दक्षिणको ‘राजनीति’ डरलाग्दो, उत्तरको ‘कूटनीति’ सुस्त
भारतले बेला बेलामा नेपाललाई नाकाबन्दी लगाएझैं उता चीनले पनि उसको उत्तरी छिमेकी मंगोलियालाई झोंक चलेको बेला कठोर नाकाबन्दी लगाउने गरेको छ । पछिल्लो पटक सन् २०१६ डिसेम्बरमा यस्तो भएको थियो । त्यसैले होला हाम्रोमा भारतीय संस्थापन पक्षलाई हेर्ने र मंगोलियनहरूले चिनियाँलाई हेर्ने दृष्टिकोण एउटै छ ।
भारत र नेपालझैं उनीहरू पनि भूजडित छिमेकी हुन् । तर अरु सम्बन्ध जे जस्तो भएपनि छिमेकीको नाताले मंगोलियालाई चीनले कोरोनाविरुद्धको खोप दिइसक्यो । १० प्रतिशत मंगोलियन नागरिकले चिनियाँ खोप लगाइ नै सके ।
उलानबाटोरस्थित एउटा वित्तीय संस्थामा कार्यरत कर्मचारीका अनुसार चिनियाँ खोपको खासै नकारात्मक असर देखिएन ।
यता, नेपाल र चीन पनि निकै पुरानो छिमेकी हुन् । सदियौंदेखि मित्रवत सम्बन्ध कायम छ । भौगोलिक र आवतजावतको हिसाबले पनि हामी चीनबाट टाढा छैनौं । चीनका धेरैवटा शहरबाट नेपालमा अहिले पनि नियमित उडान भइरहेको छ ।
छन्तु, खुनमिङ र ग्वाङ्चौबाट कोभिडविरुद्ध स्वास्थ्य मापदण्ड अपनाउँदै हवाई सेवा सुचारु छ ।
अन्यत्रझैं नेपाललाई पनि कोभिड–१९ विरुद्धको खोप अत्यावश्यक छ । यसअघि पहिले चीनले ३ लाख डोज खोप दिने भनेको थियो । त्यसपछि ५ लाख भन्दै ८ लाख पु¥याइएको छ । तर, समय घर्किंदै जान थाले पनि न चीनले पठाएको छ न नेपालले ल्याउने सुरसार झिकेको छ । महामारीको नयाँ लहर आउने सम्भावना भने झन् बढ्दो छ ।
गत वर्ष चीनसङ्ग स्वास्थ्य सामाग्री किनेको नेपालले खोपचाँहि भारतसँग किनेकोमा रिसाएको भन्नेहरू पनि छन् । तर, चीनले नेपाललाई अनुदानमा दिने भनिएको खोप बेलैमा पठाएको भए सम्भवतः खोप खरिदको प्रसंग चीनतर्फ पनि अघि बढ्ने थियो भनेर सरकारी अधिकारीहरूले स्वीकारेका छन् । उनीहरूको निचोड छ, ‘अहिले न सित्तै दिने भनिएको खोप नेपालले पाएको छ न हामीले त्यहाँ किन्ने सम्भावना नै देखिन्छ ।’
उता, भारतसँग झण्डै १ अर्ब रुपैयाँ बराबरको खोप खरिदको लागि नेपालले अग्रिम भुक्तानी गरे पनि दोस्रो खेपमा आउनुपर्ने १० लाख डोजको टुंगो छैन । यसबीच झण्डै १३ लाख नेपालीले पहिलो डोज खोप लगाएका छन् । तर, खोप अभावमा दोस्रो डोजको अवस्था के हुने भन्ने सर्वत्र अन्यौल छ ।
चीनले भने आफ्नो मुलुक छिर्ने विदेशीले चिनियाँ खोप लगाउनैपर्ने नियम घोषणा गरेको छ । तर, नेपालमा अनुदानको चिनियाँ खोपसमेत पाइएको छैन र खरिदको सम्भावना त झनै देखिएको छैन । यसअघि दिने भनिएको खोप चोङछिङ वा छङ्तुसम्म ल्याइदिएको भए पनि हिमालयन एयरलाई भनेर यता ओसार्न सकिन्थ्यो र सम्भवतः चिनियाँ खोपप्रति नेपालीको आकर्षण बढ्थ्यो पनि । त्यसो भएको भए यसबीच नेपाली व्यापारीले त्यही खोप लगाएर चीन ओहोरदोहोर गर्थे ।
नेपालले किन्ने प्रक्रिया पनि शुरु हुन्थ्यो । व्यापारीहरू त्यताबाट खोप ल्याउन अग्रसर हुन्थे तर यो मामिलामा चीन निकै पछाडि परेको कूटनीतिज्ञहरूले बताएका छन् ।
टिप्पणीहरू