मिनिबसलाई म्याजिकको धक्का, विद्यार्थीले अब छुट पाउँछन् त पक्का ?
यातायात क्षेत्रको सिन्डिकेट हटेपनि मनपरी रोकिएको छैन । पूर्वपश्चिम जोड्ने चितवनको मुख्य बाटोमा केही दिन यात्रुवाहक ठूला गाडी चल्दै चलेनन् । फुच्चे म्याजिकले पेलेपछि नारायणगढ–लोथर रुटका मिनिबस व्यवसायीहरु गाडी नै थन्क्याएर आन्दोलनमा उत्रिए ।
नवलपुरको सीमा नारायणगढबाट मकवानपुरको सीमा लोथरसम्म ३६ किलोमिटर रहेको यातायात व्यवसायी बताउँछन् । पहिले यो रुटमा म्याजिक थिएन । मिनिबसकै एकलौटी राज थियो । म्याजिक गुड्न थालेपछि उसको आम्दानी खस्कियो । एकैछिनमा भरिने, धेरैबेर नरोक्ने अनि भाडा पनि उही भएपछि यात्रुहरुको पहिलो रोजाइ म्याजिक नै बन्यो । नारायणगढदेखि टाँडी, पर्सा, भण्डारा लोथरसम्मै म्याजिकले उछिनेर मिनिबसको कमाइ चौपट । फेरि लक्षित वर्गलाई सुविधा तथा विद्यार्थीलाई सहुलियत मिनिबसले दिनैपर्ने, म्याजिकले नदिएपनि हुने । मिनिबसकर्मीहरुले यो विभेदपूर्ण अवस्थालाई पनि विरोधमा उतारे । म्याजिकले सानो गाडी भन्दै अहिलेसम्म यता विद्यार्थी छुट नदिएरै टार्दै आएको अवस्था तर सरोकारवाला निकाय मौन थिए । फेरि काठमाडौंतिर जस्तो यताका विद्यार्थी आफ्नो अधिकार प्रति सशक्त र जागरुक पनि भएनन् । अर्काे माग्दा पनि नदिएपछि विद्यार्थीले म्याजिकसँग छुटको आशा नै मार्नुपर्ने विवशतापूर्ण स्थिति बन्दै आयो ।
सार्वजनिक यातायातले विद्यार्थीलाई छुट दिनुपर्ने, यदि नदिएको उजुरी आए म्याजिकलाई पनि कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट बताउँछन् । मिनिबस व्यवसायीहरुको माग सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण भइसकेको भन्दै उनीहरुको आन्दोलनले यातायात क्षेत्रमा अराजकता बढाउने ट्राफिकको भनाइ थियो । ‘विना जानकारी आफूखुशी सेवा बन्द गर्ने तरिकै भएन । यसरी अत्यावश्यक सेवा/वस्तु बन्द गर्न पाइँदैन’, उनले भने, ‘हाम्रो मात्र चल्न पाउनुपर्छ भन्नु कसरी ठिक ?’
यसअघि पूर्वीचितवनका रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा समस्या पोख्दा नगरपालिकाहरुले दुर्घटनाको जोखिम औंल्याउँदै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी म्याजिक र अटोलाई हाइवेबाट हटाउन अनुरोध गरेको तर कार्यान्वयन नभएकोले पछिल्लो समय गाडी नै रोकेर आन्दोलनमा उत्रिन बाध्य भएको मिनिबसकर्मी जनाउँछन् ।
बताइएअनुसार छहारी, ओमशान्ति र चितवन माइक्रोअन्तर्गत यस रुटमा अहिले २५० वटा मिनिबस छ । २०३९ सालदेखि मिनिबसमात्रै चलेको ठाउँमा सकेसम्म म्याजिकलाई गुड्नै नदिने उनीहरुको प्रयास हो । मिनिबसवालाहरुले चैत ३ गतेदेखि गाडी थन्क्याएर अघि बढाएको आन्दोलन सितिमिति रोक्नै चाहेका थिएनन् । प्रहरी, प्रशासन लगायत सरोकारवाला निकायलाई निकै हम्मे परिरहेछ अहिले यो लफडा मिलाउन । मिनिबसलाई छोडेर जिल्लामा म्याजिक र अटो मात्रै ५/७ हजार पुगिसके । उनीहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाको जोखिम बढाएको छ । दुर्घटनाको जोखिम पहिल्यैदेखि रहेको सडकमा उनीहरुको द्रुत ओभरटेकले खतरा अझ बढाएको बताउँदै यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरका सूचना अधिकारी गोविन्दप्रसाद पौडेल भन्छन्, ‘मर्ने हामी हो ।’
