सुदूरपश्चिमी नाकामा रातीदेखि कडाइ
छिमेकी भारतका केही राज्यमा कोरोना संक्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने खतराको कारण आज रातीदेखि सुदूरपश्चिमी नाका महेन्द्रनगरमा कडाइ गर्न लागिएको छ । मङ्गलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कन्चनपुर जिल्ला प्रशासनले कडाई गरेको हो ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ)रामकुमार महतोद्वारा हस्ताक्षरीत आदेशमा होलीलगायतका मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न बन्देज लगाइएको छ । यस्तै, सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ ।
जारी आदेशमा गौरीफन्टा र गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म मात्र खुला रहने छ । यी बाहेकका नाका र बिन्दुबाट आवतजावत पूर्ण रूपमा बन्द हुनेछ । यस्तै,नाकामा रहेका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउन र विवरण टिपाउन आग्रह गरिएको छ ।
अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगायतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ बजेदेखि राति १० बजेसम्म जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर मात्र गर्न पाउने पनि आदेशमा भनिएको छ ।
त्यसैगरी सबै व्यक्तिले मास्क, स्यानिटाइजर र सामाजिक दूरीको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने लगायतका आदेश जारी गरिएको छ । आदेशमा भएको व्यवस्थाको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि उल्लेख छ ।
टिप्पणीहरू