मेक्सिकोमा कोरोना खोप, ‘गरिब पहिले बाँच्नुपर्छ’
झण्डै एक महिनाअगाडि मध्य मेक्सिकोको सान पेड्रोमा ‘शहरमा कोरोना भाइरसको खोप आइपुगेको छ’ भनेर माइकिङ्ग गर्दा सर्वसाधारण जिल्ल परे । यसअघि कहिल्यै राज्यको तर्फबाट कुनैपनि विषयमा गरिब जनतालाई सुसूचित गराइएको थिएन । तर, यसपटक विश्वव्यापी महामारीमा गरिब परिवारलाई पहिले खोप लगाउने उद्देश्यसहित त्यो दिन माइकिङ गरिएको थियो । किनकि ल्याटिन अमेरिकी देशहरूमध्ये सबैभन्दा पहिले खोप अभियान चलाएको मेक्सिकोले गरिब परिवारबाट खोप शुरु गर्दै थियो ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्यविज्ञहरूले त्यसो गर्न नहुने र महामारीबाट सबैभन्दा प्रभावित स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई पहिले खोप लगाउनुपर्ने सल्लाहलाई सरकारले बेवास्ता गरेर गरिबबाट शुरु गर्ने निर्णय गरेको वासिङगटन पोष्टले लेखेको छ । सरकारको उक्त निर्णय सुन्नेबित्तिक्कै धेरैजसो सर्वसाधारणले ‘कि सरकारले झूठो बोलिरहेको छ,कि नयाँ जोक सुनाइरहेको’ ठानेका थिए ।
व्यवहारतः पुँजीवादी अर्थतन्त्र अपनाएको मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्रादोर लोकप्रियताको लागि जे पनि गर्छन् । गतवर्ष कोरोना महामारीको बिगबिगीमा समेत उनले मास्क नलगाउने र कोरोना परीक्षण नगर्ने घोषणा गरेपछि एकाएक चर्चामा आएका थिए । मेक्सिकोमा अहिलेसम्म झण्डै २२ लाख संक्रमित भएका छन् भने १ लाख ९८ हजारको ज्यान गएको छ । तीमध्ये अधिकांश राजधानी मेक्सिको सिटी र अन्य ठूला शहरका वासिन्दा हुन् ।
दुई महिनाअघि कोरोना संक्रमण भएका आन्द्रेसले निको भएपछि पनि मास्क नलगाउने घोषणा गरेका छन् । त्यसपछि ‘गरिब पहिले’ भन्ने नारा अघि सारेर निकै चर्चामा आएका छन् । उनले भनेका छन् ‘गरिब,सीमान्तकृत वर्गलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो ।’
मेक्सिकोमा राजधानी शहरका धनाढ्यलाई छाडेर ग्रामीण भेगका शिक्षक,गरिब किसान,ग्रामीण भेगका बृद्धबृद्धालाई धमाधम खोप लगाइएको अमेरिकाबाट प्राप्त समाचारमा जनाइएको छ । पछिल्लो एक वर्षमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका थोरै शहरमध्ये राजधानी मेक्सिको सिटी पनि हो । मेक्सिकोका कतिपय दुर्गम स्थानमा राष्ट्रपतिका समर्थकहरूले गोली प्रहार गर्ने चेतावनी दिँदै स्वास्थ्यकर्मीलाई भन्दा पहिले अरुलाई खोप लगाउन दबाब दिएको समेत बताइएको छ । राष्ट्रपतिका अन्धसमर्थकले भनेका छन् ‘महामारी भनेको महामारी हो, त्यसमा सर्वसाधारण र गरिब पहिले बाँच्नुपर्छ ।’
टिप्पणीहरू