आफ्नो चिहान आफैं खन्दै

आफ्नो चिहान आफैं खन्दै

अहिले हाम्राअगाडि ३ वटा कार्यभार थिए । पहिलो : पार्टी एकतालाई जोगाइराख्नु र अझ मजबुत बनाएर अघि बढाउनु, दोस्रो : सरकारलाई जनमुखी बनाउँदै देश र जनताको नजरमा सफल बनाउनु, अनि तेस्रो : देश र समाजमा व्याप्त अन्याय, अत्याचार र भ्रष्टाचारसहित सबैखाले विकृति/विसंगतिलाई सफाइ गरेर जनतालाई न्याय, विकास र राहतसहित उत्साहित बनाउँदै अघि बढ्नु । तर, आज हामी कहाँ आइपुगेका छौँ र के गरिरहेका छौँ ? सबैले एकपटक मात्र ठण्डा दिमागले आफैँँतिर नियालेर हेरे छर्लंग हुन्छ । आफ्नै कर्तव्य र कर्तुतले हामी कता जाँदै छौँ ! गम्भीर समीक्षा गर्नु आवश्यक छ । रियलमा हामी यतिखेर आफैँँले आफ्नै डरलाग्दो मृत्युको चिहान खनिरहेका छौँ ।

आज हामी छँदा खाँदाको झण्डै दुई तिहाइ बहुमत रहेको पार्टीलाई विभाजित गरेर दुई टुक्रा बनाई हाँसिरहेका छाँै । कतै कतै त अस्वाभाविक ढंगले कम्मर हल्लाई हल्लाई नाचिरहेका छौँ । आफैँँले सिर्जना गरेको नेकपालाई विभाजित गर्दा पनि अघाएका छैनौँ । अदालतले उपहारमा दिएको नेकपा एमालेलाई पनि उही बाटोमा लागिरहेका छौँ । किन हो कुन्नि ? हामीलाई एक्लै बस्ने र एक्लै हाँस्ने रुचि बढिरहेको छ । हामीमा एक्लै बसेर बाक्लो दाल खाने रहर जागा ज्योति भइरहेको छ । किन हो किन हामी समाजवादी त हुनै सकेनौँ । कमसेकम सामाजिक पनि हुन सकिरहेका छैनौँ । दुनियाँ नेपाली कम्युनिष्टको तमाशा हेरेर छक्क परिरहेको छ । हामी अझ मच्चीमच्ची तमाशा देखाइरहेका छौँ । अरूतिर औँलो देखाएर हामी स्वयं तमाशा भइरहेका छौँ ।

दुनियाँलाई गज्जब लागिरहेको होला । हिजो कम्युनिष्टलाई गफ गर्न मात्र आउँछ । यिनीहरूलाई काम गर्न पटक्कै आउँदैन, भन्ने गर्थे । हामीले गतिलो जवाफ दियौँ ? कम्युनिष्ट मिलेर बस्न सक्दैनन्, काम गर्न पनि जान्दैनन् भन्थे । त्यति मात्र होइन कम्युनिष्टहरू ठाउँ पाउनेबित्तिकै तानाशाही हुन्छन् भनेर आरोप लगाउँथे । हामीले त्यसको पनि भलीभाँती खण्डन गर्‍यौं । प्रजातन्त्र पक्षपोषणको कुरा गर्‍यौं । जमेर नैसर्गिक मानवअधिकार रक्षाको वकालत गर्‍यौं । पार्टीको सिद्धान्त र कार्यक्रमलाई नै ‘जनताको बहुदलीय जनवाद’ बनायाँै । लोकतान्त्रिक आन्दोलनको अगुवा भयौं । अब आज मौका पर्नेबित्तिकै सबै चिजलाई धोती लगाइदिएर दुनियाँका अगाडि आफ्नो तागत देखाउन, आफ्ना आलोचक सहकर्मी र विचारसँग मेल नखाने सहयात्रीलाई तह लगाउन चरम निरंकुश काइदाको अभ्यास गरिरहेका छाँै ।

भनिन्छ, निरंकुशता आफैँँमा सम्पूर्ण हुन्छ । त्यो सर्वज्ञानी पनि हुन्छ । त्यसले नजानेको र नबुझेको केही हुँदैन ! सर्व ज्ञान–निदान भएरै त्यो निरंकुश हुने हो । उसले आफ्नो हित र सुरक्षालाई सम्पूर्ण ठानेको हुन्छ । उसले देश, जनता र आफ्नो सम्पूर्ण राज्यलाई नै आफू र आफ्नो सुरक्षाको निम्ति प्रयोग गर्ने साधन मात्र बुझेको हुन्छ । यति मात्र होइन, निरंकुश शासकले देशका जनतालाई समेत आफ्नो हितको रक्षाका लागि प्रयोग गरिने वस्तुको रूपमा बुझेको हुन्छ । संसारका ठुल्ठूला निरंकुश शासकको कथा पढ्दा थाहा हुन्छ । उनीहरू आफैँलाई राज्य र शासक दुवै बुझ्ने गर्थे । फेरि पनि संसारमा ३०÷४० वर्ष शासन चलाएका निरंकुश शासकसमेत थाहै नपाई नराम्रोसँग पछारिएका छन् । त्यस्ता तानाशाही प्रवृत्तिका कथित निर्वाचित शासक त क्षणिक पात्र मात्र देखिने गरेका छन् ।

