नाटक हो कि नौटँकी हो !

नाटक हो कि नौटँकी हो !

वरिष्ठ नेता माधवकुमार नेपाललगायत केही स्थायी समिति सदस्यलाई कारबाहीको प्रक्रिया अघि बढाएपछि एमालेको तलतिरका सबै आफूतर्फ सोहोरिन्छन् भन्ने विश्लेषणमा फागुन २८ गते शनिबारको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई विधानभन्दा माथि राखेर सर्वाधिकार उहाँमै सुरक्षित गरिदिएको छ । बालुवाटारले त्यसबाट धेरै कृष्णभक्त जन्मिन्छन् भन्ने सोच राखेको थियो,नभन्दै पोखरेल चैत ७ गतेको बैठक शुरु अन्त्य नहुँदै बालुवाटार छिरेको पाइयो ।

त्यसरी अध्यक्षलाई सर्वाधिकार दिनुको तात्पर्य प्रत्यक्ष निर्वाचितभन्दा पनि समानुपातिक सांसदलाई तारो बनाउनु हो भनिन्छ । निर्वाचन आयोगमा पेश गरिएको उम्मेदवारको बन्द सूची हेरफेर गर्ने अधिकारसमेत दिइएबाट मन नपरेको अवस्थामा चियामा परेको झिँगा निकालेर फालेझैँ गर्ने उद्देश्य रहेको छर्लङ्ग भएको छ ।

अर्कोतर्फ,प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता ओली संघीय संसदमा रहेको एमाले संसदीय दलका नेता हुनुहुन्छ । संघीयताबमोजिम गठित प्रदेश सभाको संसदीय दलमा प्रदेशका संसदीय दलका नेतालाई नै सबै अधिकार हुन्छ । तर,बालुवाटारमा बसेको केन्द्रीय कमिटीले सबैतिरका सांसदलाई ठीक लगाउनसक्ने अधिकार प्रधानमन्त्री तथा एमाले संघीय संसदीय दलका नेतालाई दिएको छ ।

उक्त निर्णय र पछिल्ला कदमले मुलुकमा संघीयता कुन ढंगले कार्यान्वयन भइरहेको छ भन्ने गतिलो उदाहरण देखाउँछ । एमालेको उक्त निर्णय संघीयताको उद्देश्यविपरित रहेको बताउँदै एक जना राजनीतिक विश्लेषक भन्छन् ‘प्रधानमन्त्रीलाई पनि सर्वाधिकार चाहिएको । उहाँभन्दा पछाडि बसेर थपडी बजाउनेलाई पनि त्यस्तै चाहिएको । त्यो भनेको जसरी पनि नयाँ सिष्टम नमान्ने जमात हो । यस्तै विषयलाई नारा बनाउने र त्यस्तै अनुहारलाई हिरो बनाउने नयाँ ट्रेण्ड शुरु भएको छ ।’

उनले उदाहरण दिँदै भने बजारमा चर्चाको लागि एउटा समूहले ‘हालै एउटा टिशर्ट बनाएको छ । जसमा लेखिएको छ ‘यो नाटकै हो ।” अनि अर्कोतर्फ ठूलो अक्षरमा नौटंकी नै हो ।’ भनिएको छ । त्यो भनेको पपुलारिज्मको लागि रचिएको आइडिया हो । उनको तर्क छ ‘सम्भवतः बालुवाटारको पछिल्लो निर्णय पनि त्यहि नयाँ आइडिया हुनसक्छ ।’

त्यसदिन चितवनका माननीय कृष्णभक्त पोखरेल एक्कासी बालुवाटार छिर्नुको निचोड उनैले सुनाए ‘सम्भवतः केही नेता पार्टी फुटाएर माओवादीतिर जान खोज्दैछन् भनेर कसैले उनलाई सुनाइदियो । प्रचण्डलाई खुशी पार्ने र केपीलाई धम्काउन गरिएका भेला त्यसैको उदाहरण हो भनिदियो । पोखेरलले पत्याए ।’

तर,उनको कार्यक्षेत्र रहेको चितवनमा भने सांगठानिक हिसाबले पोखरेललाई त्यत्ति सहज नहुने बताइन्छ । अध्यक्ष रहेका पोखरेलको जिल्ला कमिटीमा प्रधानमन्त्री ओलीका कदमसँग असहमत जनाउनेहरूको ७५ प्रतिशतभन्दा बढी बाहुल्य छ ।

विधान संशोधन समितिको सभापति बनेपछि संसदीय दलका उपनेता सुवास नेम्वाङसँग अलि बढी हिमचिममा रहँदै आएकाले पनि त्यो फ्याक्टरले अहिले काम गरेको स्रोतको दाबी छ । जिल्ला कमिटीको अध्यक्ष र विधायन समितिको अध्यक्षमा निरन्तरता हुने ‘वचन’ नै पोख्रेल बालुवाटार छिर्नुको कारण हुनसक्ने अर्को स्रोतले अनुमान गरेको छ ।

हुन तः पोखरेलले नेकपामा विवाद शुरु भएदेखि नै पार्टीलाई मिलाएर लानुपर्छ भन्दै आएको निकटस्थहरू बताउँछन् । तर,सबै पक्षलाई मिलाएर अगाडि लानुपर्छ भन्ने पोखरेल आफूलाई मात्र मिलाएर गएपछि अरु जीब्रो काढ्न बाध्य भएका छन् ।

टिप्पणीहरू