माडीको बाटो, कहिले फुक्ला गाँठो ?

माडीको बाटो, कहिले फुक्ला गाँठो ?

एउटा सानो उपत्यका जस्तो भौगोलिक अवस्थिति भएको, चारैतिर वनजङ्गलले घेरिएको, धेरै खोलानाला भएको, उत्तरी भेगमा चितवन राष्ट्रिय निकुञ्ज, दक्षिणी भेगमा सोमेश्वर सामुदायिक वनलगायत विभिन्न सामुदायिक वनहरु भएको चितवनको माडी नगरपालिका । भरतपुर महानगरपालिकासँग जोडिएको यहाँ झण्डै डेढ सय करोडको लगानीमा वैकल्पिक मार्ग बनाउने योजना छ । सदरमुकाम भरतपुर आउजाउ गर्न असहज भइरहेको बाटोको विकल्प नभई अहिले ‘रिउ करिडोर’ निर्माण गर्न लागिएको हो । यो माडीको पूर्व बगईदेखि पाँच पाण्डवसम्म २३ किलोमिटर वैकल्पिक मार्ग बन्ने नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए ।

‘एक अर्ब ४९ करोडको डीपीआर बनेको छ’, उनले भने, ‘राज्यको तर्फबाट बजेटका लागि अनुरोध गरिरहेका छौं ।’ अहिले प्रदेश सरकारबाट प्राप्त रु. एक करोड, संघीय सरकारको ५० लाख र सहरी कार्यक्रमबाट आएको ५० लाखले काम सुरु गर्ने तरखर भइरहेको नगरप्रमुख ढकाल बताउँछन् । यता भरतपुर–माडी जोड्ने सडकमा रहेको अवरोध पनि चाँडै हट्ने उनको विश्वास छ । अहिले बरामी बोक्ने एम्बुलेन्स बाहेक राति १० बजेदेखि बिहान ६ बजेसम्म जङ्गलको बाटो आवतजावत गर्न दिइदैन । निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सवारी साधन रोकेर, यात्रुलाई झारेर गर्ने चेकजाँचले सास्ती छ । कृषि उत्पादन राम्रो छ, तर निकुञ्जको अवरोधका कारण खाद्यवस्तु ढुवानीमा समेत समस्या भएको बताउँदै माडी घर भई हाल गैंडाकोटको विजय एफएममा कार्यरत पत्रकार प्रेम क्षेत्री भन्छन्, ‘एकाबिहानै ढुवानी भइसक्नुपर्ने तरकारीसमेत समयमै ओसार्न पाइँदैन ।’ अझ माछा त बिल विना छोड्दै छोड्दैन ।

आफ्नै ठाउँमा पराइ झैं भएका माडीवासीका लागि आफ्नै ठाउँ विरानो छ । माडीको वाल्मीकि क्षेत्र ५ नं. प्रदेशसँग जोडिएको, बाँदरझुला २ नं. प्रदेशसँग जोडिएको छ । यहाँको व्यथा झन चर्को छ । ‘हाम्रै नगरपालिकाको वडा नं ९ मा जाँदा २ नं प्रदेश छिरेर फेरि रिटर्न भएर आफ्नै वडामा फर्किनुपर्छ । वाल्मीकि क्षेत्र हाम्रो वडा नं. १ मा पर्छ । त्यहाँ जान हामीलाई भरतपुर हुँदै नारायणी पार गरेर त्रिवेणी हुँदै इण्डियाबाट छिरेर आफ्नो वडामा आउजाउ गर्नुपर्छ’, उपमेयर ताराकुमारी काजी महतो भन्छिन्, ‘भारतीय पक्षबाट साह्रै सोधपुछ हुन्छ, स्वतन्त्र रुपले त्यो ठाउँमा हामी जतिबेला पनि जान सक्दैनौं । तर त्यो हाम्रो आफ्नै ठाउँ हो, विकास हामीले नै गर्नुपर्छ । तर आवतजावतमै समस्या भएकोले इतिहास बोकको वाल्मीकिलाई जति गर्नुपर्ने त्यति गर्न सकिएको छैन ।’ हरेक काम गर्दा निकुञ्जसँग समन्वय र स्वीकृति लिनुपर्ने अवस्था रहेको भन्दै उनले गत वर्ष बाँदरझुलाको एउटा गोरेटो बाटो बनाउँदा पनि अवरोध भएको सुनाइन् ।

