टिकरणको पत्र लेखिँदै
एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि हिजो सोधिएको भनिएको स्पस्टिकरणको जवाफ नभई आफूहरूले प्रतिस्पस्टिकरण सोध्ने तयारी गरेको नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको एकल प्रस्ताव र निर्णयमा चैत ७ गते बालुुवाटारमा बसेको केन्द्रीय समितिको बैठकले नेपाललगायत चार जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरको थियो । सोहीबमोजिम हिजो महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको स्पष्टिकरण पत्र सम्बन्धित नेताहरूको घर ठेगानामा पठाइएको बालुवाटार स्रोतले बताएको छ ।प्रतिस्पष्टिकरणमा सबैभन्दा पहिले आफूहरूलाई दशौं महाधिवेशन आयोजक समितिको सदस्य भनिएकोमा आपत्ति जनाउँँदै विधान विपरित गरिएको दशौं महाधिवेशन आयोजक समितिको निर्णय नै अवैध उल्लेख गरिने स्रोतले बताएको छ ।
एमालेको विधानमा महाधिवशेन आयोजक समितिको गठन सम्बन्धमा कुनै व्यवस्था छैन । बरु महाधिवेशन आयोजना केन्द्रीय समितिले नै गर्ने स्पष्ट व्यवस्था छ । त्यसैले महाधिवेशन आयोजक कमिटी बनाइएको भन्ने विषयलाई नै अस्वीकार गर्ने तयारी छ । स्रोत भन्छ ‘उल्टै त्यस्तो निर्णय गर्नेलाई नै विधान मिचेर किन यस्तो निर्णय गरियो भनेर सोधिनेछ ।’
“एउटा पार्टीमा छँदाका कामबारे अर्को पार्टीको विधानमा टेकेर सोध्न मिल्ने कानुन अहिलेसम्म हामीले पढेका र देखेका छैनौं’।”
अर्कोतर्फ,फागुन २३ गते अघि नेकपामा छँदाका कुरा र विषयलाई एमालेको विधानबमोजिम भनेर अहिले स्पष्टिकरण सोध्ने कार्य गलत भएकोले त्यसमा पनि प्रतिस्पष्टिकरण सोधिनेछ । त्यो बेलाका हरेक कार्यमा नेकपाको विधान आकर्षित हुने भएको र एमालेमा रुपान्तरण भइसकेपछि वीचका कुरा जोडेर सोध्न नपाइने कानुन व्यवसायीहरू बताउँछन् ।
उनीहरूको तर्क छ ‘एउटा पार्टीको कामबारे अर्को पार्टीको विधानमा टेकेर सोध्न मिल्ने कानुन अहिलेसम्म हामीले पढेका र देखेका छैनौं’ बालुवाटारको स्पष्टिकरणबारे अध्ययन गरिरहेका एकजना नेताका अनुसार नेकपाको कामलाई लिएर एमालेबाट स्पष्टिकरण सोध्ने भन्ने नै हुँदैन । त्यो सोधनी नै गलत हो । उनी भन्छन् ‘त्यसैले यताबाट किन सोध्यौ भनेर उनैलाई सोध्ने हो ।’
स्पष्टिकरणको लागि सोधिएका सबै बुँदामा त्यहि ढंगले प्रतिस्पष्टिकरणको तयारी गरिएको बुझिएको छ ।
स्पष्टिकरण सोधिएका एकजना नेताका अनुसार यदि नेकपामा छँदा गरिएका कुनै कार्य भएपनि त्यतिबेला नेकपाको बहुमतले गरेको निर्णय हो । त्यो बेला बहुमतको अधिकांश निर्णय नमान्ने स्वयम् प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली नै भएकाले ‘त्यतिबेलाको बहुमतको निर्णय किन नमानेको त ?’ भनेर उतै सोधिनेछ ।
नेपाललाई प्रचण्डको मतियार भन्दै इश्वर पोख्रेलको हस्ताक्षरबाट स्पस्टिकरण सोधिएको सम्बन्धमा पनि ‘स्वयम् केपी ओली नै मतियार रहेको’ प्रमाणसहित प्रतिस्पष्टिकरणको तयारी गरिएको बताइन्छ । प्रतिस्पष्टिकरण तयारीमा संलग्न एकजना नेता भन्छन् ‘त्यतिबेला सबैलाई गुमराहमा राखेर बदनाम कमिशनखोर दिपक भट्टको पहलमा रातारात पार्टी एकताको नाटक मञ्चन गर्ने अरु कोही नभएर स्वयम् केपी ओली हुन् । सत्तारोहणका निम्ति प्रचण्डलाई मनाउन पार्टीको सिद्धान्त जबजलाई बिसर्जन गर्ने उनै हुन् । एमालेको मृत्युपत्रमा हस्ताक्षर गर्ने उनै हुन् । प्रचण्डसँग मतियार भएर अहिले पनि प्रधानमन्त्रीमा आसिन रहने उनै हुन् । त्यतिबेला गोप्य सम्झौता गरेर प्रधानमन्त्रीको कार्यकाल बाँडफाँड गर्ने को हो ? भनेर उतैतर्फ बाँण फर्काइनेछ ।’
त्यसबारे थप प्रष्ट पार्दै उनले भनेका छन् ‘एमालेलाई सिध्याएर प्रधानमन्त्रीको कुर्सीमा बिराजमान हुने षड्यन्त्र २०७५ जेठ ३ अघिको एमालेमा छँदा अध्यक्ष ओलीले नै गरेका हुन् । त्यसैले अहिले एमालेले उल्टै केपीलाई किन पार्टीको सिद्धान्त जबजलाई सिध्याउने षड्यन्त्र गरियो ? भनेर स्पस्टिकरण सोध्नुपर्ने हुन्छ । त्यो बेला यी सबै हर्कत् गरेका उनैले हुन् ।’
टिप्पणीहरू