विद्यार्थी छुटका सम्बन्धमा उनले भने, ‘काठमाडौंमा उत्रै टेम्पोले कार्डकै आधारमा विद्यार्थी सहुलियत दिएको प्रत्यक्ष देखिन्छ । यहाँ म्याजिकले त्यो दिएको देखिन्न ।’ सार्वजनिक यातायातमा विद्यार्थीले छुट पाउनुपर्ने धारणा राख्दै उनले अहिलेसम्म विद्यार्थीबाट कुनै कम्प्लेन नआएको बताए । गुनासो तथा उजुरी आए प्रशासन, मन्त्रालयमा कुरा चलाएर भएपनि आवश्यक प्रक्रिया अगाडि बढाउन सकिने उनको भनाइ थियो ।
भरतपुरमा म्याजिकको भीड बढेपछि व्यवस्थापनका लागि महानगरपालिकाले विगत केही महिनादेखि नम्बर लेखी स्टिकर टाँसेर म्याजिकको रुट छुट्याइदियो । रेकर्डअनुसार भरतपुर महानगरपालिकामा मात्रै ६७४ वटा म्याजिक छन् । त्यसमा ५२ वटालाई यही पूर्व–पश्चिम रुटमा पठाइएको हो । महानगरले स्टिकर टाँसेर रुट व्यवस्थापन गर्ने बेला र पछिल्लो समय मिनिबस व्यवसायीले गरेको आन्दोलनका विषयमा समेत यातायात व्यवस्था सेवा कार्यालयलाई कुनै जानकारी नगराइएको गोविन्दले बताए । भरतपुर महानगरपालिका यातायात शाखा प्रमुख अहिले दीपक ढकाल छन् । यसअघि देवीप्रसाद आचार्यको पालामा स्टिकर टाँसेर रुट छुट्याइएको हो । प्रहरी, प्रशासनसँगको समन्वयमै म्याजिकको व्यवस्थापन गरिएको थियो । त्यतिबेला विद्यार्थी छुटका सम्बन्धमा कसैले चासो दिएन । म्याजिकले विद्यार्थी छुट दिँदैनन् भन्ने आफूलाई थाहा नभएको भन्दै अब यसबारे पनि छलफल चलाएर उपयुक्त निर्णय गरिने हालै केही दिनअघि उनले बताएका थिए ।
पछिल्लो समय साना गाडीको आयात ह्वात्तै बढेको र त्यसको नियन्त्रण नहुँदा सडकमा समस्या भइरहेको यातायात व्यवस्था सेवा कार्यालयका अधिकारी बताउँछन् । बाटोको क्षमता कम तर गाडी धेरै भएर अहिलेको समस्या भइरहेको बताउँदै राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले पनि सवारी साधनको जथाभाबी आयात रोक्नैपर्ने बताए । यस्तै सबै सवारीलाई जिल्लाभरिकै रुट परमिट दिइएकोले पनि यो समस्या भएको सुवेदी बताउँछन् ।
पाँच दिनपछि बल्लतल्ल गत आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल, सहमति पश्चात् सोमबारदेखि मिनिबस सञ्चालनमा ल्याइएको छ । तत्काल विद्यार्थी लगायत लक्षित वर्गलाई दिनुपर्ने छुट-सुविधा म्याजिकले पनि दिनैपर्ने सहमति भएको छहारी यातायात व्यवसायी समितिका फिल्ड ईन्चार्ज रामहरि अर्यालले जानकारी दिए । एक महिनापछि, सर्वदलीय, सर्वपक्षीय बैठक बसेर बाँकी समस्या समाधान गर्ने निर्णय भएको उनले जनाए । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय तह, सडक, यातायात, ट्राफिक सम्मिलित समितिले यातायात क्षेत्रको समस्या केके छन् र त्यसलाई कसरी सुधार्ने भनी एक महिनामा प्रतिवेदन तयार पारेर आवश्यक कारबाही अगाडि बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले बताएका छन् । – अजय गोर्खाली
टिप्पणीहरू