संसारभरिका असल शासकहरू बहस, छलफल र त्यसबाट निस्कने निश्कर्षका आधारमा अघि बढ्ने गर्छन् । उहिले उहिलेका आदर्श शासकसमेत आफ्नो दरबारमा विद्वान्वि/दुषीलाई सम्मानसाथ राख्ने गर्थे । खास–खास बेला खास विषयमा शास्त्रार्थ गराएर विषयको गहिराइसम्म पुग्ने गर्थे । विद्वान् र अनुभवी सल्लाहकारहरू राखेर, उनीहरूको सल्लाहबमोजिम असल नियतले देशको शासन सञ्चालन गर्नु असल शासकको लक्षण हुन्थ्यो । प्राचीन विधेय राज्य जनकपुरका राजा जनकले गार्गी, अष्टावक्र जस्ता तत्कालीन घाघडान विद्वानलाई दरबारमा सम्मानसाथ राखेको उदाहरण पाइन्छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले पनि राज्यका मामलामा बिसे नगर्चीदेखि थुप्रै विद्वान् पण्डितको सल्लाह लिएर काम गरेका उदाहरण पाइन्छन् । तर, आजको नेपालमा हाम्रा शासक कडा छन् । आफ्नै राजनीतिक दललाई समेत बुँख्याचा बनाएर एकल शासन गरिरहेका छन् । यो एकल शासन दलको नाममा एउटा तानाशाही प्रवृत्तिको उदयबाहेक केही पनि हुन सक्दैन ।

तानाशाही प्रवृत्ति विचारहीनताको मूर्त अभिव्यक्ति हो । मान्छेले विवेक गुमाउँदै गएपछि यस्तो खालको उपाय खोज्ने गर्छ । आफ्नो कमजोरी लुकाउन मान्छेले तानाशाही बाटोलाई नै उचित ठान्ने गरेको छ । अनि असलमा तानाशाहलाई विद्वता बकवास लाग्छ । कतिपयको त प्रश्न हुन्छ ‘गौतम बुद्ध पढेर महात्मा भएका हुन् र ? कालिदास पढेर विद्वान् भएका हुन् र ? गिरिजाप्रसाद कोइरालाले तीन÷तीनचोटि प्रधानमन्त्री विद्वताले चलाएका हुन् र ? अवश्य होइन । अझ उनीहरू भन्छन्, ‘महात्मा गान्धी पनि विद्याको कारणले मात्र सम्मानित भएका होइनन् ।’ त्यहाँ त त्यागको कथा, भाषणका संग्रह, कथाहरूको पुलिन्दाले समेत काम गरिरहेको छ । त्यति मात्र होइन, ज्ञान, गुण र विद्वता कहीँ पनि खेर गएको छैन । तर, यसले मात्र शासक सफल हुने होइन । उनीहरूको बुझाइमा शासकलाई छडी दिइएको हुन्छ । अन्ततः छडी र दण्ड विधान चलाउने शासक मात्र सफल हुन्छ ।

उनीहरू लेनिनवादी हुन् तर लेनिनको सफलताको कथा पढ्दैनन् । उनीहरू आधुनिक लोकतन्त्रको वकालत गर्छन् । तर, नेल्सन मण्डेलाको सहकार्यको सफलताको कथा बुझ्दैनन् । उनीहरू जिम्मेवारी र जवाफदेहीले शासकलाई बलियो बनाउने कुरा मान्दैनन् । उनीहरू विनम्र र सभ्यता महान् मानिसका गुण हुन् भन्ने बुझ्दैनन् । जति महान् व्यक्तित्व त्यति विनम्र भन्ने स्विकार्दैनन् । विद्वता र आत्मसम्मान जहिले पनि आदरयोग्य हुन्छ । सामूहिक भावना प्रेम र सद्भावले सबैलाई महान् बन्न सघाएको हुन्छ । उनीहरू यसलाई पनि स्विकार्दैनन् । त्यसैले त उनीहरू दण्ड संहिताको प्रयोगमा अग्रसर भएका छन् । आलोचनाको बाटो बन्द गर्न आक्रामक छन् । यस क्रममा उनीहरू आफ्नो तत्कालीन ३ कार्यभारसमेत भुलिरहेका छन् । उनीहरू केवल प्रशंसकको ओदानमाथि बसेर देशलाई एकछत्र बनाउने सपना देखिरहेका छन् । के यो लोकतन्त्रलाई विपरीत दिशा निर्देश गर्ने निरंकुशतातिरको यात्रा होइन र ? के यस्तै हो उनीहरूको असली लोकतन्त्र ? जय होस् उनीहरूको लोकतन्त्रको । जय–जय होस् उनीहरूको लोकतान्त्रिक गणतन्त्रको !

टिप्पणीहरू