यता, भरतपुर आउजाउ गर्ने बाटोमा राति एम्बुलेसन्लाई अलि सहजतामा छोड्ने गरेपनि अरुलाई सोधपुछ गरेर हैरान बनाईने गरेको स्थानीय बताउछन् ।  बिरामी बोकेकै सवारी साधन भएपनि धेरै इन्क्वायरी गर्ने, त्यहीँ रोकिराख्ने गरिन्छ । जीवनको कति महत्व हुन्छ त्यो बेला ? उपमेयर भन्छिन्, ‘एकएक मिनेटको महत्व हुन्छ । तर एक–डेढ घण्टा इन्क्वाइरी गरेर अनेक सफाइ दिन लगाएर, फोन गरेर, सिफारिस लिएर जानुपर्ने अवस्थाले कतिपटक गर्भवतीहरुको अस्पताल लैजाँदा बाटोमै मृत्यु भएका घटना पनि छन् ।’

मेयर ढकालका अनुसार शक्ति बस्नेत वनमन्त्री हुँदा गत वर्ष चैतमा यो बाटो चौबीसै घण्टा खुलाउने तयारी थियो । कोरोना महामारी र लकडाउनका कारण त्यतिबेला रोकियो । अहिले पनि मन्त्रीस्तरमा कुराकानी चलिरहेको र अब छिट्टै रातिको छेकबार हट्ने विश्वास मेयरको छ । चौबीसै घण्टा खुल्ने गरी ऐन संशोधनका लागि नयाँ ड्राफ्ट बनिरहेको उनले बताए ।

उता, रिउ करिडोर बनेपछि बस्तीबीचको सडकको वैकल्पिक सडकमार्गको रुपमा यातायातमार्ग बन्ने, यसले बगई–पाँचपाण्डवको दूरी पनि छोट्टिने उपमेयर बताउँछिन् । यो तटबन्धन भएपछि थुप्रै स्थानीयको नम्बरी जग्गा फर्किने, यहाँ नदीले धार परिवर्तन गर्दा धेरै नम्बरी जग्गा कटानमा परेको बताइन्छ । उक्त करिडोरले जङ्गली जन्तु बस्ती पस्न पनि छेक्ने उनले बताइन् ।

अन्य भित्री बाटोको कुरा गर्दा माडीमा यो वर्ष ४० किमि जति सडक बनाउने योजनाअन्तर्गत काम भइरहेको नगरपालिकाले जनाएको छ । एक दर्जन जति खोलानालामा पुल बन्दैछन् । पुल निर्माणमा केही समय निकुञ्जबाट अवरोध पनि भएको थियो । राष्ट्रिय निकुञ्जको मौजुदा कानूनले माडीको विकासमा समस्या तथा माडीवासीलाई अवरोध र सास्ती भइरहेको पीडादायी अवस्थामा निकुञ्जबाट हुने हानि–नोक्सानीको क्षतिपूर्तिसमेत नपाइरहेको भन्दै त्यसका लागि पनि पहल भइरहेको मेयर सुनाउँछन् । अहिलेसम्म राहतका नाममा स्थानीय ठगिँदै आएका छन् । यसलाई प्रस्ट्याउँदै उपमेयरले भनिन्, ‘जस्तो कि निकुञ्जको वन्यजन्तु पसेर कुनै किसानको १० कठ्ठाको बाली नष्ट गरिदियो । मानौं प्रतिकठ्ठा पाँच हजारका दरले ५० हजार बराबरको क्षति भयो । तर निकुञ्जले राहतका नाममा जम्मा १० हजार दिन्छ ।’

पशु तथा जनधनको क्षतिमा पनि यस्तै छ । जति नोक्सानी भएको हो, त्यही अनुसार क्षतिपूर्ति दिलाउन नगरपालिकाबाट आवश्यक पहल अघि बढिरहेको हो । अझ कुखुरा, हाँसको क्षति त निकुञ्जले बेहोर्दै बेहोर्दैन । खासगरी अजिङ्गरले कुखुरा, हाँस खाइदिएर हैरानी छ । पहिले सिमरा बस्ने जुरमती महतोले आफ्नो खोरमै पसेर अजिङ्गरले अण्डा पार्ने कुखुरा खाइदिएको बताइन् । – अजय गोर्खाली

टिप्पणीहरू