ओली र राजावादी मिलेको आरोप
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी छोडेर नभाग्ने बताउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पस्टिकरणबाट आफू बिचलित नभएको भन्दै उहाँले कार्यकर्तालाई पनि बिचलित नहुन आग्रह गर्नुभयो ।
भर्खर अनेरास्ववियुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले ओलीसामु घुँडा नटेक्ने पनि प्रष्ट पार्नुभयो । ‘हामी कथित स्पस्टिकरणको सामना गर्न तयार छौं, ‘हामी तर्सिनेवाला छैनौं,घुँडा टेकेर आत्मसमर्पण गर्दैनौँ’, उहाँले भन्नुभयो । नेपालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटन गर्ने दिशामा लागिरहेको पनि बताउनुभयो ।
पार्टी फुटाउन लागेको भनेर ओली पक्षले भ्रम फैलाएको भन्दै नेपालले आफू मैदान छाडेर नभाग्ने बताउनुभयो । भन्नुभयो, ‘ ओलीले कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ लैजाँदैछन्, हामी आन्दोलन बचाउन संघर्ष गर्छौँ । मैदान छोडेर भाग्दैनौं । पार्टी फुटाउँदैनौँ ।’
नेता नेपालले अध्यक्ष ओलीलाई राजतन्त्रसँग साँठगाँठ गरेको भन्दै त्यसलाई सफल हुन नदिने दाबीसमेत गर्नुभयो । ओलीले चाहँदैमा राजतन्त्र नफर्किने बताउँदै उहाँले भन्नुभयो, ‘केपी ओलीले जतिसुकै साँठगाँठ गरुन्,सहयोग गरुन् हामी राजतन्त्र फर्किन दिँदैनौं ।’
टिप्पणीहरू