बेलायतबाट बाहिरिन खोज्नेलाई सजायँ

बेलायतबाट बाहिरिन खोज्नेलाई सजायँ

बेलायत सरकारले विदेशमा छुटी मनाउन जानेहरुका लागि कडा नियम लागू गर्दै पाँच हजार पाउण्डसम्म जरिवाना तिराउने भएको छ ।

बेलायती नागरिकहरु अनावश्यक रुपमा होलिडे जान थालेको भन्दै आउँदो सोमबारबाट कम्तिमा जुन अन्तिमसम्मका लागि उक्त नयाँ नियम लागू गर्ने तयारी भएको हो । यससम्बन्धमा सरकारले चाँडै अन्तिम निर्णय गर्ने बताइएको छ ।

कोरोना भाइरसको अर्को लहर फैलिने सम्भावना बढेको भन्दै अत्यावश्यक कामबाहेकका मानिसलाई मुलुकबाहिर जान प्रतिबन्ध गरिने सरकारी अधिकारीहरुले बताएका छन् ।

बिना कारण विदेशमा होलिडे मनाउन गएको पाइएमा पाँच हजारसम्म जरिवाना तिर्नुपर्नेछ । तर,च्यानल आइल्याण्ड,आएल अफ म्यान र आयरल्याण्डका लागि भए सो नियम लागू हुनेछैन ।

यसैगरी कामको सिलसिला, अध्ययन,कानूनी दायित्व, आफन्तको निधन तथा अन्त्येष्टि जस्ता कामका लागि पनि सो प्रतिवन्ध लागू हुने छैन ।

युरोपका केहि मुलुकले कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै लकडाउन शुरु गरेलगत्तै बेलायतमा पूर्व सावधानी अपनाउन नयाँ नियम लागू गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायतले कोरोना महामारीको दोस्रो लहर पार गरिसकेको छ भने हाल केहि हदसम्म कोरोना संक्रमण र मृत्यु दरमा नियन्त्रण हुँदै गएको छ ।

टिप्पणीहरू